डेंगु रोगमा आयुर्वेदिक उपचार


डा. रामदेव पण्डित

वर्षायामको अघि–पछि नेपालमा हरेक वर्ष डेंगुको संक्रमण फैलिन्छ र धेरै मानिसले ज्यान गुमाउने गर्दछन् । काठमाडौं उपत्यका र उपत्यकाबाहिर जिल्लाहरुमा पनि ग्रामीण स्तरसम्म डेंगुको संक्रमण फैलिएको समाचारहरु आइरहेका छन् । सरकारी आँकलन अनुसार यस वर्ष डेंगुको प्रकोप आउँदो मंसिरसम्म रहन सक्नेछ ।

आधुनिक चिकित्सा विज्ञानमा डेंगु रोगको कुनै निश्चित औषधि भएको पाइन्न । अस्पताल र डाक्टरहरुले यस रोगका रोगीहरुमा गरिरहेको भनेको लाक्षणिक चिकित्सामात्र हो । सामान्यतः यो रोग एक हप्तामा आफैं निको भएर जाने हुन्छ । एडिस एजेप्टी नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रामक रोग हो र यो विषाणु (भाइरस) को कारण हुन्छ । यो रोग लागिसकेपछि कसरी ठीक गर्ने भन्ने विषय प्राथमिकरुपमा आम चासोकोे बिषय हुन्छ । यो रोग वृद्धवृद्धा र बालबालिको लागि बढी घातक मानिन्छ ।

डेंगु रोगीलाई मेवाको पातको रस सेवन गराएर मात्र पनि प्लेटलेट्स अपेक्षितरुपमा बढाउन सकिने हुन्छ ।

डेंगु रोग लक्षणसहित र लक्षणविनाको पनि देखिन्छ । जब संक्रमण बोकेको लामखुट्टेले व्यक्तिलाई टोक्छ त्यसको ३ देखि १४ दिनभित्र डेंगु ज्वरो देखा पर्दछ । डेंगु रोगको सामान्य लक्षण भनेको जोर्नीहरुमा लठ्ठीले पिटेसरि दुखाइ हुन्छ । आँखाको गेडीको भित्री भागमा तीव्र पीडा हुन्छ । लगातार टाउको दुख्छ । पटक–पटक बान्ता हुन्छ । खानाको स्वाद आउँदैन । उच्च ज्वरो १०३ देखि १०४ डिग्री फरेनहाइटसम्म आउँछ । साथै थकान लागिरहन्छ, हाड–जोर्नी दुख्ने गर्छ र पटक–पटक पखाला लाग्छ । शरीरको कुनै पनि अंग सुन्निनु वा त्यहाँबाट रक्तश्राव हुन थाल्नु भनेको लक्षण जटिल बनेको मानिन्छ ।

डेंगु रोगीको रगत परीक्षण गर्दा प्रायः प्लेटलेट्स (एक प्रकारको रक्तकोष) को संख्या ह्वात्तै कम भएको पाइन्छ । यसले गर्दा घातक अवस्था निम्तिन सक्ने हुन्छ । प्लेटलेट्स अत्यधिक कम भएको अवस्थामा कहिलेकाहीँ रक्तश्राव भई रोगीको ज्यानै पनि जाने गर्दछ । आधुनिक चिकित्सा विज्ञानले यस रोगमा खासरुपमा कुनै औषधि दिन नसक्ने परिस्थितिमा यस रोगको लागि वैकल्पिक चिकित्सा विधिहरुको खोज गरिनु स्वाभाविक हो । डेंगु ज्वरको रुपमा डेंगु रोगको वर्णन आयुर्वेदीय ग्रन्थ माधव निदानको परिशिष्ट पाठमा बताइएको छ ।डेंगु भएर जब प्लेटलेट्सको संख्या अत्यधिक घट्छ त्यसपछि रोगीलाई सलाइनमार्फत अरुबाट झिकिएको संरक्षित प्लेटलेट्स चढाउनुको विकल्प हुँदैन आधुनिक चिकित्सा विज्ञानमा । तर आयुर्वेदिक चिकित्सा विधिमा डेंगु रोगीलाई मेवाको पातको रस सेवन गराएर मात्र पनि प्लेटलेट्स अपेक्षितरुपमा बढाउन सकिने हुन्छ ।

आयुर्वेदिक दृष्टिकोणमा मेवालाई औषधीय वनस्पतिको रुपमा उल्लेख गरेको पाइन्छ । मेवा मूलतः नेपालको वनस्पति होइन । दक्षिण अमेरिकी मुलुक ब्राजिलको मूल वनस्पति मेवालाई पोर्तुगिजहरुले भारतीय उपमहाद्विपमा भित्र्याएका हुन् । पोर्तुगिज भाषामा मेवालाई पपिता भनिन्छ, जसलाई हिन्दीमा पनि पपिता नै भन्ने गरिएको छ । ल्याटिनमा कैरिया पपाया भनिने यही पपितालाई नेपालीमा मेवा भनिन्छ । यसलाई आयुर्वेदीय ग्रन्थमा (वा संस्कृतमा) नलपर्णी वा मधुकर्कटी वा एरण्डचीरभक्त भनेर उल्लेख गरिएको छ । मेवाको पात, फल, बीउ र दूधलाई औषधिको रुपमा प्रयोग गरिन्छ ।

मेवामा ग्लुकोज, भिटामिन, खनिज लवण, स्थिर तेल, उड्डयनशील तेलहरुको अतिरिक्त मुख्यरुपमा पापेन, कैरिसिन, माइरोसिन, कार्पासेमिन, कार्पेन, कार्पोसाइड आदि चिकित्सा उपयोगी जैवरसायन पाइन्छ । मेवाको दूधमा काइमोपापेन र २० प्रतिशत पापेन पाइन्छ, जसमा खाने दूधलाई जमाउन सक्ने र प्रोटिनलाई पचाउन सक्ने अदभूत शक्ति हुन्छ । आयुर्वेदीय मान्यता अनुसार काँचो मेवा कफ र वातलाई समन (सुन्तुलन) गर्ने क्षमता हुन्छ भने पाकेको मेवामा पित्तलाई पनि समन गर्ने क्षमता हुन्छ । समग्रमा यसले शरीरको वात, पित्त र कफ तीनवटै दोषलाई समन गर्न सक्ने सामथ्र्य हुन्छ ।

मेवाको एक भाग पापेन वा काइमोपापेनले २५० भाग मासुलाई पचाउन सक्छ । एक ग्राम मेवाको दूधको पाउडरले आधा लिटर खाने दूधलाई पचाउन सक्छ । सन् २०१३ मा इभिडेन्स बेस्ड कम्प्लिमेन्टरी एन्ड अल्टर्नेटिभ मेडिसिन नामक अन्तर्राष्ट्रिय जर्नलमा मलेसियन वैज्ञानिकहरु सोबिथा सुबेन्थिरनसहितको समूहले प्रकाशित गरेको अनुसन्धानका अनुसार मेवाको पातको रसले ४८ घण्टाभित्रै डेंगु रोगीमा प्लेटलेट्सको संख्या उल्लेख्यरुपमा बढेको देखिएको छ । २२८ जना डेंगु बिरामीमा गरिएको यस अनुसन्धानले सो तथ्यको पुष्टि गरेको छ ।

डेंगु रोगीमा मेवाको ताजा पातको रस प्रतिदिन २०–४० मि.लि. दिनको दुईदेखि तीन पटकसम्म खाली पेटमा दिनु अति नै प्रभावकारी हुन्छ । मेवाको पातले प्लेटलेट्सको संख्या बढाउनुको साथै रोग–प्रतिरोधात्मक क्षमता पनि बढाउँछ भन्ने तथ्य अनुसन्धानले बताएको छ । यस अतिरिक्त तुलसी, अदुवा, अलैँची आदि राखी दुई–दुई घण्टाको अन्तरालमा चिया पकाएर पिउन सकिन्छ ।

डेंगु रोगीले सजिलैसँग पच्न सक्ने र तागतिलो खाना खानुपर्छ । अदुवा, मुंगको दाल र चामलसहितको गिलो जाउलोमा कागतीको रस राखी खानु उपयुक्त हुन्छ । पालुंगो, मेथीको साग, ब्रोकाउली, चुकन्दर, गाजर, हरियो लसुनको साग, परवर, बेथेको साग आदिमध्ये उपलब्ध भएसम्म सबै अथवा जति सकिन्छ दुई वा सोभन्दा बढी मिलाएर सूप बनाई दिनमा दुईपटक खानु राम्रो मानिन्छ । मदिराजन्य पेयपदार्थ, माछामासु, कोल्ड ड्रिंक्स र अमिलो पदार्थ खान हुँदैन । यस्तै दूध र दूधबाट बनेका खानाका परिकार सेवन गर्नुहुँदैन । मसालेदार, तारेको, भुटेको, फ्राइ गरेको, चिल्लो, पिरो, बढी नुनिलो तरकारी (सब्जी) सूप खानुहुँदैन ।

आयुर्वेदले डेंगुलाईु एउटा पृथक खालको सन्निपात ज्वर मान्दछ । कुनै पनि ज्वरोलाई ठीक पार्न आयुर्वेदमा उपवास, जठराग्नि वृद्धि र पेटमा जमेर बसेको अपक्व पदार्थको पाचनका साथै रोगीमा हल्कारुपमा पसिना पनि निकालेर व्यवस्थापन गरिन्छ । डेंगुको व्यवस्थापन पनि यही चिकित्सा सूत्रले गरिन्छ ।भारतको तमिलनाडु राज्यमा डेंगु व्यवस्थापनको लागि कालमेघ नामक वनस्पतिसँगै मेवाको प्रयोग हुन्छ भने केरला राज्यमा मेवाको विशेष रुपमा प्रयोग हुन्छ ।


डेंगुमा गर्न सकिने अन्य आयुर्वेदिक उपचार:

१. ज्वरोको शान्तिको लागि गुर्जोको लहरा वा धनियाँको पात वा मेथीको दाना नियमितरुपमा सेवन गर्नुपर्छ ।
२. अमला भिटामिन “सी’को उत्तम स्रोत मानिन्छ । भिटामिन “सी’को पर्याप्त मात्रामा आपूर्ति गराउनको लागि पटक–पटक अमलाको सेवन गर्न सकिन्छ । भिटामिन “सी’ले आइरनको अवशोषणमा सहयोग गर्दछ ।
३. रोग–प्रतिरोधात्मक क्षमता बढाउनका लागि
च्यवनप्रास खान सकिन्छ । साथै तुलसी–पानी पकाएर पटक–पटक खान सकिन्छ । १० देखि १५ वटा तुलसीको पात दैनिकरुपमा खाली पेटमा चपाएर खाँदा पनि रोग–प्रतिरोधात्मक क्षमता बढ्छ ।
४. पाचन प्रणालीबाट वा रगतबाट टक्सिनको सफाइ गर्न पुननर्वाको सेवन गराउन सकिन्छ । टक्सिनको सफाइ गर्नमा पुननर्वा उत्तम जडीबुटी मानिन्छ ।
५. डेंगु ज्वरोलाई नियन्त्रण गर्न धतुरो अति नै शक्तिशाली जडीबुटी मानिन्छ । तर यसलाई चिकित्सकको सल्लाह लिएर सचेतरुपमा मात्र प्रयोग गर्न सकिन्छ ।
६. रक्तकोषहरुको वृद्धिका लागि अनार र कालो अंगुरको सेवन गर्न सकिन्छ ।
आयुर्वेद चिकित्सा विधि फरक चिकित्सा हो । एउटा व्यक्तिमा निकै प्रभावकारी देखिएको आयुर्वेदिक औषधि र विधि अर्को व्यक्तिमा त्यति नै प्रभावकारी नहुन सक्छ । त्यस अवस्थामा युक्तिपूर्वक विकल्पहरुको प्रयोग गनुपर्ने हुन्छ ।
डेंगु रोगमा रोगी र रोगीको अन्य धेरै पक्षलाई विचार पु¥याएर मात्र आयुर्वेद विधिद्वारा युक्तिपूर्वक संवेदनशील चिकित्सा गरिन्छ । अतः आधिकारिक व्यक्तिको परामर्शविना डेंगु ज्वरको स्वैच्छिक चिकित्सा गर्न खोज्नु घातक पनि हुन सक्छ ।