पाकिस्तानलाई सेमिफाइनल पुग्न मुस्किल



नयाँ दिल्ली, (एजेन्सी) ।

जारी आईसीसी क्रिकेट विश्व कप प्रतियोगितामा पाकिस्तानका लागि सेमिफाइनल यात्रा सम्भावना कमजोर भएको छ । पाकिस्तानले पहिलो दुई खेल जितेको थियो । तर, यसपछि लगातार ४ खेलमा पराजय व्यहोरेपछि बाबर आजमको टोलीको अन्तिम चारमा पुग्ने सम्भावना कठिन भएको हो । १९९२ विश्वकपको विजेता र १९९९ विश्वकपको उपविजेता पाकिस्तानी टोली यस विश्वकपमा तेस्रो जितको खोजीमा छ ।

शुक्रबार पाकिस्तानले दक्षिण अफ्रिकासँग हार्नु नै अबको यात्रा मुस्किल बन्न पुगेको हो । पहिले ब्याटिङ गरेर २ सय ७१ को लक्ष्य दिएको पाकिस्तानले निकै उत्कृष्ट बलिङ गरेको थियो । ९ विकेट २ सय ६० रनसम्ममा निकालिसकेको थियो । तर, दक्षिण अफ्रिकाका अन्तिम जोडी केशव महाराज र टाब्रेज शम्सीले रोमाञ्चक तरिकाले खेल आफ्नो पक्षमा पारे । यो सँगै पाकिस्तान १ विकेटले पराजित भएको थियो ।

पाकिस्तानले दुई खेल जित्नुमा श्रीलंका र नेदरल्यान्डस्लाई हराएको थियो । पाकिस्तान यसपछि भारत, अफगानिस्तान, दक्षिण अफ्रिका र अस्टे«लियासँग पराजित भयो । अहिले ६ खेलमा ४ अंक जोडेको पाकिस्तानले सेमिफाइनलको सम्भावना बनाउन बाँकी तीनै खेलमा जित हासिल गर्नुपर्ने हुन्छ । तीन खेल इंग्ल्यान्ड, न्युजिल्यान्ड र बंगलादेशसँग पाकिस्तानले खेल्न बाँकी छ । यो तीनै खेलमा जित्न सकिने सम्भावना पनि कमै छ ।

जारी प्रतियोगितामा पाकिस्तानको श्रीलंकाविरुद्ध ३ सय ४६ रनको विजयी लक्ष्य पार गरेर विश्वकपमा कीर्तिमान राखेको एक खेल अविस्मरणीय रहेको छ । यो खेलमा जस्तो बाँकी खेलमा पाकिस्तानका खेलाडीले प्रदर्शन देखाउन सकेका छैनन् । पाकिस्तानको सबैभन्दा खराब नतिजा अफगानिस्तानसँग हार्नु पनि थियो । यो नतिजा कसैले पनि सोचेको थिएनन् ।

यस्तै, ओपनर अब्दुल्लाह र इमाम उल हकको प्रारम्भिक जोडीले राम्रो सुरुवात पनि दिलाउन सकेका छैनन् । भारतका पूर्व क्रिकेटर गौतम गम्भीरले पनि अहिलेको पाकिस्तानी खेलाडीको खेल्ने शैली समान रहेको बताए । मध्यक्रममा पनि मोहम्मद रिजवानले केही राम्रो गर्न कोशिस गरे पनि अर्को इन्डबाट उनलाई साथ पाएको छैन । बलिङमा पनि शाहिन शाह अफरिदी जति अन्य बलरले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । अफरिदीले जारी प्रतियोगितामा कुल १३ विकेट लिइसके ।

गम्भीरले एक साक्षात्कारमा बताए—पहिले पाकिस्तानका खेलाडी राम्रो खेल्थे । अहिले कोही पनि खेलाडीमा त्यो गुण देखिएको छैन । सबैको एउटै शैली खेल्न भएको हुँदा पाकिस्तानलाई गाह्रो भइरहेको हो । अर्को कप्तान बाबरको पनि खेल्ने शैली परिवर्तन गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्