२०८० जेठ १७ गते देखि २०८० असोज १९ गतेसम्म १० जनाको विज्ञ समुहले बनेपा नगर क्षेत्रका सहकारीहरुको अनुगमन गरी एकिन र बास्तविक तथ्यांक सार्वजनिक गरेको छ ।
काभ्रे ।
दैनिक जसो सहकारी भाग्ने र सहकारीमा बचत गरिरहेका शेयर सदस्यहरुको बचत रकम फिर्ता गर्न नसकेको गुनासो दर्ता हुन थाले पछि बनेपा नगरपालिकाले जिल्ला सहकारी संघ मार्फत नगरपालिका भित्र रहेका सहकारीहरुको बास्तविक अवस्थाका बारेमा जानकारी लिन गरेको अनुगमनमा दर्ता भएका ७७ वटा संस्था बेपत्ता भएको पत्ता लागेको हो ।
२०८० जेष्ठ १७ गतेबाट २०८० असोज १९ गतेसम्म १० जना विज्ञहरुले समुह निर्माण गरी बनेपा नगरपालिकाका १४ वटै वडामा रहेका सहकारीहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा १ सय २३ वटा मात्रै सहकारी फेला परेको विज्ञ सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका ब्यवस्थापक गुरु ढकालले बताए । ‘बनेपा नगरपालिकाले जिल्ला सहकारीको समन्वयमा १४ वटै वडामा रहेका सहकारीको अनुगमन गरेको थियो । जसमा १० जना विज्ञ सदस्यहरु प्रत्येक सहकारीमा पुग्नु भएको थियो’–विज्ञ सदस्य ढकालले प्रतिवेदन प्रस्तुत गर्दै भने–‘सहकारी भित्र देखिएका विकृति विसंगति सुधार्न अनुगमन महत्वपूर्ण भएको छ ।’ जिल्ला सहकारी संघका अध्यक्ष दिलिप जंगमले अनुगमनको प्रतिवेदन बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यलाई हस्तान्तरण गरे ।

डिभिजन सहकारी कार्यालयले बनेपा नगरपालिकालाई २ सय २० वटा संस्था हस्तान्तरण गरेको थियो । जस मध्ये १४ वटा सहकारी एकिकरण भईसकेका छन् । १९ वटा सहकारी प्रदेश अन्र्तगतका छन् । ६४ वटा सहकारीका कुनै कार्यालय र बोर्ड समेत छैनन । ६ वटा सहकारीले नियामक निकायमा प्रतिवेदन बुझाएका छैनन । ३ वटा सहकारीले नगरपालिकाले खटाएको अनुगमन टोलीलाई अनुगमन गर्न नदिएको विज्ञ सदस्यहरुले बताए ।
सहकारीमा देखिएको विकृती विसंगति सुधार्न र सहकारीमा पारदर्शिता कायम गर्न अनुगमन महत्वपूर्ण भएको जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले बताए । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष उदयराम कायश्थ, विषयगत संघका अध्यक्षहरु, सहकारीका अध्यक्ष तथा प्रवन्धकहरुले जिल्लाका सहकारीमा देखिएका समस्या समाधान गर्न अनुगमन महत्वपूर्ण भएको बताएका थिए । अनुगमनको प्रतिवेदनलाई नगरपालिका र प्रदेश तथा संघका कार्यालयहरुले अक्षरस पालना गर्न सके सहकारीमा देखिएका समस्या समाधान गर्न कोसेढुंगा सावित हुने उनिहरुले बताए ।
जनप्रतिनिधिले गरे प्रतिवद्धता
नगरपालिकाले जिल्ला सहकारी सघ मार्फत गरेको अनुगमनको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख दिपकुमार गौतमले सहकारीलाई नियमन गर्ने निकायहरु सक्रिय हुनु पर्ने बताए । बचतकर्ताहरुको रकम जोखिममा पारेर भागेका सहकारीका संचालकहरुलाई कडा कारवाही गरी बचतकर्ताहरुको बचत फिर्ता गर्न र सहकारीलाई विनियम अनुसार संचालन गर्न नियमन गर्न नगरपालिकाले शुरु गरेको अभियान सहनिय भएको समन्वय प्रमुख गौतमले बताए ।

बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले नगरपालिका भित्र भएका सबै सहकारीको बास्तविक तथ्यांक सहितको अवस्था प्राप्त भएकाले तत्काल यसको नियमन तथा सुधारका लागि योजना निर्माण गर्ने बताए । सहकारीले दिएको योगदानको कदर गर्दै रोजगार सिर्जना, राज्यको दायित्वलाई पुरा गर्ने मात्रै नभई पुँजी परिचालन र आर्थिक उत्पादनमा दिएको योगदानको कदर गर्ने नगर प्रमुख शाक्यले बताए ।
त्यहि क्रममा केहि सहकारीमा देखिएका समस्या समाधानका लागि सरोकारवाला निकाय र राज्यका सबै पक्षहरु उतिक्कै जिम्मेवार बन्नु पर्ने बताए । उपप्रमुख विमला सापकोटाले नगरपालिकाले शुरु गरेको सहकारीहरुको वास्तविक अवस्थालाई अध्ययन गरेर सुधार गर्ने बताईन् । बचतकर्ताहरुको बचत सुरक्षित बनाउन ऋणीहरुले ऋण तिर्ने वातावरण बनाउन नगरपालिकाले समन्वयकारी भूमिका खेल्ने सापकोटाले बताईन् । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाईले नगरपालिकाले नगर क्षेत्र भित्र रहेका सहकारीहरुको बास्तविक अवस्था पत्ता लगाउने ऐतिहासिक कार्य गरेको बताए । सहकारी शाखा प्रमुख दिनेश कुमार पोखरेलले सहकारीहरुको अवस्था एकिन भएकाले अब कार्यान्वयनमा ध्यान दिने बताए ।
८४९ वटा सहकारी अज्ञात
काभ्रेपलाञ्चोक जिल्लामा दर्ता भएका १४ सय ९५ वटा सहकारी मध्ये १३ वटा पालिकामा ६ सय ४६ वटा मात्रै संचालनमा रहेको तथ्यांक जिल्ला सहकारी संघले प्राप्त गरेको अध्यक्ष दिलिप शर्मा जंगमले बताए । ८ सय ४९ वटा सहकारीको अवस्था अज्ञात छ । कृयाशिल सहकारीमा ६ लाख ७९ हजार ८ सय १८ जना शेयर सदस्य रहेको तथ्यांक फेला प¥यो । जबकी जिल्लाको जनसंख्या ३ लाख ६४ हजार ३९ मात्रै छ । एक सहकारी एक सदस्य हुने हो भने यो संख्या नियन्त्रण हुन्छ । सदस्यको डुब्लिेकशनले पनि सहकारीमा थप समस्या देखिएको उनले बताए । कृयाशिल सहकारीमा ५ हजार ७ सय ८२ जना संचालक रहेका छन् भने २६ सय ५५ जना कर्मचारी कार्यरत छन् । जसमा १६ सय २८ जना महिला छन् । ५ अर्ब ५ करोडको शेयर पुँजी रहेको छ भने ३६ अर्बको बचत कारोवार छ । जसबाट राज्यका विभिन्न निकायमा बार्षिक २४ करोड ९१ लाख रुपैया राजश्व बुझाईएको अध्ययनले देखाएको छ ।
बनेपामा २ सय २० मध्ये १ सय २३ वटा कृयाशिल देखिए । जसमा ३ लाख १८ हजार ७ सय ३८ शेयर सदस्य छन् । जबकी बनेपाको जनसंख्या ६७ हजार मात्रै छ । १३ सय ४५ जना कर्मचारी बनेपाका सहकारीमा कार्यरत छन् । १२ वटा पालिकामा आधा र बनेपामा मात्रै आधा कर्मचारी र शेयर सदस्य छन् । बनेपामा २ अर्ब शेयर पुँजी र १९ अर्ब बचत कारोवार छ । बनेपामा रहेका सहकारीबाट मात्रै बार्षिक आयकर, ब्याज, लाभाशं, तलव लगायतको कर १४ करोड ६४ लाख राज्यका निकायमा बुझाएको छ ।

केहि सहकारीले सुधार गर्न चाहँदा चाँहदै नजानेर सुधार गर्न नसकेको बताएका छन् भने केहि सहकारीमा २० वर्षसम्म एउटै अध्यक्ष, परिवारका सदस्यहरु संचालक र कर्मचारी, विनियम फरक फरक, विनियममा केरमेट गरेको, विनियम अनुसार संचालन नभएको, लेखा सुपरिवेक्षण समिति, त्यसको गठन तथा संचालकको चयन विनियम अनुसार नभएको जस्ता समस्या देखिएका छन् । कार्यक्षेत्र भन्दा बाहिर सदस्य र कारोवार गरेको जस्ता समस्या पनि सहकारीमा देखिएका छन् । तत्काल नगरपालिकाले त्यस्ता सहकारीलाई नियमन गर्न विज्ञहरुको समुहले प्रतिवेदन मार्फत सुझाव दिएको छ । अहिले बनेपामा रहेका केहि सहकारी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दा दर्ता भएको छ ।
नगरपालिकाले सम्पति रोक्का ग¥यो
बनेपाको स्वर्णिम सहकारी र अजिमा बचतका अध्यक्षका नाममा भएको सम्पती नगरपालिकाले रोक्का राखेको छ । अजिमा बचतका अध्यक्ष निरञ्जन जस्पाउ र स्वर्णिम सहकारीका अध्यक्ष दिनेश राउतको सम्पति रोक्का राखिएको बनेपा नगरपालिकाका सहकारी शाखा प्रमुख दिनेशकुमार पोखरेलले जानकारी दिए । नगरपालिकाले मालपोत कार्यालय काभ्रेलाई पत्र लेखेर सम्पति रोक्का राख्न पठाए अनुसार सम्पति रोक्का राखेको पत्र मालपोत कार्यालय काभ्रेले नगरपालिकालाई पत्र पठाएको छ ।










प्रतिक्रिया