वागमती प्रदेश सरकारद्वारा निर्मित आधुनिक बसपार्क उदघाटन



सिन्धुली । सिन्धुलीको भिमानमा निर्माण भएको आधुनिक बसपार्क आज (बुधबार) उद्घाटन गरिएको छ ।

वागमती प्रदेश सरकारको लगानीमा विपी राजमार्ग र मदन भण्डारी राजमार्गको मिलनविन्दु कमलामाई नगरपालिका–९ भिमानमा निर्माण भएको बसपार्कको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उदघाटन गर्नुभएको हो ।

वागमती प्रदेश सरकारको कुल ४ करोड २६ लाख ४१ हजार ४ सय रुपियाँ लागतमा भिमानमा बसपार्क निर्माण भएको शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख इन्जिनियर दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

बसपार्क निर्माणको ठेक्का पाएको विकास एण्ड ब्रदर्श आत्रेय श्रीकृष्ण जेभीले २०७७ सालको फागुन २४ गतेबाट निर्माण कार्य शुरू गरेर २०७८ फाल्गुन १० सकाएको शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख इन्जिनियर घिमिरेले बताउनुभयो ।

बसपार्कमा साना ठूला गरी एक सय भन्दाबढी सवारी साधन अटाउने सक्ने क्षमता रहेको प्रमुख घिमिरले बताउनुभयो । प्रमुख घिमिरेका अनुसार बसर्पाकभित्र बस टर्मिनल, बस रोकेर राख्ने हेङगर, यात्रु प्रतिक्षालय, सोलार बत्ती, टिकट काउण्टर सहितको ३ तलाको कार्यालय भवन, सवारी साधन मर्मत गर्ने ठाउँ, मठमन्दिर र शौचालय निर्माण भएको छ ।

विशेष गरी बिपी राजमार्ग र निर्माणाधीन मदन भण्डारी राजमार्गमा गुड्ने सवारी साधनहरूलाई पार्किङ सुविधा दिनका लागि वागमती प्रदेश सरकारले भिमानमा बसपार्क निर्माण गरेको हो । बसपार्कको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आधुनिक बसपार्क निर्माण भएपछि सिन्धुली बजार पछिको बैकल्पिक बजारको रुपमा भिमान बजारको विकास हुँदै जाने बताउनुभयो । प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) बागमती प्रदेशसभा सदस्य हुँदा उहाँकै पहलमा भिमान बसपार्क निर्माणको लागि बजेट विनियोजन गरिएको थियो ।

बसपार्क उदघाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य दाहालले भिमानलाई सहरीकरण गर्न बसपार्क निर्माणले पहिलो खुड्किलो तयार भएको बताउनुभयो । कार्यक्रममा बोल्दै अर्का प्रतिनिधिसभा सदस्य श्याम कुमार घिमिरेले सबै पक्ष मिलेर बसपार्कलाई व्यवस्थित रुपमा संचालन गर्नुपर्ने धारणा राख्नुभयो ।

वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले चालु आर्थिक बर्षमै भिमानमा अत्याधुनिक सुरक्षा जाँच चौकी निर्माणको लागि बजेट छुट्याएको बताउनुभयो । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा, उपप्रमुख शान्ता कार्की, कमलामाई नगरपालिकाको विभिन्न वडाअध्यक्षहरु सिन्धुलीका प्रहरी उपरिक्षक राजकुमार सिलवाल, स्थानिय नागरिक लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्