बुद्धजयन्तीमा लुम्बिनीमा देखिएन रौनक, सभामुख र पर्यटनमन्त्री नबोली फर्किए 

प्रधानमन्त्री नआएकोले स्थानीय निराश

0
Shares

बुटवल। 

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित २५ सय ७० औ  बुद्ध जयन्ती कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह नआएको र आएका सभामुख र पर्यटन मन्त्री  पनि सार्वजनिक रुपमा मन्तव्य नदिई फर्किएकोमा बुद्ध जयन्ती समारोहमा सहभागीहरुले खल्लो भएको  सुनाएका छन् ।  त्यसमाथि वर्षाका कारण समेत कार्यक्रम प्रभावित हुँदा  बुद्ध जयन्तीको यस वर्ष रौनक देखिएन ।  कार्यक्रम  खल्लो भएपछि सरोकार वाला र स्थानीय बासिन्दा निराश बनेका थिए । 

 विगतका बुद्ध जयन्ती सम्मरोहमा प्रधानमन्त्री आउने र सम्बोधन गर्ने प्रचलन थियो ।तर झन्डै दुई तिहाइ बहुमतको बलियो सरकारका प्रधानमन्त्री बालेन्द्र शाह यसपटक के कारणले न आएका हुन्  भन्ने स्पष्ट भएको छैन ।  प्रधानमन्त्री न आउने निर्णयले समेत बुद्ध जयन्तीका दिन भक्तजन र पर्यटक आगमन निकै कम भएको स्थानीय कृष्ण गुरुङले यसरी सुनाउनु भयो।

बुद्ध जयन्तीमा प्रधानमन्त्री न आउनु गलत भएको चर्चित पत्रकार ऋषि धमलाले गुनासो गर्नु भयो । उहाँले प्रधानमन्त्री बालेन् लुम्बिनी न आएकोमा आक्रोश समेत व्यक्त गर्नु भयो । 

मायादेवी मन्दिर परिसरमा शुक्रवार २५७० औँ बुद्धजयन्ती  पूजा आजा  गरी मनाइएको छ । लुम्विनी विकास कोषले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्विनीमा विहानैदेखि कार्यक्रम आयोजना गरेको हो ।  सुरुमा ५ बजे नै गर्ने भनिएको कार्यक्रम वर्षाले प्रभावित भएपछि ८ बजे सुरु भएको थियो । भक्तजन र पर्यटकहरु छाता ओढेर मायादेवी मन्दिर आएका थिए । सभामुख डीपी अर्याल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेल लामो पूजामा सहभागी हुँदा सर्वसाधारण ले पालो पाउँन धेरै बेर  कुर्नु परेको थियो । 

पूजामा  सहभागी हुनु भएका सभामुख अर्याल र  मन्त्री पौडेलले बुद्ध जयन्तीका अवसरमा सार्वजनिक मन्तव्य दिने धेरैको अपेक्षा रहेपनि दुवै जना नबोली फकिनु भयो । राष्ट्रिय स्तरको महत्वपुर्ण कार्यक्रममा न बोल्नुको अर्थ अहिलेको संघीय  सरकारले  लुम्बिनीलाई अपेक्षा गरेको रूपमा सरोकारवालाले  महसुस गरेका छन्।  सभामुख र मन्त्री लगायत रास्वपाका आधा दर्जन सांसदहरुको  लुम्बिनीमा लर्को लागेको थियो ।

  हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन शान्तिका अग्रदूत गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको दिनमा  बुद्धजयन्ती मनाउने गरिन्छ । गौतमबुद्धको जन्म, बोधि प्राप्ति र महापरिनिर्वाण पनि वैशाख पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले विशेष दिनका रूपमा मनाउने गर्छन् । बुद्ध जयन्तीमा लुम्बिनीमा भिक्षु, भिक्षुणी, डोल्मासर लगायत श्रद्धालु भक्तजनहरु सहभागी भएका छन् ।  बौद्ध धर्मावलम्बीहरूले दान, ध्यान, प्रवचन लगायतका कार्य गरी बुद्ध जयन्ती मनाउने गर्छन् । तत्कालीन राजा शुद्धोदन र रानी मायादेवीको पुत्रका रूपमा जन्मेका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा दरबार त्याग गरी ज्ञानको खोजीमा निस्किएका थिए ।