प्रधानसेनापति शर्मा चीन प्रस्थान



काठमाडौँ । 
प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गर्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा र बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गर्नुभयो ।
भ्रमणका क्रममा प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुने तथा उहाँ र चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
साथै भ्रमणका क्रममा उहाँले सियान सिटी, साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ । उहाँ यही कात्तिक १६ गते स्वदेश फर्कनुहुने छ । भ्रमण दलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी र प्रधानसेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत हुनुहुन्छ ।
प्रधानसेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी सीताराम खड्काले कायममुकायम प्रधानसेनापति भई कार्यभार सम्हाल्नुहुने निर्देशनालयले जनाएको छ ।
(((

प्रतिक्रिया दिनुहोस्