कोशीमा बहुमत पुर्याउने वीरताको लडाइँ



काठमाडौं । अस्थिरताको नमुना बन्दै गएको कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनका लागि प्रदेश सांसदबीच वीरता प्रदर्शन हुन थालेको छ । प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेपछि बहुमत पु¥याएर सरकार बनाउन सांसदहरू कम्मर कसेर लागेका हुन् ।

संविधानको धारा १६८ को उपधारा (२, ३ र ४) अनुसार गठन भएका सबै सरकार अल्पमतमा परेसँगै उपधारा (५) अनुसार सरकार गठनका लागि सत्तारुढ गठबन्धनका सांसदहरूबीच प्रतिस्पर्धा देखिएको कोशी प्रदेशसभाका पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का नेता बाबुराम गौतमले बताउनुभयो । यसअघिका कुनै पनि सरकारले सदनमा बहुमत दाबी गर्न नसकेपछि कोशी प्रदेशमा विगत दश महिनाभित्र चारवटा सरकारले शपथ लिएर ढलेका छन् । दलीय रूपमा मुख्यमन्त्रीको बनेका नेताहरूले संसद्मा बहुमत प्रस्तुत गर्न नसकेर सरकारविहीन अवस्थामा पुगेको कोशीमा अब गठन हुने सरकारको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनका तर्फबाट आधा दर्जनबढी नेताले दाबेदारी प्रस्तुत गरिहेका छन् ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पूर्वमुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता उद्धव थापा, मन्त्रीहरू केदारबाबु कार्की, प्रदीपकुमार सुनुवार, संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राई, विराटनगरका पूर्वमेयरसमेत रहेका नेता भीम पराजुली, नेता अमृत अर्यालले दाबी गरेका छन् । उनीहरू पार्टी नेतृत्व र शीर्ष नेताहरूसँग दैनिकजसो भेटेर आफ्नो पक्षमा निर्णय गरे सहज बहुमत ल्याउने भन्दै दबाब दिइरहेका छन् । बुधबार सांसद भीम पराजुलीले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई मुख्यमन्त्री बनाउन माग गर्नुभएको थियो । अन्य दाबेदारले यसअघिदेखि नै निरन्तर पार्टी नेताहरूसँग आ–आफ्नो दाबी पेस गरिरहेका छन् ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता तथा पूर्वमन्त्री इन्द्र आङ्बो, पूर्वसभामुख बाबुराम गौतमलगायत सांसदहरू मुख्यमन्त्रीको दाबी गर्दै आएका छन् । गठबन्धनकै तर्फबाट पूर्वमुख्यमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईले पनि मुख्यमन्त्रीका आशा गर्नुभएको छ । कोशी प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) ले भने सरकार गठनमा संख्या नपुग्ग्ने सम्भावनालाई ख्याल गर्दै कुनै पनि सांसदलाई अघि नबढाउने संकेत गरेको छ ।

गठबन्धनका सरकार बनाउन पुग्ने संख्या ४७ रहेकाले अन्य भवितव्य नभए गठबन्धकै सरकार बन्ने पक्का रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारले बताउनुभयो । कांग्रेसको नेतृत्वमा सरकार बनाउँदा दलका नेता उद्धव थापा र पूर्वमन्त्री केदार कार्कीले बढी जोडबल गरेको उहाँले बताउनुभयो । तर, कसको नेतृत्वमा जाँदा प्रदेश सभामा ६ सांसद रहेको राप्रपालाई समेट्न सकिन्छ भन्ने विषय गठबन्धनमा पेचिलो विषय बनेको छ । कांग्रेसभित्रको लडाइँले गर्दा मुख्यमन्त्री माओवादीको पोल्टामा पर्ने सम्भावनासमेत बढेको कांग्रेसका एक नेताले नेपाल समाचारपत्रलाई बताए । राप्रपालाई सरकारमा सहभागी गराएर गठबन्धनको बलियो सरकार बनाउन र कोशी प्रदेशलाई मध्यावधिमा जान नदिनका लागि प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत गठबन्धनका शीर्ष नेताहरू लागिपरेका छन् ।

उक्त सरकार गठनमा दलीय ह्विप नलागे पनि आन्तरिक रूपमा सबै दलहरूले आफ्ना सांसदहरूलाई मतमा दायाँबायाँ नगर्न सचेत गराइसकेका छन् । ९३ सदस्यीय प्रदेशसभामा उपधारा ५ अनुसार गठन आह्वान भएको सरकारमा दाबी पेस गर्नका लागि ४७ जना सांसदको हस्ताक्षर चाहिन्छ । प्रदेशसभामा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक सांसद छन् । यही शनिबार मुख्यमन्त्रीको दाबी पेस गर्ने गरी दलहरूले तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्