राजनीतिक दलका लागि सरकार भन्दा जनता महत्वपूर्ण हुनुपर्छ : केपी ओली



काठमाडौँ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका लागि सरकार भन्दा जनता महत्वपूर्ण हुनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एशियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) ले आयोजना गरेको स्थायी समितिको चौधौं बैठक र एशिया—युरोप राजनीतिक मञ्चको पाँचौं बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राजनीतिक दलहरूले कार्यकारी शक्तिको अभ्यास मात्र नभइ दीर्घकालिक राष्ट्रिय हितको रक्षा, प्रभावकारी र गतिशिल राष्ट्र निर्माण गर्ने दिशामा आफूलाई केन्द्रित गर्नुपर्ने बताए ।

अध्यक्ष ओलीले कुनैपनि सरकारबाट गरिने अन्याय एवं पक्षपातले नागरिकको आँखामा सम्बन्धित राजनीतिक प्रणालीको वैधानिकतालाई मात्र नखुम्च्याउने भन्दै यसले आन्तरिक एवं अन्तर्राष्ट्रिय स्तरमा समेत अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउने बताए।

अध्यक्ष ओलीले सबैका लागि न्याय, सम्मान र समानता कायम गरी सहअस्तित्व, सहिष्णुता, सद्भाव तथा सहयोगको भावना प्रवद्र्धन गर्न राजनीतिक दलहरूको भुमिका असाधारण हुने विश्वास व्यक्त गरे । धार्मिक विश्वास, संस्कृति, परम्परा, विचार र सामाजिक मूल्यहरू सबैका लागि उत्तिकै प्रिय रहेको र यसले मानवतालाई एकताको सूत्रमा बाँध्ने बताए।

अध्यक्ष ओलीले विश्वका समस्या समाधान गर्न नेतृत्वदायी भूमिका खेल्नका लागि सबैलाई आह्वान गरे । सम्मेलनमा दिगो पर्यटन प्रवद्र्धन र महामारीपछि आर्थिक स्थायित्वको सुरक्षामाथि गहन छलफल हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा एशियाली राजनीतिक दलका नेताहरु सहभागिता रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्