त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजका लागि नेपालको टिम घोषणा



काठमाडौं ।

घरेलु मैदानमा हुने त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजका लागि नेपालले टिम घोषणा गरेको छ । मुख्य प्रशिक्षक मोन्टी देसाइले रोहित पौडेलको कप्तानीमा आज १८ जना खेलाडीको नाम सार्वजनिक गरेका हुन् । स्पिनर ललित राजवंशीले टिममा पुनरागमन गरेका छन् । चोटका कारण उनले यसै महिना चीनको हाङचोउमा भएको एसियाली खेलकुदमा खेल्ने मौका गुमाएका थिए ।

अर्का स्पिनर सन्दीप लामिछानेले भने यो सिरिजबाट आफ्नो नाम फिर्ता लिएका थिए । लोकेश बम र सूर्य तामाङमा पनि टिममा फर्किएका छन् । अन्य खेलाडीमा आशिफ शेख, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, प्रतिश जीसी, अभिनाश बोहरा, विवेक यादव छन् ।

यस्तै सागर ढकाल, विनोद भण्डारी, श्याम अर्थात् मौसम ढकालले पनि टिममा स्थान बनाएका छन् । टी-ट्वेन्टी विश्वकप छनौटको तयारी स्वरूप सिरिज खेल्न लागिएको हो । नेपालसहित हङकङ र युएई सम्मिलित सिरिज आगामी कात्तिक १ गतेबाट सुरु हुनेछ । नेपालले पहिलो खेल १ गते युएईसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्