ओखलढुङ्गा।
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ओखलढुङ्गामा श्रमिकहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन् । पेशागत महासंघ नेपाल र स्थानीय सरोकारवालाहरूको सक्रियतामा श्रमिकहरूको श्रमको कदर गर्दै नगद, प्रमाणपत्र र फलफूल वितरण गरिएको हो।
असंगठित क्षेत्रका श्रमिकलाई सम्मान पेशागत महासंघ नेपालले आयोजना गरेको ‘श्रमिक सम्मान कार्यक्रम’ मा असंगठित क्षेत्रमा कार्यरत दुई जना अनुशासित र मेहनती श्रमिकहरू गोरख राई र हिरा गिरीलाई विशेष सम्मान गरिएको छ। उहाँहरूलाई उहाँहरूको कार्यको उच्च मूल्याङ्कन गर्दै नगद पुरस्कार र प्रशंसा-पत्र प्रदान गरिएको थियो।
दिवसकै अवसरमा ओखलढुङ्गा-रामपुर सडक खण्ड अन्तर्गत पहिरे खोलामा निर्माणाधीन पक्की पुलमा कार्यरत श्रमिकहरूलाई पनि सम्मान गरिएको छ। विकास निर्माणमा अहोरात्र खटिने मजदुरहरूको मनोबल बढाउन आयोजक टोलीले निर्माण स्थलमै पुगेर श्रमिकहरूलाई सम्मान गर्नुका साथै फलफूल वितरण गरेको संविधानसभा सदस्य तथा एमाले नेता यज्ञराज सुनुवारले बताए ।
नेता सुनुवारले श्रमशक्तिको विकासले मात्रै देश समृद्ध बन्ने बताए । उनले भने- “श्रम र श्रमिकको वास्तविक सम्मानबाट मात्रै मुलुक समृद्ध बन्न सक्छ। श्रम शक्तिको उचित विकास र श्रमको सही मूल्य भुक्तानी हुनु नै ‘समृद्ध नेपाल’ निर्माणको आधारशिला हो।”
रोजगारदाता र श्रमिकबीचको सुमधुर सम्बन्धले मात्र औद्योगिक र पूर्वाधार विकास सम्भव हुने भएकाले सबै पक्षले श्रमिकको हकहितमा संवेदनशील हुनुपर्नेमासयनयवारले जोड दिए ।
यस वर्षको मे दिवसले ओखलढुङ्गामा केवल औपचारिक भाषणमा मात्र सीमित नरही, फिल्डमै खटिएका मजदुरहरूको हातसम्म पुगेर उनीहरूको श्रमको कदर गरेको सन्देश प्रवाह गरेको अनेरास्ववियुका सचिव गोपाल नेपालको भनाइ छ। कार्यक्रममा पेशागत संघ-संगठनका पदाधिकारी र स्थानीय मजदुरहरूको बाक्लो उपस्थिति रहेको थियो।











प्रतिक्रिया