नेपाल यू १९ प्रिमियर कपको सेमिफाइनलमा



 काठमाडौं । 

नेपाल मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । बिहीबार मलेसियाको मैदानमा साउदी अरेवियालाई ३ सय १ रनको फराकिलो अन्तरले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो । यो नेपाली युवा टोलीको प्रतियोगिताा ठूलो जित समेत हो ।

तीन खेल जितेको नेपाल समूह ए मा शीर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो । नेपालले सेमिफाइनलमा समूह डी को विजेतासँग खेल्नेछ । समूह डी को विजेता शुक्रबार निर्धारण हुनेछ ।

समूह डी मा जापान २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । हङकङ २ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । मलेसिया २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । इन्डोनेसिया २ खेलमा अंकविहीन हुँदै बाहिरिसकेको छ ।

साउदी अरेबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै ३ सय ४८ रनको विशाल विजयी लक्ष्य दिएको थियो । जवाफमा साउदी अरेविया १९.१ ओभरमा मात्र ४६ रनमा अल आउट भएको थियो । साउदीका बरुण मुदालियरले बनाएको ११ रन नै टोलीका लागि सर्वाधिक योगदान साबित भएको थियो ।

नेपालको बलिङमा दीपेश कँडेलले ९.१ ओभरमा १८ रन खर्चेर सर्वाधिक ६ विकेट लिए । आकाश चन्दले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । सुवास भण्डारीले एक विकेट लिए ।
अर्जुनको कीर्तिमानी शतक

मलेसियाको वाइएसडी युकेएम ओभलमा पहिले ब्याटिङ गरेको नेपालका लागि अर्जन कुमालको ब्याटिङ आकर्षक इनिङ बनेको थियो । अर्जुनले कीर्तिमानी शतक बनाएका थिए । उनले टोलीका लागि सर्वाधिक १ सय ४२ रन बनाउन १७ चौका र २ छक्का प्रहार गरेका थिए । योसँगै उनी नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी बन्दै इतिहास समेत रचेका छन् ।

यसअघि नेपालबाट एकै खेलमा सर्वाधिक रन कुशल मल्लको नाममा थियो । कुशल मल्लले केहि साताअघि चीनमा सम्पन्न १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रन बनाएका थिए ।
अर्जुनले गत फागुनमा आईसीसी यू १९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए । अर्जुन नेपालबाट ओपनरको रुपमा यू १९ क्रिकेटमा दुई शतक हान्ने पहिलो क्रिकेटर समेत हुन् । कुनैपनि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा अर्जुनको यो उच्च प्रदर्शन पनि हो ।

नेपालका लागि पहिलो विकेटका लागि अर्जुन र दीपक बोहराले ११.५ ओभरमा ७१ रनको साझेदारी गरे । दीपक २९ रनमा आउट भए । दोस्रो विकेटका लागि अर्जुनले आकाश त्रिपाठीसँग मिलेर १ सय ८९ रनको शतकीय साझेदारी गरेपछि नेपाल विशाल स्कोरतिर अग्रसर भएको थियो । अर्जुन ३९ औं ओभरमा अहमद राजाको बलमा क्याच आउट भएका थिए । आकाश ८९ रनमा आउट भए । साउदी अरवियाका मोहम्मद अहमद र अहमद राजाले दुई दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्