बक्सिङको नगद पुरस्कार निकासा



काठमाडौँ। 

थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ ।

खेलकुद विकास नियमावली– २०७९ मा व्यवस्था भए बमोजिमको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए । पदक विजेता ४ खेलाडी र २ प्रशिक्षकको जम्मा १६ लाख ८० हजार रुपैयाँ निकासा भएको हो ।

गत जनवरीमा भएको प्रतियोगितामा नेपालले १ रजत र ३ कांस्य जितेको थियो । सुष्मा तामाङले नेपाललाई ऐतिहासिक रजत दिलाएकी थिइन् । हेमा राई, त्रिशा जबेगु र विजय बाटाले कांस्य जितेका थिए । सुष्माले ६ लाख तथा बाँकी ३ खेलाडीले समान ३–३ लाख नगद पुरस्कार पाउने छन् ।
प्रशिक्षक दीपक महर्जन र सहायक प्रशिक्षक सन्दीप श्रेष्ठले जनही १ लाख ८० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

केही दिनअघि अर्थ मन्त्रालयले विभिन्न समयमा भएका क्रिकेटका तीन अन्तर्राष्ट्रिय प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार निकासा गरेको थियो । तीन प्रतियोगिताका लागि जम्मा १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्