बनेपामा वाङमय पुस्तक मेला

‘पुस्तक अध्ययन जीवन बचाउने अचुक औषधी’– लेखक सुविन भट्टराई



काभ्रे । 
काभ्रेको बनेपामा रहेको न्यू प्रगति पुस्तक पसलले शुक्रबार देखि शुरु गरेको पुस्तक मेलामा लेखकहरु तथा लेखकका पारखी र पुस्तक अध्ययन गर्न चाहनेहरुको संख्या थपिदै गएको छ । सोहि क्रममा बुधबार विहान सुबिन भट्टराईले पुस्तक मेलाको अवलोकन गरेका छन् ।
अवलोकन गर्दै लेखक भट्टराईले पुस्तक अध्ययन जीवन बचाउने अचुक औषधी भएको बताए । लेखक भट्टराईले विगतमा आफूले डिग्री सकेर कतै रोजगारी नपाउँदा चरम डिप्रेसनको सिकार भइरहँदा यस्तै पुस्तक मेलामा सहभागि भएर पुस्तक पढ्ने बानी बसेकोले आफ्नो औषधी नै पुस्तक अध्ययन बनेको बताए । पुस्तक अध्ययन पछि जीवन नै परिवर्तन भएको बताउँदै लेखक भट्टराईले त्यो साहस ऊर्जा पुस्तकहरूको अध्ययनबाट मात्रै मिल्ने भएकाले हरेक ब्यक्तिले जीवन उर्जावान बनाउन पुस्तक अध्ययन गर्नु पर्ने बताए ।
बनेपामा रहेका विभिन्न विद्यालयका बिद्यार्थीहरु समेत सहभागी भएको पुस्तक मेलामा लेखक भट्टराईले आफूले लेखक बन्ने प्रेरणा पुस्तक अध्ययन र जीवनको डरलाग्दो समय भएको बताए । प्रविधिको प्रयोगले युवा पुस्तालाई पुस्तक अध्ययन गर्ने बानी हराउँदै गएको बताउँदै लेखक भट्टराईले भावी दिनमा यो निकै महंगो पर्ने बताए ।  मेलामा वरिष्ठ साहित्यकार मोहन दुवालले प्रगति पुस्तक भण्डारले जिल्लामा पहिलो पटक गरेको प्रयासको प्रशंसा गर्दै पठन संस्कृति र लेखकले देशको जल्दो बल्दो कुरा बोल्न र लेख्नु पर्ने बताए ।
जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष समेत रहेका बरिष्ठ साहित्यकार मोहन दुवालले लेख्ने र ज्ञान बाँढ्ने कुरामा कसैसँग पनि झुक्न नहुने बताउँदै स्थानीय सरकारले लेखकहरुको संरक्षण गर्न नसकेकाप्रति चिन्ता व्यक्त गरे । लेखकहरुको संरक्षण सम्वद्र्धन गर्ने मामलामा कहिल्यै पनि स्थानीय सरकारले चासो नदिएको तथा यस्तो अवस्था निरन्तर रहिरहे भावी पुस्तामा लेखन र पठन संस्कृति कमजोर हुने औँल्याए साहित्यकार दुवालले बताए ।
काभ्रेपलाञ्चोकको बनेपामा यो पहिलो पटक वाङमय पुस्तक मेलाको आयोजना गरिएको हो । प्रगति पुस्तक भण्डार बनेपाले नजिकिँदै गरेको चाडपर्व लक्षित गरी वाङमय पुस्तक मेलाको आयोजना गरेको बताएको छ । पुस्तक मेलामा नेपालका चर्चित लेखकहरुका साहित्यिक कृतिहरू, विश्व साहित्य, विभिन्न ज्ञानका अति महत्वपुर्ण पुस्तकहरु र धार्मिक आस्थाका पुस्तकहरू पाइने छन् । मेलामा सहभागि भई आफूलाई मनपर्ने विधाका पुस्तक सहजै प्राप्त गरी लाभ लिन सकिने प्रगति पुस्तक भण्डार बनेपाका सञ्चालक भुवन मानन्धरले बताए ।
यस्ता कार्यक्रम निरन्तर गर्ने मानन्धरले बताए । पुस्तक मेलामा पुस्तक किन्नेले २० प्रतिशत सम्म छुट पाउने बताउँदै उनले साहित्यको क्षेत्रमा वरिष्ठ साहित्यकार मोहन दुवालको सहयोग र समन्वयमा यो योजना आफूहरुले अघि सारेको बताए ।  मेलाको पहिलो दिन यूवा लेखक तथा प्रज्ञा अमर न्यौपानेले अवलोकन गरी उपस्थितिलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्