‘प्रतिपक्षी दलमा धाँजा फाटेर विस्फोट हुने अवस्था छ’ : प्रधानमन्त्री प्रचण्ड

समाजवादी मोर्चाको सुर्खेतमा सन्देश सभा



सुर्खेत  । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा एमाले प्रति संकेत गर्दै प्रतिपक्षी दलमा धाँजा फाटेर विस्फोट हुने अवस्थामा रहेको बताउनुभएको छ । बिहीबार सुर्खेतमा समाजवादी मोर्चाले आयषेजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै समाजवादी मोर्चाका नेता समेत रहेका दाहालले यस्तो बताउनुभएको हो ।

सरकारबाट बाहिर रहेनुपर्दा नेता र कार्यकर्तामा हैरानी भइरहेको टिप्पणी गर्दै उहाँले प्रतिपक्षभित्र नेता र कार्यकर्तामा चरम असन्तुष्टि रहेको र त्यो बाहिर आउने अवस्थामा पुगेको बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो– ‘म अहिले नाम लिएर धेरै भन्दिनँ, आफूलाई धेरै ठूलो पार्टी भन्ने हाम्रा प्रतिपक्षभित्र यति ठूलो धाँजा परेको छ, नेताहरूको विशाल पंक्ति, कार्यकर्ताहरूको विशाल पंक्ति हैरान–परेशान भएर कहीँ न कहीँ विस्फोट हुने परिस्थितिमा पुगेको छ ।’

एमालेभित्रको विवाद सार्वजनिक भएर विभाजन भएमा कम्युनिस्ट आन्दोलन नयाँ शिराबाट ध्रुवीकृत हुने विश्वास व्यक्त गर्दै यस अघि उहाँले थप्नुभयो–‘त्यहाँबाट फेरि कम्युनिस्ट आन्दोलन नयाँ शिराबाट ध्रुवीकृत हुनेछ भन्ने विश्वास छ । समाजवादी मोर्चा हुँदै कम्युनिष्ट एकताको सन्देश यहाबाटै दिन चाहान्छु ।’ समाजवादी मोर्चाले बर्खायाम सकिएपछि जनतालाई भ्रष्टाचारविरुद्ध, सुशासन, जनजिवीका, राष्ट्रियता, न्यायका पक्षमा सडकमा उतार्ने समेत दाहालले बताउनुभयो । समाजवादी मोर्चा बनेदेखि नै भत्काउन सकिन्छ कि भनेर अनेक प्रयत्न भएको दाबी गर्दै उहाँले सत्तारुढ दल कांग्रेस र समाजवादी मोर्चामा आबद्ध राजनीतिक दलहरू सँगसँगै रहेको जिकीर गर्नुभयो ।

गणतन्त्र र परिवर्तनको पक्षमा अहिलेको सत्तारुढ गठबन्धन प्रतिबद्ध रहेको दाहालको भनाइ छ । समाजबादी मोर्चा नेपालको कम्यूनिष्ट आन्दोलनको एकता भएको भन्दै उहाँले देशमा सुसाशन र समाजवादको कुरामा यो मार्चा सधै एकैठाउँमा हुने विश्वास व्यक्त गर्नुभयो । ‘यसलाई धेरै समय निरन्तरता दिन्छौँ । अब बाँकि जिवन देश र जताको पक्षमा रहेर काम गर्ने मेरो संकल्प छ ।’ दाहालले भन्नुभयो ।

त्यस्तै मोर्चामा आवद्ध नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पुष्पकमल दाहाल नेतृत्वको सरकार कुनै देशी विदेशी शक्तिले ढाल्न नसक्ने बताउनुभयो । समाजवादी मोर्चाका संयोजकसमेत रहेका नेपालले सन्देश सभालाई सम्बोधन गर्दै भन्नुभयो–‘यो सरकारलाई देशी, विदेशी कुनै शक्तिले हल्लाउन सक्दैन । यो सरकार कहिले ढल्ने हो भन्ने चिन्ता छ भने त्यसबाट मुक्त हुनुस् । कसैलाई ढलोस् भन्ने लागेको छ भने असिन–पसिन हुन दिनुस् । हामीले यो सरकार राम्रो उद्देश्यका निम्ति बनाएका छौं ।’

सरकारमा रहेका कम्युनिस्ट धारका दलहरूको मोर्चा हुँदा सत्तारुढ कांग्रेस रुष्ट हुन्छ कि भन्नेहरू पनि रहेको तर त्यो सही नभएको बताउनुभयो । ‘कसै–कसैलाई एकता पचेको छैन । एकताभन्दा सबैले राम्रो मान्नुपर्ने हो । एकातिर मोर्चा छ, अर्कोतिर गठबन्धन भन्ने छन् । गठबन्धनका कम्युनिस्ट मिलेर मोर्चा बनाएकाले कांग्रेसको मनमा चिसो पस्यो कि भन्नेहरू पनि छन्, त्यस्तो केही छैन् । सत्तारुढ गठबन्धनमा रहेका सबै एक ठाउँमा छौं ।’ नेपालले भन्नुभयो ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चाले समाजवाद ल्याउने भन्दै अमेरिकी सहयोग परियोजना एमसिसी नेपालको हितमा नरहेको टिप्णी गर्नुभयो । एमसीसी कार्यन्वायनको विषयमा असन्तुष्टी जनाउदै मोर्चाको कार्यक्रममा नजाने बताउनुभएका विप्लवले मोर्चाकै सभामार्फ अमेरिकाले अनुदानका नाममा नेपालमाथि हस्तक्षेप बढेको जिकीर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्