ज्येष्ठ नागरिकको तस्वीर हनुमानढोकामा प्रदर्शनी गरिने

0
Shares

हेटौंडा । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आगामी शनिबार राजधानीको हनुमानढोका डबलीमा ज्येष्ठ नागरिकको तस्वीर प्रदर्शनी गरिने भएको छ।

सबै पुस्ताका लागि ज्येष्ठ नागरिकको मानवअधिकारबारे विश्वव्यापी घोषणामा गरिएका वाचाहरू पूरा गरौं भन्ने नाराका साथ राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपालको आयोजनामा नेपालका हिमाल, पहाड र तराईका ज्येष्ठ नागरिकका तस्वीर प्रदर्शनी गरिने कार्यक्रम संयोजक मकवानपुरका फोटो पत्रकार गणेश विष्टले जानकारी गराए।

प्रदर्शनीका लागि देशभरका फोटो पत्रकारले खिचेका तस्वीर पठाउन आह्वान गर्ने र प्राप्त भएका तस्वीरमध्ये करिब सयवटा तस्वीर प्रदर्शन गरिने कार्यक्रम संयोजक विष्टले बताए। हाल विश्वमा ज्येष्ठ नागरिकको संख्या बढिरहेको अवस्थामा उनीहरूको सक्रिय जीवनशैलीलाई तस्वीरमा उतारेर प्रदर्शनीमा प्रस्तुत गरिनेछ। ज्येष्ठ नागरिकको दैनिकी, मेहनत, सफलता, पारिवारिक खुसी, संघर्ष तथा सफलता झल्कने तस्वीर प्रदर्शनीमा राखिनेछ। प्रदर्शनीमा राखिने तस्वीरले हालको पुस्तालाई उत्साह, उमंग र जा“गर बढाउन मद्दत गर्ने आयोजकले अपेक्षा गरेका छन्।

तस्वीर प्रदर्शनीले देशका विभिन्न स्थानका ज्येष्ठ नागरिकको अवस्था अध्ययन र उनीहरूको नैराश्यता र दुःखीपन कम गर्न सहयोग गर्ने कार्यक्रम संयोजक विष्टले बताए।