वागमती प्रदेशसभा बैठकअघि सर्वदलीय बैठक बस्दै



हेटौडा । वागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ ।

आइतबारका लागि बोलाइएको प्रदेशसभा बैठक चल्ने अवस्था नदेखेपछि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाएका हुन् ।

सभामुख पाठकले बोलाएको सर्वदलीय बैठक आइतबार बिहान १० बजे बस्नेछ । सो बैठक प्रदेश सचिवालय भवनमा बोलाइएको छ ।  गत भदौं १८ गतेदेखि बैठक बस्न नसकी तीन तीन पटक सारिएको छ ।

उक्त बैठकमा सहमति कायम गरी पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहान ११ बजेदेखि प्रदेशसभा बैठक सुचारू गर्ने योजना रहेको छ ।

चालु आर्थिक वर्ष २०८०÷८१ को बजेट पारित गर्दाको समयमा प्रतिपक्षी दलहरूसँग गरेको सहमति सरकारले कार्यान्वयन नगरेपछि प्रदेशसभा सञ्चालनमा एमाले र राप्रपाले असहमति जाहेर गर्दै आइरहेका छन्  ।

सो बेला भएको सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएसँगै बैठक प्रभावित बनेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्