मूर्ति विसर्जनका क्रममा बेपत्ता भएकाको खोजी जारी


लुम्बिनी ।

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा दुर्गा मूर्ति बिवर्जनका क्रममा मङ्गलबार दानव खोलामा डुबेर बेपत्ता भएका एकजनाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । सो दुर्घटनामा परेर दुइ जनाको मृत्यु भएको थियो भने एकजना हराएका थिए ।

कोटहीमाई गाउँपालिका–१ अमरगञ्जबाट मूर्ति विसर्जन गर्न दानव खोलामा गएका तीनै जना एकसाथ खोलामा डुबेको स्थानीयले बताएका छन् । सो दुर्घटनामा परेर हराइरहेका २० वर्षिय सन्तकुमार राजभरको खोजी कार्य भइरहेको र घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजीका लागि खटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

कोटहीमाई गाउपालिका–१ दुइमोहानघाट स्थित दानव खोलामा डुबेर मृत्यु भएका दुइजनाको शब खोजतलासका क्रममा हिजो नै स्थानीयले फेला पारेका थिए । उनीहरुको शव पोष्टमर्टमका लागि भैरहवा लगिएको छ । खोलामा डुबेर मृत्यु हुनेमा अमरगञ्जका २४ वर्षिय अजयकुमार नाउँ र १८ वर्षिय अजय राजभर रहेका छन् ।

मृतक नाउँ जिल्ला प्रहरी कार्यालय पाल्पामा कर्यरत प्रहरी जवान हुन् । दसैँ मान्न घरमा गएका उनी मूर्ति विसर्जनका क्रममा दानव खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।