देशभक्त प्रेरणाका स्रोत रामचन्द्र प्रसाईको साहस



हामी सबैलाई थाहा छ, यो देश आजको अवस्थामा यत्तिकै आइपुगेको होइन । विदेशीका खुनी पञ्जाविरुद्ध हाम्रा पुर्खाहरुले वीरतापूर्वक लडी, कसैको उपनिवेश राष्ट्र हुन नदिई, स्वतन्त्र सार्वभौम सम्पन्न मुलुकको रुपमा हामीलाई सुम्पेर गएका हुन् । कोही आफ्नो लागि बाँचेको देखिन्छ, कोही देश र समाजका लागि । देश र समाजका लागि गरेको सेवा–त्याग मरेर जाँदा पनि समाज देशले सम्झिरहन्छ, जनताले गुनगान गाइरहन्छन् । यो नै वास्तवमा मानवजीवनको सार हो । यो सबैले गर्न सक्तैनन् । यसको लागि मानवले जन्मदै विशिष्ट खालको चेतना, चरित्र र साहस लिएर आएको हुन्छ । सही विचार र सही कर्मको एकरुपता नै असल चरित्र हो । त्याग, उदारता, शालीनता, वीरता, सदाचार, मानवका व्यवस्थित जीवनका गुुण हुन् ।

शिक्षा भनेको विद्यालय जानु र डिग्री प्राप्त गर्नुमात्र नभएर सोच र ज्ञानलाई फराकिलो बनाई जीवनको सत्यता प्राप्त गर्नु हो । शिक्षा भनेको नैतिकता, सदाचारिता र देश भक्तिभावनाले भरिपूर्ण हुनुपर्छ भन्ने मान्यता यस कथनले स्पष्ट हुन्छ । हाम्रो शिक्षा यस्तै भई हामी सबैले यसरी नै बाँच्न सिक्नुपर्ने हो । तर आज सत्तालिप्सा, सस्तो लोकप्रियता र राष्ट्रघात नै राष्ट्रिय राजनीतिको मूल चरित्र बनेको अवस्थामा देशभक्त राजनेता देख्न पाउनु भनेको आकाशको फल भइसक्यो ।

विगतमा आफ्नो देशरक्षाको निम्ति वीर नेपाली पुर्खाहरुले लड्दा तयार पारिएका गढी किल्लाहरु आज पनि अवशेषको रुपमा देख्न सकिन्छ । तर संरक्षण हुन सकिरहेको छैन । त्यही गढी किल्लाहरुमध्येको गढी हो सिन्धुली गढी । सो गढी किल्लामा जनसेनानीको रुपमा लड्ने वीर साहसी नेपाली पुर्खाहरुमध्ये एक थिए रामचन्द्र प्रसाई । उनी कुनै सेना सुरक्षा फौजमा जागिर खाएको नाताले लडेका होइनन्, केवल देशभक्तिको भावनाले ओतप्रोत भई नागरिक स्तरबाट आफूले नै रसदपानीको व्यवस्था गरेर लडेका हुन् । तत्कालका राजा पृथ्विनारायण शाहलाई लडाइँ खर्च रु. २० हजारसमेत हालिदिएर युद्धमोर्चामा आफ्ना क्षेत्रका जनतालाई लड्न तयार गराई सिन्धुली गढी युद्धमा अंग्रेजलाई हराएका थिए । सो युद्धबारे केही चर्चा गरौँ ।

त्यति बेला काजी वंशराज पाण्डे, वीरभद्र उपाध्याय, वंशु गुरुङको मातहतमा आएका सेनाले सिन्धुुली भन्ज्याङ पुग्नुअगावै निगाले भन्ने ठाउँमा ठाना कायम गरी सिन्धुली भन्ज्याङबाट आउने–जाने मानिसहरुको कडा निगारानी गरिरहेका थिए । अर्काेतिर जनस्तरमा मल्ल राजाहरुको शासनभन्दा गोर्खालीहरुको शासन व्यवस्था सुव्यवस्थित रहेको जनताले महसुस गरिरहेका थिए । कान्तिपुरका राजा जयप्रकाशले नै आफ्नो राज्य रक्षार्थ अंग्रेज फौज फिरंगीहरु बोलाएको भन्ने सुन्दा जयप्रकाशप्रति घृणा जागिसकेको थियो । यसमा थप अंग्रेजहरुले तत्कालीन भारतमा सर्वसाधारणमाथि नरसंहार मच्चाएको, लुटपिट गरेको भन्ने पनि नेपालीहरुले सुनिरहेकाले कान्तिपुरले जिते पनि नेपालकै हो, गोर्खालीहरुले जिते पनि नेपाल नै हो, तसर्थ आफ्नो आन्तरिक झगडामा विदेशी फौज अंग्रेजलाई बोलाउने कार्यको पक्षपाती हुनुहुँदैन भन्ने कुराको मत सर्वसाधारणबीच रामचन्द्र प्रसाईंले बनाइसकेका थिए । त्यसपछि रामचन्द्र प्रसाई निगाले ठानामा बसिरहेका गोर्खाली भारदारीहरुसँग भेट गर्न गए ।

यस्ता कुरा राखेर उनले एउटा पत्र तयार गरे, ‘यही सिन्धुलीको बाटो गरी अंग्रेज फौजहरु आउँदै छन् अरे, कुरा के हो ? हो भने कसो गन्र्या हो ? फेरि त्यहाँ भएका सिपाहीहरुले मात्र फिरंगीहरुलाई हराउन मुस्किल पर्ला । निगालेमा ठाना वारि बसेमा फिरंगीको बलले मिची उँभो चढे भने नेपाल छिचोल्नेछ । त्यसैले सिन्धुली गढी डाँडामा बाहिरी किल्लाको ढोका बलियो पारी बस्यो भने जाती होला । श्री ५ महाराजाधिराजबाट हुकुम भएमा आफ्नो वर्गतले भ्याएसम्म अन्नपानीको चाँजोपाँजो मिलाउँला तर काजीहरुले भनेजति रुपियाँ त आफ्नोछेउ छैन, खोज्नुपर्छ, के गर्ने ? बटुल्नु पर्ने झारा बटुली भिँडूला ।’

यस्तो व्यहोराको अर्जीपत्र तयार पारी उनले वि.सं. १८२४ भाद्र महिनातिर राजालाई पठाउन भनी दिए । सो पत्रका साथमा ठानावारले समेत यी रामचन्द्र प्रसाईलाई हात लिएमा सिन्धुली गढी युद्धको लागि ठूलो मद्दत हुने, आवश्यक खर्चसमेत जुट्ने, रसदपानीको भर्थेग हुने भन्ने सिफारिससमेत गरी ती दुवै पत्र पृथ्वीनारायण शाहकहाँ पठाए । सो पत्र भारदारले महाराजाधिराज पृथ्वीनारायण शाहलाई ठक्र्याए ।

पृथ्वीनारायण शाहले आफ्ना सेनापति रामकृष्ण कँुवरलाई तुरुन्तै बोलाई मिलाउनुपर्ने परिबन्ध मिलाउनू र चाहिँदो फौज लिएर सिन्धुली गढी जानू भन्ने हँुकुम दिए । साथै रामचन्द्र प्रसाईलाई पनि प्रत्युत्तर लेखे, ‘युद्धमा भारदारहरुले प्रयोग गर्ने हतियार तथा लगाउने लुगा र आवश्यकीय बन्दोबस्तीका सामानको लागि पत्र लेख्दै तिमीले पठाएको पत्र आयो । अर्थ मालुम भयो । फिरंगीको आक्रमण हुन्छ भन्ने हल्ला छ, के गर्ने हो भनी पठाएको भलो हो । सिन्धुलीबाट नै फिरंगीहरुको आक्रमण हुँदै छ भन्ने साँचो हो । उसले जित्यो भने हामी कसैले पनि बाँच्नुपर्दैन । तिमीले वारि सिन्धुली गढीमा ठाना बनाई बसे जाती होला भनी पठाएका छौ, अहिले निगालेमा बसे पनि पछि सिन्धुली गढीमा नै जलिया गरी बस्नुपर्दछ ।

तराईतिर जानुहुँदैन । फिरंगीले आँत पाउला । आँत पायो भने जित्न गाह्रो होला । जय नारायणले खुरकोटतिरको झोरा बठुल्या छ । त्यै पनि पुग्दैन । अरु भर तिम्रै छ । आड बलियो बनाउनुपर्दछ । अहिले रु. २ हजारजति भए पुग्छ । खाने सामल आजलाई पुगे पनि पछि के पर्ला ? पुग्दो मिलाऊ । त्यसबापत जग्गा नै भन्छौ भने पनि काजीहरुले बुझी जाँची लेखिपठाएकोमा म लालमोहर गरी पठाउँला । यहाँबाट चाहिँदो सेना बिदा गरी पठाएको छु । अब अरु भर तिमै्र छ । आज तिमीले मेहनत गरे, पछि तिमीलाई छाडी अरु कसलाई गरुँला ?’

यो व्यहोराको जवाफी पत्र रामचन्द्रलाई पृथ्वीनारायणले पठाएका थिए । त्यसपछि मुख्य सेनापति रामकृष्ण कुँवर, वंशराज पाण्डे, वीरभद्र उपाध्याय, वंशु गुरुङ र रामचन्द्र प्रसाईसहित भई सिन्धुली भन्ज्याङ गढीका दायाँ–बायाँका अग्ला चुचुरे डाँडामा दुई विशाल किल्लाहरु बनाए । त्यसको तल घाँटीमा बलियो आडको ढोका निर्माण गरी रामेछापसम्म लम्बायमान भयको अग्लो डाँडोमा पनि एक मजबुत किल्ला बनाए । निगालेका बासिन्दा जयनारायणसँगका मानिसहरु र सबै सेनाहरुलाई ४ भागमा विभाजित गरी वंशु गुरुङ मातहतका सेनाहरुलाई ढुग्रेबासपट्टि र केही सेनाहरुलाई तिल्कयान डाँडातर्फ पठाए । बाँकी भएका फौजको आधा भाग वंशराज पाण्डे र वीरभद्र उपाध्यायलाई बाँडी जयनारायण थापा मगरसँग भएका ढाक्रेहरुलाई घारेमौरी, अरिँगाल, बच्छिउँ बिच्क्याउने अभिभारा तोकियो । बाँकी सर्वसाधारण रामचन्द्र प्रसाईसहितका सेनाहरु तयार गराई सरदार रामकृष्ण कुँवरसहित अंग्रेजबाट हुने आक्रमणको प्रतीक्षा गर्दै माथि गढी किल्लामा रहेका थिए ।

उता अंग्रेजतर्फका सेनापति कप्तान किनलकले सैनिक र आवश्यक सामानको साथै प्रशस्त मात्रामा हतियारको बन्दोवस्त गरेपछि मार्गदर्शकको लागि रामदास वैरागीले जिम्मा लिएका थिए । आश्विन महिनासम्ममा आक्रमण नगरे गोर्खालीहरुले कान्तिपुर दख्खल गरिसक्ने सूचना पाएका कप्तान किनलकले चाहिँदो मात्रामा फौज लिई सिन्धुलीतर्फ प्रस्थान गरे । यसरी किनलकको फौज सिन्धुलीतर्फ आउँदै छ रे भन्ने हल्ला सुनेका जनकपुरवासी र सिन्धुलीवासी, व्यापारी व्यवसायीहरु घर–पसल बन्द गरेर उठिसकेका थिए । त्यसरी सबै बजार बन्द हुँदा अंग्रेज फौजहरुले पानीसमेत खान नपाई कसरी हिँड्ने भन्ने भई अत्तालिसकेका थिए । यो सबै हबिगत गोर्खालीहरुले हेरिरहेका थिए । किनलकका फौज जब सिन्धुली भन्ज्याङ आइपुगे त्यतिखेर जयनारायणको दलले घारेमौरी, अरिँगाल, बिच्छीलाई बिच्काउने, ढुंगा हान्ने गर्न थाले । बिहानको मिरमिरे उज्यालो हुँदा सिन्धुली भन्ज्याङतर्फ आइरहेका फौज जब उकालो खोचैखोच लाग्ने प्रयास गर्दै थिए, त्यस बेला घारेमौरी, अरिँगाल, बिच्छीहरु अंगे्रजको टाटेपाटे लुगामाथि खनिन थाले । सिस्नुले पोल्न थाल्यो । यसपछि अंग्रेजहरु अत्तालिँदै यो गोर्खालीहरुकै काम हो ।

नेपालमा त झारपात, कीरा सबै एक भएर हाम्राविरुद्ध लड्दा रहेछन् भन्दै माथि गढी डाँडामा आउने प्रयास गरे । आफूसँग भएका हातहतियार, तोप हान्दा ढुग्रेबासको पहरोमा ठोक्कियो र तेर्साे गरी निसाना मार्दा किल्लामा नलागी माथिबाट नै नाघ्ने भई अंग्रेज फौजको निसाना पनि फेल खायो । सोही मौकामा काजी वंशराज पाण्डे, वीरभद्र उपाध्यायसँग रहेका सैन्यहरुले पनि दुईतिरबाट आक्रमण गर्दा अंग्रेज झनै अत्तालियो । त्यसै मौकामा फेरि माथिबाट रामचन्द्र प्रसाई र रामकृष्ण कुँवरको अर्काे फौजले धावा बोल्दा अंग्रेज सैन्य टिक्न नसकी ओरालोतर्फ भाग्न थाल्यो । त्यसरी तलतिर फर्किंदा फेरि अगाडि ढुग्रेबासतर्फका वंशु गुरुङका दलहरुले धावा बोली आक्रमण गर्दा सो फर्किने बाटो एउटै र साँघुरो भएकोले धेरै अंग्रेज फौजहरुले वीरगति प्राप्त गरे । कसो–कसो गरी किनलकचाहिँ आफ्ना केही फौजसाथ भागी बाँच्न सफल भएका थिए । बाँकी अंग्रेज सैनिकले आत्मसमर्पण गरेकाले तिनलाई त्यहाँ रहेका हातहतियार बोकाई माथि गढी किल्लामा ल्याई राखियो ।

श्री ५ वडामहाराज पृथ्विनारायण शाहले आफ्ना विजयी भारदारहरुलाई सिरोपाउका साथै मुगिटार निवासी रामचन्द्र प्रसाईलाई इज्जतका साथ सेनानीको दर्जाले सम्मान गरेको तथ्य पुरातत्व विभागमा रहेका विभिन्न पत्रपत्रिकाहरुमा पाउन सकिन्छ । सो कुराको प्रस्टोक्ति मोहनकृष्ण खनालले पनि आफ्ना लेखहरुमा उल्लेख गर्नुभएको छ । यसरी देशरक्षाको निम्ति लडेका देशभक्तिका इतिहासहरु भावी सन्ततिहरुको लागि पथप्रदर्शक र सन्देशमूलक हुने गर्छन् । सोही प्रयोजनार्थ यो लेख तयार गरिएको हो । रामचन्द्र प्रसाईलगायत सिन्धुली गढी युद्धका सबै वीर सपुतलाई राष्ट्रिय विभूति घोषणा गर्न कन्जुस्याइँ नगरौँ ।

(लेखक प्रसाई अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्