बुढीगंगामा प्रथम नगरप्रमुख कप भलिबल प्रतियोगिता सुरु    



बाजुरा।

 बुढीगंगा नगरपालिकाको आयोजनामा आयोजित अन्तर पालिका स्तरीय प्रथम नगर प्रमुख कप भलिबल प्रतियोगिता सूरु भएको छ ।

बुढीगंगा नगरपालिकाको आयोजनामा आजबाट सुरु भएको उक्त प्रतियोगिताको एक औपचारिक कार्यक्रमका वीच नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापाले उद्घाटन गरेका छन् ।

बडा दशैं तथा शुभदिपालीको अवसर पारेर आयोजना गरिएको प्रतियोगिता बडीमालिका क्याम्पस फालासैनको खेलमैदानमा भइरहेको छ । खेल क्षेत्रको विकासका लागि अन्तर पालिका स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गरिएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले जानकारी दिएका छन् ।सर्वाधिक धनराशि पुरस्कार राशि रहेको प्रतियोगिता आज देखि २३ गतेसम्म सञ्चालन हुने छ । नगरपालिकाको कार्यालयका अनुसार प्रतियोगितामा जिल्ला भित्रका पालिकाका साथै सुदूरपश्चिमका विभिन्न पालिकाबाट १६ वटा टिम सहभागी भएका छन् ।

    प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५७ हजार ७ सय ७७, द्वितीय १ लाख ७ हजार ७ सय ७७ र तृतीय पुरस्कार ५७ हजार ७ सय ७७ प्रदान गरिने आयोजकले बताएको छ ।नगरप्रमुख रामबहादुर बानियाँको अध्यक्षतामा सुरु भएको उक्त प्रतियोगितामा प्रमुख अतिथि एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा रहेका थिए ।

त्यस्तै विशिष्ट अतिथि एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशी, प्रदेश सभा सदस्य सन्तोषी शर्मा थापा, एमाले जिल्ला कमिटी सचिव भरत थापा, काँग्रेस जिल्ला कार्य समिति सचिव तिलकराज पुरी लगायत रहेका थिए । उद्घाटन कार्यक्रममा त्रिवेणी नगरपालिका प्रमुख कर्णबहादुर थापा, साँफेबगर नगरपालिका नगरप्रमुख राजेन्द्र कुँवर, खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावत, त्रिवेणी उपप्रमुख कमला न्यौपाने, बुढीगंगाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ लगायत रहेका थिए ।

बुढीगंगा नगरपालिकाकी उपप्रमुख माया खड्काले कार्यक्रममा सहभागी सबैलाई स्वागत मन्तव्य मार्फत स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन बुढीगंगा नगरपालिकाका विष्णु प्रसाद जैशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्