कोशीमा एमालेको इन्ट्री, बालुवाटारको सहमति तोडियो



विराटनगर । गठबन्धनको निर्णय उल्लंघन गर्दै नेकपा एमालेको साथ लिएर कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुने भएपछि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाबीच भएको सहमति फेरि उल्लंघन भएको छ ।

‘गठबन्धन बलियो बनाउने’ गरी तीन नेताबीच भएको सहमतिविपरीत कोशीमा आइतबार मुख्यमन्त्री केदार कार्कीले आफूलाई सहयोग गर्ने कांग्रेसको विद्रोही समूह र नेकपा एमाले समेटेर मन्त्रिपरिषद् गठन गर्नुभएको छ । यससँगै केन्द्रसहित सातै प्रदेशमा प्रतिपक्ष बनेको नेकपा एमाले सरकारमा फर्किएको छ । प्रचण्ड, देउवा र कोइरालाले कुनै पनि हालतमा गठबन्धनलाई कमजोर हुन नदिने सहमति गरेपछि कोशीमा एमालेबाहेक गठबन्धनकै सरकार बन्ने अनुमान थियो । तर, कोशीमा एमाले सरकारमा सहभागी भएको छ ।

प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा भएको सहमतिपछि चितवन पुगेर कोशीमा उत्पन्न समस्याको समाधान भएको बताउँदै अब गठबन्धनकै सरकार बन्ने दाबी गर्नुभएको थियो । उहाँले तीन नेताबीच भएको सहमतिले अब गठबन्धनकै सरकार बन्ने र केदार कार्की गठबन्धकै मुख्यमन्त्री भएको स्पष्ट पार्नुभएको थियो । तर मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् गठन गर्दा विद्रोही कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर राना मगरलाई मन्त्री नियुक्त गर्नुभएको छ । कांग्रेसका कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९ सांसदमध्ये ८ जना र एमालेका ३९ जनाले हस्ताक्षर गरेका थिए । सत्ता गठबन्धनले माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अगाडि सारेपछि शेखर पक्षका कार्कीले ८ सांसदसहित विद्रोह गर्दै एमालेको सहयोगमा मुख्यमन्त्री बन्नुभएको हो ।

शपथपछि मुख्यमन्त्री कार्कीले प्रदेशमा सहमतिको सरकार बन्ने दाबी गर्नुभएको छ । आफू नेतृत्वमा सरकार बनेपछि प्रदेशको राजनीतिक संकट समाधान भएको दाबी गर्दै उहाँले सबै दल सहभागी भएको सहमतिको सरकार बनाउने गरी आफूले प्रयास गर्ने बताउनुभयो । प्रदेशमा देखिएका सामाजिक, सांस्कृतिक विषय वार्ताद्वारा समस्या समाधान गर्ने उहाँको भनाइ छ । ‘प्रदेशसभा विघटन हुन्छ कि, मध्यावधि हुन्छ कि, जनता फेरि लाइनमा लागेर मतदानमा जानुपर्छ कि, राज्यको ढुकुटी कहीँकतै बीचैमा खर्च हुन्छ कि भन्ने चिन्ता समाप्त भएको छ’, उहाँले भन्नुभयो । उहाँले भौतिक विकास मात्र नभई मानवीय विकास पनि प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । नेकपा एमाले संसदीय दल नेता हिक्मतकुमार कार्कीले भने सरकारमा एमाले र कांग्रेसबाहेक अन्य दल सहभागी हुने कुरा स्वीकार नगर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्