चन्दननाथ र भैरवनाथ मन्दिरमा लिंगा फेरियो, आजदेखि दसैं सुरु



जुम्ला ।

प्रख्यात चन्दननाथ र भैरवनाथको मन्दिरमा नयाँ लिंगा खडा गरिएको छ। प्रतेक वर्ष घटस्थापनाका दिन नयाँ लिंगा फेर्ने चलन रहेको छ । असोज २५ गते चन्दननाथ-३ ढाँड थपालाको जंगलबाट नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र, प्रहरी तथा सयौं भक्तजनको संयुक्त बलमा लिंगा ल्याइएको थियो भने आइतबार पुरना लिंगा प्रतिस्थापन गरेर नयाँ लिंगा खडा गरिएको चन्दननाथ, भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ।

चन्दननाथ मन्दिरमा ५२ हाते लिंगा र ५२ हाते ध्वजा राखिएको हुन्छ भने, भैरवनाथ मन्दिरको लिंगामा ४८ हातको लिंगा र ४८ हातकै ध्वजा राखिएको छ। साथै दुबै मन्दिरमा करिब ४२ हाते सहायक लिंगा खडा गरिएको चन्दननाथ भैरवनाथ गुठि व्यवस्थापन समितिका अमर थापाले बताए। चन्दननाथ भैरबनाथ मन्दिरमा नयाँ लिंगा फेरीसकेपछि मात्र जुम्लाका घरघरमा घटस्थापना गर्ने चलन छ, उनले भने, मन्दिरकै माटो लिएर जमरा राख्ने चलन छ। मन्दिरमा जय स्तम्भ सहित पाँचवटा लिंगा खडा गरिएको हो।

चन्दननाथ भैरबनाथ मन्दिरका नयाँ लिंगा फेरिए संगै जुम्लामा विधिवत रुपमा दसैं शुरु भएको मानिन्छ। पछिल्लो समय भक्तजनहरुको संख्या भने घटेपनि येवाहरुको पहलमा लिंगा ल्याउने काम भएको अध्यक्ष थापाले बताए। घटस्थापनाकै दिन उत्पादन वृद्धि होस, भोकमरी नहोस भन्ने कामना सहित चन्दननाथ भैरबनाथ मन्दिरमा मार्सीधानको सिक चडाउने समत परम्परा रहेको संस्कृति सम्बन्धका जानकार रमानन्द आर्चायले बताए।

बाबा चन्दननाथले आफ्नै बलबुतामा मार्सीधानको बीउ पत्ता लगाएर विस्तारको लागि आफ्ना बलशाली शिष्य लछालकृति पैकेलोलाई खठाएका थिए, उनले भने, मार्सी धानको प्रयोग सफल भएपछि बाबा चन्दननाथको सम्मान स्वरुप लिंगा खडा गर्ने रित बसालिएको हो ।

उनका अनुसार लछालकृति पैकेलाले तातोपानी -२ मा पर्ने गुरु फोक्टो नामक खेतमा पहिलो टपकट मार्सी खेती सुरु गरेका थिए । त्यस सफल भएपछि जस चन्दननाथ बाबालाई गयो। जसका कारण जुम्ली किसानले आफू खानु भन्दा पहिले मार्सी चामलको सिक चन्दननाथ मन्दिरमा चढाउने परम्परा बसेको हो।

मन्दिरमा सिक दिने परम्पराले बीउ जोगाउने काम पनि गरेको इतिहास र संस्कृतिका जानका सिंजा कनकासुन्दरीका तुङ्गनाथ उपाध्यायले बताए। सिक भनेर ल्याएको धान असल हुन्थ्यो। एक ठाउँको बीउ अर्को ठाउँमा साटफेर हुन्थ्यो, उनले भने, नयाँ माटोमा नयाँ बीउ परेपछि उत्पादन घट्दैन थियो। पछिल्लो समय सिक दिने चलन घटेपछि ठाउँठाउँमा धान बाली बिग्रदै गएको छ।

जुम्लामा बडीमालिका जानेदेखि घटस्थापनामा मन्दिरका लिंगा फेर्ने अनुपम संस्कृत रहेको उनको भनाई छ। धार्मिक तथा प्राकृतिक पर्यटकीय सम्भावनाले भरिपूर्ण जुम्लाको विकासमा राज्यले लगानी बढाउनुपर्ने देखिन्छ, उनले थपे, जुम्लाका विभिन्न संस्कृति र परम्पराले देवभुमि पुगेको महशुस गराइरहेको हुन्छ।

घटस्थापनाको लिंगा खडा गर्ने ठाउँमा पुग्दा आफूले चिताएको पुरा हुने भन्दै मन्दिरमा हजारौं भक्तजनहरु भिड हुन्छ। घटस्थापनाकै दिन जुम्लाका घरघरमा जौका जमरा राख्ने चलन छ भने साँझ नयाँ फलेको मार्सी धानको चिउरा कुटेर दही, मह सँग मिसेर न्वागी बनाई घर परिवार तथा बिहे गरेकी छोरी चेलीलाई बोलाएर खुवाउने चलन छ।

प्रतिक्रिया दिनुहोस्