प्राडा सुरेशराज शर्मालाई ३ लाख राशीको पद्मश्री गौरव पुरस्कार



काठमाडौं । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शिक्षाका धरोहर प्राडा सुरेशराज शर्मालाई पद्मश्री श्री गौरव पुरस्कार २०७९ द्वारा पुरस्कृत गरिने भएको छ ।

उक्त निर्णय खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले गरेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

पुरस्कार तीनवटा विधा पद्मश्री साहित्य, पद्मश्री साधना र पद्मश्री गौरव पुरस्कार रहेका छन् ।

विक्रम संवत् २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले छनोट गरेका उत्कृष्ट पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ ।

त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने विशिष्ट साधकलाई पद्मश्री साधना सम्मान गर्दै आएको छ ।

गत वर्षदेखि प्रतिष्ठानले समाजलाई गौरवपूर्ण योगदान दिनुहुने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कारद्वारा सम्मान गर्ने भएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा निर्णायक समितिको निर्णय गरेबमोजिम विक्रम संवत् २०७९ को पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास मनुलाई अर्पण गर्ने निर्णय गरिएको छ ।

मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो । मूलपात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ ।

प्राप्त १८० पुस्तकमध्येबाट छनोट प्रक्रियाको पहिलो चरण (विस्तारित सूची)मा पन्ध्र र दोस्रो चरण (संक्षिप्त सूची)मा पाँच पुस्तक सार्वजनिक भएका थिए ।

यसैगरी पद्मश्री साधना सम्मान बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महत्वपूर्ण योगदान दिनुहुने कलाकार दुर्गा बराल (वात्स्यायन)लाई अर्पण गर्ने निर्णय गरिएको छ ।

उहाँले नेपाली कार्टुनलाई नयाँ शैली तथा कलात्मक र धारिलो व्यङ्यका माध्यमबाट नवीन दिशा दिँदै आउनुभएको छ । नेपाली चित्रकलामा पनि उहाँको योगदान विशिष्ट रहेको छ ।

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन वटैको राशि तीन लाख रहेको छ ।

उक्त पुरस्कार कोजागत पूर्णिमाका दिन प्रदान गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्