कोशीका मुख्यमन्त्रीले लिएको ‘विश्वासको मत’बारे सर्वोच्चमा अन्तिम सुनुवाइ हुँदै



काठमाडौं । कोशी प्रदेश सरकारबारे आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजवाट सर्वोच्चमा अन्तिम सुनुवाइ हुन लागेको हो ।

मुख्यमन्त्री थापाले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिएपछि नेकपा (एमाले)ले सो कार्य गैर संवैधानिक भन्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले आजवाट अन्तिम सुनुवाइ सुरु गर्न लागेको हो । उक्त रिटमाथि शुक्रबार पूर्ण सुनुवाइ गर्ने गरी यसअघि नै पेसी तोकिएको थियो।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पूर्व मुख्यमन्त्री तथा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । जसकाकारण सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कुनै पनि महत्वपुर्ण निर्णय गर्न नपाउने गरी कामचलाउको अवस्थामा छ।

कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए। उनले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुुन् ।

प्रतिक्रिया दिनुहोस्