स्थगित वागमती प्रदेशसभा बैठक पुनः बस्दै



हेटौंडा । विवादका बीच हिजो स्थगित भएको वागमती प्रदेशसभा बैठक आज बस्दैछ ।

प्रतिपक्षी एमालेले विरोध जनाएपछि हिजोको बैठक सभामुख भुवन पाठकले १५ मिनेटका लागि स्थगित गरेका थिए । पछि पुनः बस्न नसकेपछि मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।

प्रदेश सरकारले ल्याएको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने क्रममा प्रमुख प्रतिपक्ष दल एमालेले अवरोध गरेको हो ।

वागमती प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर मंगलबार २ बजेसम्मका लागि संसद स्थगित गरिएको जनाएको हो । सो बिधेयक गत वैशाख १२ गते संसदबाट पारित भइ प्रदेश प्रमुख कार्यालयमा गएको थियो तर प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक फिर्ता गरिदिएका थिए ।

गत जेठ ७ गते पुनः संसदमा फिर्ता भएको उक्त बिधेयकमा भएका त्रुटिहरू सच्याउन सुझाव सहित पुनः छलफलका लागि प्रदेश प्रमुख शर्माले संसदमा फिर्ता पठाएका थिए ।

तर, सोही फिर्ता भएको चिठ्ठा विधेयक सरकारले एकाएक सोमबारको बैठकमा पेश गर्न खोजे पछि हिजोको बैठकमा घम्साघम्सी भएको हो । एमालेले प्रदेश प्रमुखको सुझाव समेटेर मात्रै विधेयक संसदमा पेश गर्न भने पनि प्रदेश सरकारले जस्ताको तस्तै पुनः ल्याए पछि संसदमा घम्साघम्सी भएको हो ।

प्रतिक्रिया दिनुहोस्