कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्बोलाई अघि सार्ने गठबन्धनको निर्णय



काठमाडौँ।

सत्तारुढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित बिहीबार बालुवाटरमा बसेको सत्तारुढ दलको बैठकले आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो।

सत्ता गठबन्धनका चारदलसँग कोशी प्रदेश सभामा ४७ सांसद छन्।

बुधबार दिनभर मुख्यमन्त्रीका रुपमा कसलाई अघि सार्ने भन्ने विषयमा कोशीका नेताहरुबीच छलफल चलेको थियो।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार भोलि शुक्रबार ५ बजेसम्म नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले समयसीमा दिएका छन्।

कोशीमा कांग्रेस दलका नेता उद्धव थापा दुईपटक मुख्यमन्त्री बनेपनि विश्वासको मत नपाएपछि सरकार ढलेको थियो। त्यही भएर यसपटक उपधारा ५ अनुसार माओवादी केन्द्रका आङ्बोलाई अघि सारेर सरकार गठन गर्ने गठबन्धनले निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्