पुस्तक चर्चा- एउटा मान्छे हराए सिङ्गो पृथ्वी हराउँछ



कविता एउटा त्यस्तो हतियार हो जसले हृदयलाई शब्दको हेमलक पिलाउँछ । कविता नै त्यस्तो साधन हो जसले जीवनको अन्तिम विन्दुको समीप बसेर श्वास फेरिरहेको मान्छेलाई समेत चरम आनन्दी दिन्छ । कविताभित्र के हुँदैन र ? कविताभित्र के अटाउँदैन होला र ? कविता नै एउटा त्यस्तो सुखानन्द प्राप्त गर्ने साधन हो जहाँ हृदय दुखेको औषधि भेटिन्छ, जहाँ इतिहासको नालिबेली भेटिन्छ, जहाँ वैद्यको औषधि, कालिगढको सीप, राजाको राज्य, आमाको समर्पण, पिताको भरोसा, माटोको सुगन्ध, देशको महत्व, प्रेमिकाको प्रेम सबै कुराहरू भेटिन्छन् । कविता त हरकसैका जीवनमा हुन्छन् । शब्दमा उतार हुने कविता र दृष्टान्तका कविता सबैले बुन्न कहाँ सक्छन् र ? सीप त हातमा हुने हो तर पनि कालिगढको हात रङ्गीन हुँदैन, तथापि उसै कालिगढले बनाएको घरको झ्याल वर्षौंसम्म रङ्गीन हुन्छ । यस्तै हो कवि र कवि जीवनमा ।

मलाई लाग्छ, कवि चन्द्र गुरुङभित्र कविताको एउटा त्यस्तो मुहान छ, जुन पानीको धाराको जस्तै । त्यो पनि गाउँतिर, अलिकति लेकाली भूभागतिर । जुन पानी मुहानैदेखि गर्मीमा चिसो र हिउँदमा तातो बनेर आउँछ । कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ भित्र पनि यस्तै छ । यस सङ्ग्रहलाई जसरी पढ्ने हो, जति दृष्टिकोणबाट पढ्ने, त्यत्ति नै रोचक अर्थ प्रवाहित भइरहेछ । यो भन्दा उत्कृष्ट अर्को विषय के हो भने, कवितामा स–साना कुराले राख्ने महत्वलाई कविले राम्रैसँग केलाउनुभएको छ । यसैको कारणले होला, एक वर्षमै कविता सङ्ग्रहको तेस्रो संस्करण प्रकाशन भइसकेको ।

थोरै पाठकको कुरा जोडौँ । कविताका पाठक कम हुँदै गए भनेर अधिकाधिक कविहरूले चिन्ता व्यक्त गरेको श्रव्यदृश्य युटुबका भित्ताभरि पाइन्छन् । तर बजारमा भानुभक्त, लेखनाथ, देवकोटा, माधव घिमिरे, हरिभक्त कटुवाल, भूपि शेरचनलगायतका कविहरूका कविता खोज्ने पाठक भने भेटिइरहन्छन् । यसै बीच ‘जब एउटा मान्छे हराउँछ’ एक वर्षमै दुई संस्करण सकिएर तेस्रो संस्करण आउनु कुनै चानचुने कुरो होइन । कवि चन्द्र साँच्चिकै चन्द्र बनेका छन् । जीवन गीत, भोगाइ, प्रकृति, प्रेम, सामाजिक व्यवस्था, राजनीतिक संस्कार, देशको स्थिति, प्रेममा संवेदना, जीवनरसजस्ता विषयलाई टपक्क टिपेर चिटिक्कका कविता लेखेका कविले कवितामा हर्ष र रोदन बराबरी प्रस्तुत गरेका छन् ।

कविताको सबैभन्दा सुन्दर पक्ष भनेको कविताको काव्य चिन्तन, चित्रण र चैतन्य हो । कवि चन्द्रको कविता सङ्ग्रह ‘जब एउटा मान्छे हराउँछ’ भित्र काव्य चिन्तन र काव्य चित्रण भने बडो गजब छ तर चैतन्यानन्द भने कविताभित्र मिहिन बन्न पुगेको छ ।

आशा र भरोसासँगै बाको अनुहारमा गुराँस र सुनाखरी फल्ने गर्दछ । बाको अनुहार अनुहार मात्र होइन सन्तानका लागि सर्वस्व हो, आमाको मुटुको ढुकढुकी हो । चराहरूले छोडेको रूख, युवाले छोडेको देश, नृपले छोडेको सिंहासन, बाली नलगाएको खेत उस्तै–उस्तै हुन् । यस्तै कुराहरू कविता सङ्ग्रहभित्र उद्धरण गरिएका छन् । नेपाली समाजको एकताको परम्परा, यस भूमिबाट प्राप्त हुने गरेको भूमि ऊर्जा, घरछेवैमा देखिने हरिया फाँटहरू, हरिया डाँडाहरू र सेताम्मे पर्वतहरूले जसरी देशलाई सुन्दर बनाएका छन् यसरी नै यस भूमिमा असङ्ख्य जीवजन्तु, चराचुरुङ्गीहरूले पनि नेपाली वातावरणलाई अझै रमणीय बनाएका छन् । यसैले नेपाल हामी नेपालीका लागि मात्र नभई यस भूमिमा जीवन व्यतीत गर्ने पशुपक्षीहरूका लागि समेत हो भन्ने मौलिक दृष्टान्त कविले कविताभित्र छरेका छन् ।

राजनीतिक वितृष्णा, सामाजिक विभेद, अस्तित्व नाममा भइरहेका हिंसात्मक लडाइँ, पहिचानका नाम हुने गरेका विद्रोहहरूलाई कविताभित्र सुयोग्य ढङ्गले संयोजन गरेका कविले ‘जब एउटा मान्छे हराउँछ’ कविता सङ्ग्रहलाई ८ वटा खण्डमा ८ वटा शीर्षकभित्र ५१ वटा उपशीर्षकमा कवितालाई अनुबन्धित गरेका छन् ।

जन्म, परिवार, घर, आस्था–विश्वाससँगै जीवनको गीतलाई जोड्दा भोक, देश र देशको परिवेशलाई कविताको शुरुवातमा चित्रण गरेका छन् । कविले कवितामा देशको राजनीतिक परिस्थिति त्यसमा पनि बेरोजगार भएपछि राजनीति गर्ने प्रवृत्ति बढेको भन्दै राजनीतिको नाममा हुने गरेका निन्दनीय कार्यको काव्यात्मक ढङ्गले त्यसको कडा आलोचना गरेका छन् । प्रेममा शृङ्गार रससँगै भयानक रस प्रयोग गरेका कविले देशको परिवेश र सामाजिक व्यवस्था तथा एकताका सवाल वीर रससँगै वर्तमान समयलाई लक्षित गर्दै बीभत्स रसको प्रयोग गरेका छन् ।

प्राकृतिक, सास्कृतिक रूपमा देश सम्पन्न भए तापनि देशले आर्थिकरूपमा सम्पन्नता प्राप्त गर्न नसक्दा देश छोडेर युवाहरूले विदेशिनुपरेको पीडालाई कविले सुन्दर तरिकाले कवितामा संयोजन गरेका छन् । उनले यस्तो भन्न खोजेका छन् कि चराहरूले छोडेपछि रूखबाट कहाँ सङ्गीत निस्कन्छ र ! सङ्गीत त चराहरूले बसेको रूखमा आउँछ । समृद्धि पनि यस्तै हो, जहाँ युवाहरू बसिरहन्छन् अर्थात् केही न केही उद्यम गरिरहन्छन्, त्यहाँ पो आउँछ । चराले रूख छाडेझैँ देश छोडेर नागरिक हिँड्न थालेपछि समृद्धि कहाँबाट आउँछ र ! एउटा मात्र शासक विवेकी भए देश समृद्धिको बाटोमा लम्किन्छ । एउटा मात्र सन्तान विद्वान् भए उसले कुलको नै प्रशंसा गर्दछ । एउटा मात्र शिक्षक विद्वान् भए उसले हजारौँ विद्वान् शिष्य जन्माउँछ । यसको सट्टा पदमा बसेको एउटा मात्र शासकले विवेक गुमाए भने त्यसको असर करोडौँ नागरिकमा पर्छ । एउटा मान्छेले विवेकको प्रयोग नगर्दा करोडौँ नागरिकका सपनाहरूको हत्या हुन्छ । यसैले एउटा–एउटाको एकेक मूल्याङ्कन हुनुपर्छ भन्ने गहिरो आध्यात्मिक तर्क पनि कविताभित्र छ ।

राजनीतिकरूपमा राजनीतिक दलहरूले आफ्नो दलीय स्वार्थ पूर्ति गर्नका लागि उत्तेजनात्मक भाव भरिएका क्रियाकलाप गरेर देशवासीहरूका बीचमा एक–आपसमा द्वन्द्व निम्त्याइरहेको कुरासमेत प्रस्तुत गरिएको छ भने अर्कातिर राजनीतिक आन्दोलन र युद्धका बीचमा पलाएको सुन्दर चरित्र लोकतन्त्रको कदर नभएको दुखेसोसमेत कविले कवितामा पोखेका छन् ।

रसैरसले पूर्णापूर्ण कविता सङ्ग्रह ‘जब एउटा मान्छे हराउँछ’ भित्रका पोटिला विम्ब, सुन्दर सामाजिक चित्रण, प्रकृतिको मनोरम दृश्य, कविताका स्वर्णाक्षर शब्दहरूले जो–कोही पाठकका हृदयमा गहिरो छाप पार्ने नै छ । कविताप्रतिको कविको यो हदसम्मको प्रेम र विश्वासले समेत कविलाई थप सशक्त त बनाउने नै छ । कविले देशको बारेमा जति कवितामा चिन्ता व्यक्त गरेका छन् त्यति नै मात्रामा प्रेम र जीवनलाई कोरलेका छन्, जहाँ शृङ्गारसँगै विछोडको भयानक रसको आवरण छ । प्रकृतिमा सुपारीका दानाजस्ता विम्बहरू र प्रेममा रसवरीजस्तो विम्बको प्रयोग गरेका कविले देशको मामलामा वीर रसको बढी प्रयोग गरेका छन् ।

कवि चन्द्र गुरुङका कविताहरू पढ्दा यस्तो लाग्छ कि कवि चन्द्र कवितामा पूर्णिमाकै चन्द्र हुन् र उनले कवितामा पनि आफ्नो राम्रै पहिचान बनाइसकेका छन् । आकाशका जून र घामलाई टिपेर इतिहासमा देशको नाममा शान्तिको दीपक सल्काएको देशले आज खेपिरहेको बेथितिका विरुद्धमा कविद्वारा आक्रोश पोखिएको छ । मौकाको सही सदुपयोग गर्नुपर्छ । अवसरको समुचित प्रयोगबाट नै देशले समृद्धि र नागरिकले उन्मुक्तिका साथमा दिगो शान्ति पाउने गर्दछन् । यही कुरा कविताभित्र छरपस्ट छ । राजनीतिमा पद प्राप्तिका लागि गिरावट कार्यको समेत कवितामा चित्रण छ । जब मान्छे अधिक व्यस्त रहन्छ तब उसले सबै कुरालाई ठीक देख्छ । यसको सट्टा मान्छे फुर्सदमा बसिरह्यो भने उसले चारैतिर नराम्रै नराम्रो देख्ने गर्दछ । यसकारण मान्छे जीवनभर अनवरतरूपमा व्यस्त रहनुपर्दछ भन्ने कुराको कविताभित्र उद्घोष गरिएको छ । एउटा मात्र मान्छेको अनुपस्थितिले एउटा परिवारको सुगन्ध हराउँछ । यो भन्दा ठूलो कुरा एउटा मात्र मान्छेको अनुपस्थितिले सिङ्गो पृथ्वी हराउँछ । यसैले एउटा पनि मान्छेको कतै कमी नहोस् । यसरी गहिरो आध्यात्मिक चिन्तन गरिएको छ कविताभित्र ।

प्रकृति, समाज, मानवता, प्रेम, जीवनलीला, सङ्गीत, देश र माटोलगायतका पक्षहरूलाई समेटेर सङ्गृहित भएको ‘जब एउटा मान्छे हराउँछ’ कविता सङ्ग्रह रोचक कविता सङ्ग्रह बनेको छ । कवितामा सर्वपक्षहरूलाई समेटिएको छ र समाज, देश कालको विषयमा गहन चिन्तनसँगै गहिरो चित्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्