दुर्गा प्रसाईंलाई महेश बस्नेतको चुनौती : मरेको राजा च्यापेर हामीलाई च्यालेन्ज गर्ने ?



काठमाडौँ।

नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कोशी प्रदेशबाट कांग्रेसको विद्रोही समूह र एमालेको सहकार्य सुरुवात भएको उल्लेख गर्दै चाँडै फिल्महरु प्रदर्शन हुने बताएका छन् ।शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

उनले भने–‘कोशी प्रदेशको कांग्रेसको विद्रोह र एमालेसँगको सहकार्य त सुरुवात मात्रै हो । यसको कास्टिङ हो, यसको फिल्महरु प्रदर्शन हुँदैछन् । मलाई लाग्छ चाँडै नै फिल्महरु प्रदर्शन हुनेछन् र ती फिल्मका प्रभावहरु संघीय सरकारमा पनि पर्नेछ ।’

उनले नेपालको राजनीतिलाई नयाँ दिशामा मोड्ने ढंगले कोशी प्रदेशमा केदार कार्कीको नेतृत्वमा सरकार बनेको सुनाए । ‘कोशीमा एमाले जिम्मेवार बन्नुपर्छ भन्ने ढंगले हामीले अभिव्यक्ति दिएका थियौं । कोशी प्रदेशको सरकार बन्ने सन्दर्भमा एमाले अधिकतम लचिलो बन्नुपर्छ भनेर मैले पनि भनेको थिएँ ।’–उनले भने ।

उनले आफूले कोशी प्रदेशको स्थायित्वको लागि कांग्रेसले संस्थागत रुपमा निर्णय गरेर आउँछ भने पनि समर्थन गर्नुपर्छ भनेर भनेको स्मरण गराए । उनले भने,‘कोशी प्रदेशको स्थायित्वको लागि मैले सबै विकल्पमा जानुपर्छ भनेको थिएँ, कतिसम्म भने ८ जना सांसद लिएर आउनेलाई समर्थन गर्नुपर्छ भनेको थिएँ ।’

उनले आफूले सामाजिक, धार्मिक सहिष्णुता विथोल्नेलाई रोक्नुपर्छ भनेर बोलेको पनि स्मरण गराए । बस्नेतले भने,‘कोशीमा म सानोभन्दा सानो कार्यक्रममा सहभागिता भएको थिएँ । नेपाल भौगोलिक रुपमा पनि निकै संवेदनशील ठाउँमा छ । नेपालालई अन्तर्राष्ट्रिय बफर जोनको रुपमा लिईन्छ । कोशीलाईै बफर जोनको पनि इपिसेन्टरको रुपमा लिईन्छ । संसारलाई चूनौति दिँदै हाम्रा छिमेकी राष्ट्रले गरेको प्रगतिका कारण आज हामीलाई समस्यामा पार्न खोजिँदैछ । भारत विश्वको पाँचौ ठूलो अर्थतन्त्रको रुपमा शक्तिशाली बनेको छ । हालै जी–२० सम्पन्न गरेको छ । चीन अर्थतन्त्रको हिसाबले दोस्रो ठूलो । नेपालको झापा र बंगलादेशको बीचमा भारतको १० किलोमिटर भूमी पर्छ । जसलाई चिकेन–नेक भनिन्छ । त्योभन्दा माथितिर भारतका ८ वटा राज्य छन् । आज किन कोशी प्रदेशमा मन्दिरको अघि चर्च बन्छ ? वडाअध्यक्षले चर्च बन्ने कुराको विरोध गर्दा मेयर हर्क साम्पाङले किन चर्च बनाउनेहरुको हौसला प्रदान गरिरहेका छन् ? मंगोल, लिम्बुवान र दुर्गा प्रसाईको नाममा किन लोकतन्त्रविरोधी काम भैरहेको छ । ? त्यहाँ एकातिर हामी किराँती हौं भन्दै गाई खान्छौं भनेर दिउँसै सोसल मिडिया रंग्याउने काम हुन्छ, अनि अर्कोतर्फ साधुसन्त नामका व्यक्तिहरु खुकुरी बोकेर सम्मान घट्नेगरि मान्छे काटेर आईज हामी सुरक्षा दिन्छौं भन्छ । त्यहीँ नेपालको होईन, विदेशबाट आएका गेरुवस्त्र धारण गरेकाहरुले मुलुकलाई धर्मयुद्ध गर्ने कुरा गरेका छन्, त्यो कुरा बढ्दै गर्दा धरान, सर्लाही हुँदै नेपालगञ्ज पुग्छ । नेपालगञ्जमा सोसल मिडिया बन्द गरिनुपर्छ भन्ने आवाज उठेको छ ।’

उनले अराजकहरुको कारण मुलुकमा लोकतान्त्रिक हकअधिकार कार्यान्वयन गर्ने कुरा चूनौति बनेको पनि टिप्पणी गरे । उनले भने,‘आज लोकतान्त्रिक हकअधिकार कार्यान्वयन गर्ने कुरा चूनौति बनेको छ । केपी ओली तेह«थुम जाँदा योजनाबद्ध ढुंगा हानिन्छ । त्यहाँ निषेध गरिन्छ । दुई महिनाभित्र ओली, प्रचण्ड र देउवा नसच्चिए खुट्टा काटिनेछ र प्रयोगशशालमा राखिनेछ भन्दै भाषण गदै हिँड्छन दुर्गा प्रसार्इं भन्ने अराजक व्यक्ति । राज्य निरीह छ । विचरा भन्न मन लाग्छ प्रचण्ड र नारायणकाजी । मेरो विरोध गर्ने ? देखाईदिन्छु ? मासु काट्छु, चोक्टा, चोक्टा बनाउँछु, उसिनेर खान्छु भन्छ दुर्गा प्रसाई । बैंक तथा वित्तिय संस्थाबाट लोन लिएकालाई नतिर भन्छ । आज उसका पछाडि सहकारी र वित्तिय संस्थाबाट ऋण लिएकाहरु ५ लाख, १० लाख छुट गरिदिन्छ भनेर लागेका छन् । भैंसीले कहिलेकाही पुच्छरलाई हान्छ, त्यो प्रसाईले पुच्छरको प्रयोग गरेर एमाले र नेताहरुमाथि चूनौति दिन्छ ।’

उनले राष्ट्रिय युवा संघ प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालजस्तो डरपोक नभएको पनि टिप्पणी गरे । उनले एमाले सामाजिक सद्भावको पक्षमा अटल भएर उभिएको र उभिरहने स्पष्ट पारे।

नेता बस्नेतले झापाको युवा संघको कार्यक्रम पूर्वनिर्धारित कार्यक्रम भएको स्पष्ट पारे । उनले झापाको अर्जुनधारा नगर कमिटीको युवा संघको कार्यक्रमलाई गलत ढंगले नबुझ्न अनुरोध गरे । उनले भने,‘झापाको अर्जुनधाराको नगर अधिवेशन पूर्वर्निाधिरत कार्यक्रम हो । दुर्गा प्रसाई र पहिचानवादीले थ्रेट दिएका कुरा बाहिर आएका थिए, दुर्गा प्रसाईजस्ता अराजक र अपराधिक व्यक्तिको पछि लागेर कोही पनि पीडितहरु उचालिनुहुँदैन् । अर्जुनधारानजिकै एउटा चोकमा ५०/६० जना भेला भएका थिए । हाम्रो कार्यक्रम निकै सभ्य र भव्य रूपमा सम्पन्न भयो । म भाषण गर्दैगर्दा कडा ढंगले प्रस्तुतु हुनुपर्ने परिवेश थियो ।’उनले आफूहरुले शान्तिपूर्ण ढंगले कार्यक्रम गर्दा कसैले थ्रेट दिन्छ भने त्यसमा धुप बालेर बस्ने कुरा नहुने टिप्पणी गरे ।

उनले झापामा आफूहरुको कार्यक्रम विथोल्नको लागि पहिचानवादी र दुर्गा प्रसाईका समथर्कहरु मिलेर आएको दाबी गरे।

उनले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला चुच्चे नक्शा जारी भएको स्मरण गराउँदै आज त्यो चुच्चे नक्शा वर्तमान सरकारले भाँचेको आरोप लगाए । उनले भने,‘हामी मित्र शक्तिसँगको सम्बन्ध सुमधुर बनाउन चाहन्छौं । नाकाबन्दी हुँदा हामी बोल्यौं । चुच्चे नक्शा एमालेले भाँचेको होईन । अहिले भारतीय प्रधानमन्त्री मोदीजी विवादित जग्गामा आइरहँदा सरकारले त्यो विषय गम्भीरताकासाथ उठाउनुपर्छ । जब प्रचण्डले भारतको महाकालेश्वरमा गेरुवस्त्र धारण गरेर दर्शन गरे त्यसपछि नेपालमा दुःखका दिन सुरु भएको जस्तो लाग्छ ।’

 

प्रतिक्रिया दिनुहोस्