एघार वर्षपछि साउदी अरेबिया फिफा विश्वकप आयोजक



काठमाडौँ । 

अबको एघार वर्षपछि एसियाली राष्ट्र साउदी अरेबियामा फिफा विश्वकप आयोजना हुने भएको छ ।

विश्वकप आयोजनाका लागि साउदीले मात्र आधिकारिक दाबी प्रस्तुत गरेपछि सन् २०३४ को फिफा विश्वकप साउदी अरेबियाले आयोजना गर्ने पक्का भएको हो । उक्त आयोजनाको होडमा रहेको अस्ट्रेलिया अन्तिम समयमा आएर हटेपछि साउदीको एकल दाबी परेको हो ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इन्स्टाग्राममार्फत याे कुरा जानकारी गराएका हुन् । कुनै मतदान वा अन्य राष्ट्रकाे दाबी नभएपछि इन्फान्टिनोले साउदीलाई विश्वकप आयोजना गर्न दिने निर्णय भएको उल्लेख गरेका छन् । उनले उक्त कुरा ‘रचनात्मक संवाद र व्यापक परामर्श’ का साथ भनेर व्यक्त गरेका छन् ।

फिफाले एक विज्ञप्ति जारी गरी सन् २०२४ को अन्तिममा २०३४ को आयोजकको आधिकारिक घोषणा हुने भनेपनि फिफा अध्यक्ष इन्फान्टिनोले भने व्यक्तिगत रूपमा आयोजक नाम सार्वजनिक गरेका हुन् ।

सन् २०२६ को विश्वकप क्यानाडा, अमेरिका र मेक्सिकोमा हुँदै छ। यस्तै सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्को, अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्