किष्ट अस्पतालले गर्‍यो कलेजो र मिर्गौलाको एकैसाथ प्रत्यारोपण

0
Shares

काठमाडौं ।

ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले चिकित्सा क्षेत्रमा दुर्लभ प्रत्यारोपण शल्यक्रिया गरेको छ ।  नेपालमा पहिलो पटक एक जना बिरामीको दुई महत्वपूर्ण अंगको एकै पटकमा प्रत्यारोपण शल्यक्रिया गरेको हो । अस्पतालका निर्देशक प्रा.डा सुरज बज्राचार्यले सोमबार चितवन भरतपुरकी ३४ वर्षीया महिलाको कलेजो र मिर्गौलाको प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिए ।

बिरामी महिलामा जन्मजात रोग(प्राइमरी हाइपरोक्सालुरिया) देखिएको थियो । कलेजोका कारणले दुवै मिर्गौला बिग्रिएका थिए । मिर्गौला बिग्रिएर उनले अस्पतालबाट डायलाइसिस सेवा लिइरहेकी थिइन् । कलेजोबाट निस्किएको विषाक्त रयासनका कारण मिर्गौला खराब भएको हुन पुगेको थियो । जसको कारण बिरामीको दुवै अंग एकैसाथ प्रत्यारोपण गर्नुपरेको अस्पतालले जनाएको छ ।शल्यक्रियाका लागि भारतस्थित अपोलो अस्पतालका डा. निरभ गोयल, डा.अरुणकुमार भेनुथुरिमिल्लि र डा.सञ्जीव अनेजाको सहभागिता रहेको थियो ।

यस्तै, किष्ट अस्पतालका तर्फबाट वरिष्ठ शल्यचिकित्सक प्रा.डा मुकुन्दराज जोशीको नेतृत्वमा नेपाल सरकारबाट लाइसेन्स प्राप्त डा. एकानन्द सिंह, डा.वरुण श्रेष्ठ, डा. नारायण भुसाल, डा. सन्तोष क्षेत्री, डा. कश्यप दाहाललगायत अन्य वरिष्ठ चिकित्सकहरूको सहभागिता रहेको थियो ।