त्रिविकै कारण एकीकृत क्यालेन्डर लागु हुन कठिन



–विश्वविद्यालय अनुदान आयोग भन्छ : प्रतिबद्धता कार्यान्वयन हुनुपर्छ
–आईओईका सबै तहका आजबाट हुने परीक्षाहरू स्थगित, प्रवेश परीक्षा अनिश्चित

काठमाडौं । इन्जिनिरिङ अध्ययन संस्थानको शुल्क विवाद आन्दोलनका कारण विश्वविद्यालयले सार्वजनिक गरेको शैक्षिक क्यालेन्डर लागु हुन कठिन देखिएको छ । यो महिनाबाट लागु भएको क्यालेन्डर कार्यान्वयनमा आउन नपाउँदै त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान(आईओई) ले उल्लंघन गरेपछि समस्या देखिएको छ ।

क्यालेन्डर तयार गर्नुअघि सबै विश्वविद्यालयले क्यालेन्डर लागु गर्ने प्रतिबद्धता जनाएका थिए । आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्ने मामलामा त्रिवि चुकेको छ । आईओईले शुल्क वृद्धि गरेको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आन्दोलन जारी राखेका छन् । आन्दोलनको कारण आज आइतबारदेखि सञ्चालन हुने सबै सेमेस्टरको परीक्षा स्थगित भएको छ भने २५ गतेबाट हुने प्रवेश परीक्षा कहिले हुने अन्योल देखिएको छ ।

आन्दोलनका कारण आजबाट शुरू हुने परीक्षाहरू २२ गतेबाट हुने भएको छ । आईओई पनिकाले जारी गरेको सूचनामा पहिलो सेमेस्टरको २५, दोस्रोको २४, तेस्रोको २२ र चौथोको २५ गते तय भएको छ । आईओईले २५ गते प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको थियो । ‘सेमेस्टरको परीक्षा हुने भएपछि प्रवेश परीक्षा कहिले गर्ने ? भन्ने विषयमा निर्णय हुन बाँकी रहेको आईओई स्ववियु कोषाध्यक्ष दीपसागर ज्ञवालीले बताउनुभयो ।

उहाँले आयोगले सार्वजनिक गरेको क्यालेन्डरलाई असर नपर्ने गरी परीक्षा सञ्चालन गर्न आग्रह गरिसकेको बताउनुभयो । आईओइकै कारण क्यालेन्डर कार्यान्वयन हुन चुनौती भएको छ । आयोगले भदौ १ गतेबाट १३ विश्वविद्यालयमा एकीकृत शैक्षिक क्यालेन्डर लागु भएको जनाएको थियो । आयोगले राजनीतिक प्रतिबद्धता नभएसम्म पूर्ण रूपमा क्यालेन्डरले तोेकेको मिति कार्यान्वयन हुन नसक्ने जनाएको छ । आयोगका अध्यक्ष देवराज घिमिरेले विश्वविद्यालयका पदाधिकारी, स्ववियु, विद्यार्थी संघ संगठन र राजनीतिक पार्टीको प्रतिबद्धता नआएसम्म क्यालेन्डर कार्यान्वयन हुन कठिन हुने बताउनुभयो ।

तर सबै विश्वविद्यालयले क्यालेन्डर पालना गर्ने प्रतिबद्धता जनाएका छन् । सबैभन्दा ढिलो परीक्षा लिने निकाय राष्ट्रिय चिकित्सा शिक्षा आयोगले समयमै सबै परीक्षा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । आयोगले सबै कार्यक्रमका लागि साउनमै सेल्फ एप्राइजल गरी माघ चौथो हप्ताबाट कक्षा शुरू गर्ने जनाइसकेको छ । अन्य विश्वविद्यालयले क्यालेन्डरअनुसार अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

तर, नेतृत्वको इच्छाशक्ति र प्रतिबद्धता, राजनीतिक अस्थिरता र विद्यार्थीको बन्द हड्ताल, पदाधिकारी नियुक्तिमा हुने ढिलाइ, उच्चशैक्षिक संस्थाहरूमा जिम्मेवार व्यक्तिहरूबीच, क्यालेन्डरको महत्व र यसले पार्ने प्रभावको विषयमा छलफल हुने नगरेको कारण क्यालेन्डर लागु हुनेमा आशंका देखिएको छ ।

त्यस्तै परीक्षा सञ्चालन र परीक्षाफल प्रकाशन गर्न सूचना प्रविधिको न्यून प्रयोग, परम्परागत प्रणालीबाट परीक्षा सञ्चालनको कारणले गर्दा पनि परीक्षाफल प्रकाशन गर्न ढिलाई हुने गरेको आयोगको ठहर छ ।

आयोगले सबै विश्वविद्यालयलाई क्यालेन्डरमा सेमेस्टर शुरू हुने, सेमेस्टर समयको बिदाहरू, समेस्टर समाप्तिको मिति, मध्यावधि परीक्षा हप्ता, अन्तिम परीक्षा हप्ता र परीक्षाफलसम्बन्धी सूचना र ट्रान्सकिप्ट जारी हुने मिति स्पष्ट तय गर्न निर्देशन दिएको थियो । सबै विश्वविद्यालयका उपकुलपतिले क्यालेन्डर लागु गर्ने प्रतिबद्धता जनाएपछि आयोगले क्यालेन्डर प्रकाशित गरेको थियो ।

लागु भएको क्यालेन्डरमा स्तातक तहको पहिलो समेस्टरले भदौको पहिलो साता आवेदन दिनुपर्ने, असोज महिनाभित्र प्रवेश परीक्षा सञ्चालन गर्नुपर्ने, कार्तिक दोस्रो हप्ताभित्र भर्ना शुरू, ढिलोमा मंसिर पहिलो हप्ताभित्र पढाइ शुरू गर्नुपर्ने, फागुन अन्तिमभित्र पढाइ सक्नुपर्ने र चैतमा अन्तिम परीक्षा सकेर जेठ अन्तिमसम्ममा परीक्षाफल प्रकाशित गरिसक्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्