राजीव र सुस्मिता च्याम्पियन



काठमाडौं । 

भक्तपुरका राजीव चिकंवन्जार र ओखलढुंगाकी सुस्मिता खड्का तेश्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् ।

स्पिन इभेन्ट प्रालिद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्स फाइनलमा राजीवले सिरहाका कृष्ण थापामगरलाई हराएर उपाधि हासिल गरेका हुन् । उनले सो खेल ११–८, ११–७, १०–१२, ७–११ र ११–९ को सेटमा आफ्नो पक्षमा पारेका थिए । यो विधामा बेल्कोटगढीका गणञ्जय दाहाल तथा सिन्धुपाल्चोकका सुजन गडाल संयुक्त रूपमा तेश्रो भए ।

खेल प्रेमी सुमन खड्गीको मुख्य प्रायोजनामा भएको प्रतियोगिताको महिला सिंगल्सको फाइनलमा सुष्मिताले भक्तपुरकी मञ्जु सुवाललाई हराएकी हुन् । उनले सो खेल ११–७, ११–७ र ११–१ को सोझो सेटमा जितेकी थिइन् । यो विधामा कीर्तिपुरकी योङगी पौडेल र भक्तपुरकी यशस्वी अवालले तेश्रो स्थान प्राप्त गरेका थिए ।

अन्य स्पर्धाको यु–१६ ब्वाइज सिंगल्समा कीर्तिपुरका जयस्नु महर्जन र गल्र्समा कीर्तिपुरकी योङगी पौडेल तथा टिम इभेन्टको पुरुषमा ललिपतुर र महिलामा भक्तपुरले स्वर्ण हात पारे । त्यस्तै, भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि काठमाडौं २६ का चन्दन शाही, ५० वर्षमाथि ललितपुर ६ का राजेन्द्र कपाली र ६० वर्षमाथि धरानका राजन सुब्बा तथा महिला ४० वर्षमाथि काठमाडौं २९ की इन्दिरा पराजुलीले पहिलो स्थान हात पारेका थिए ।

पुरुष-महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । टिम इभेन्टमा बाहेक अन्य स्पर्धामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार पाए । टिम इभेन्टमा भने नगद पुरस्कार राखेको थिएन ।

सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगितामा जम्मा १० स्पर्धामा प्रतिस्पर्धा भएकोमा दिनेश बोहरा, रोज शाही, सिरा शाक्य र मेरिशा श्रेष्ठ उदीयमान खेलाडी घोषित भए । विजेतालाई बागमती प्रदेशका सांसद मीनकृष्ण महर्जन, आयोजक स्पिनका अध्यक्ष सुमन शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा करिब ४ सय खेलाडीले प्रतिस्पर्धा गरेको स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्