ज्येष्ठ नागरिकहरुलाई नि:शुल्क एम्बुलेन्सको व्यवस्था



लमजुङ ।

मर्स्याङदी गाउँपालिकाले पालिका अन्र्तगतका ज्येष्ठ नागरिकहरुलाई नि:शुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम अनुसार ज्येष्ठ नागरिकहरुलाई नि:शुल्क एम्बुलेन्स सेवाको व्यवस्था गर्ने भएको हो ।

गाउँपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई उपचारका निम्ति जिल्ला अस्पताल सम्म आउनका लागि नि:शुल्क एम्बुलेन्स सेवाको व्यवस्था गर्न लागिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।

आर्थिक अवस्था कम्जोर भएका ज्येष्ठ नागरिकहरुलाई सहज हुने र सजिलोसँग अस्पताल आउन सक्ने भएकाले नि:शुल्क एम्बुलेन्स सेवाको व्यवस्था गर्न लागिएको अध्यक्ष गुरुङको भनाई छ ।

गाउँपालिकाका विभिन्न भुभागहरु भौगोलिक रुपमा विकट रहेको र छिटो छरितो रुपमा स्वास्थ्य सेवाको पहुँच पुर्याउनका लागि नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएकोे हो । आधारभूत स्वास्थ्य सुविधा पाउने भए पछि ज्येष्ठ नागरिकहरुमा उत्साह थपेको अध्यक्ष गुरुङले बताए ।

घरमा साहारा नपाएर आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित, असहाय, स्वास्थ्य संस्थाको पहुँचमा नपुगेका ज्येष्ठ नागरिकका लागि कार्यक्रम प्रभावकारी बन्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत तारा बहादुर तामाङको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्