प्रथम महिला चलचित्र पत्रकार शशीकला र प्रथम महिला निर्देशक सुचित्रा सम्मानित



हिन्दू नारीहरूको पर्व तीजको अवसरमा चलचित्र पत्रकार संघ नेपालको महिला विभागले तीज उत्सव तथा सम्मान कार्यक्रम २०८० आयोजना गरी दुईजनालाई सम्मान गरेको छ।

राजधानीमा सम्पन्न समारोहमा प्रथम महिला चलचित्र पत्रकार शशीकला मानन्धर र चलचित्र पत्रकार तथा प्रथम महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठलाई सम्मान गरिएको हो। समारोहमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि वसुन्धरा भुसालले शशीकला र सुचित्राले गरेको कार्यको चर्चा गर्दै उनीहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताइन्।

संघका अध्यक्ष समीर बलामीले महिला विभाग प्रमुख दीपज्योति थापाको योजनामा आयोजित सम्मान कार्यक्रम प्रशंसायोग्य रहेको बताए। कार्यक्रममा प्रथम महिला चलचित्र पत्रकार शशीकला मानन्धरले २०४३ सालमा नेपाल समाचारपत्रको सह प्रकाशन कामना सिने मासिकमार्फत चलचित्र पत्रकारितामा संलग्न भएको स्मरण गरिन्। ‘नेवारी भाषाको पत्रिकामा नेवारी फिल्म शिलुको समाचार लेखेको थिएँ। कामनाका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले त्यो समाचार पढ्नुभएको रहेछ। त्यसपछि तिमी त राम्रो लेख्दोरहेछौ कामनाको लागि पनि लेख्नुप¥यो भन्नुभयो। यसरी पुष्कर सरकै कारण चलचित्र पत्रकारितामा लागेकी मैले करिब एक दशक कामनामा काम गरेँ’ शशिकलाले सुनाइन्। शशिकलाले तालिमको सिलसिलामा भारत जाँदा ज्याकी श्राफ, डेनी डेनजोङपा, उदित नारायण झालगायतसँग अन्तर्वार्तँ लिएर हुलाकमार्फत् फोटो र समाचार पठाएको पुरानो जमानाको स्मरण पनि सुनाइन्।

कार्यक्रममा चलचित्र पत्रकार तथा प्रथम महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठले महिला पुरुष दुवैले जुनसुकै क्षेत्रमा बराबरी क्षमताका साथ काम गर्न सक्ने चर्चा गरिन्। ‘महिलाले गरेको काममा महिला भएर पनि यस्तो काम ग¥यो भनेको सुनिन्छ। महिलाले गरेका कार्यमा महिला भएर पनि भन्ने जोडिएर आउने गरेको, तर महिलाले गरेको कामको पछि पनि भन्ने शब्द जोड्नु आवश्यक छैन। किनभने कामको कुनै जेन्डर हुँदैन’ सुचित्राको भनाइ थियो। महिला विभाग प्रमुख दीपज्योति थापाले चलचित्र पत्रकारिता र निर्देशनको क्षेत्रमा शशीकला र सुचित्राले कोरेको पाइलामा आफूहरू अगाडि बढिरहेको चर्चा गर्दै उनीहरूको योगदानको कदरस्वरूप सम्मान प्रदान गरेको बताइन्।

प्रतिक्रिया दिनुहोस्