पदक विजेता खेलाडीलाई विमानस्थलमा स्वागत 



काठमाडौँ। 

चीनको हाङ्गझाउ सहरमा आयोजना भएको १९ औं एशियाली खेलकुदमा पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी लगायत सिनियर प्रहरी अधिकृतहरुले  चीनमा सम्पन्न भएको “१९ औं एशियन गेम्स” अन्तर्गत कराते, कबड्डी, भारोत्तोलन तथा भलिबल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी स्वदेश फिर्ता भएका खेलाडी तथा अफिसियलहरुलाई  विमानस्थलमा स्वागत गरेका हुन्।

उक्त प्रतियोगितामा नेपालले प्राप्त गरेको १ रजत र १ काँस्य गरी  कुल २ पदक मध्ये कराते खेल अन्तर्गत नेपाल पुलिस क्लबमा आवद्ध कराते खेलाडी एरिका गुरुङले नेपालको कराते खेल इतिहासमै पहिलो पटक एशियन गेम्सको फाईनलमा प्रवेश गर्न सफल भई नेपाललाई रजत पदक दिलाएकी थिइन्  भने आफ्नो डेब्यू खेलमा नै कास्य पदक जित्न सफल नेपाली कबड्डी टिममा नेपाल पुलिस क्लबका खेलाडीहरू प्रहरी सहायक हवल्दार त्रय नितु गुरुङ, मानमती विष्ट र अर्पणा चौधरी सहभागी भएका थिए।

त्यसैगरी नेपाल पुलिस क्लबका भारोत्तोलन खेलाडी प्रहरी जवान विशाल सिंह विष्टले कुल ३०१ केजी वजन उचाली तीन राष्ट्रिय कीर्तिमानको साथै नेपाली भारोत्तोलन खेल इतिहासमा ३०० केजी भन्दा बढी वजन उचाल्ने पहिलो नेपाली खेलाडीको ऐतिहासिक राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका थिए।

प्रहरी कार्यालय सहयोगी सागर भण्डारीले कुल ३०३ केजी वजन उचाली तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुका साथै नेपाली भारोत्तोलन खेल इतिहासमा हालसम्मकै सबैभन्दा बढी वजन उचाल्ने खेलाडीको ऐतिहासिक राष्ट्रिय कीर्तिमान समेत बनाउन सफल भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्