ओलीको ‘हिरोइजम’ !



नाम होस् तर गुमनाम नहोस् भनिन्छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा यो भनाइको सार्थकता झल्किन्छ । पुनः ओली आफ्नो पार्टीभित्र थप शक्तिशाली बन्न खोजिरहेका छन् । शक्तिशाली छन् नै, तर एमाले भनेकै केपी शर्मा ओली हुन् है भन्ने आभास पार्टीभित्रैका नेता–कार्यकर्तालाई जबरजस्ती बुझाउन खोजिरहेको देखिन्छ । त्यसैले होला बाहिरी रुपमा केपी बा भन्दै भक्तिभावका साथ गुनगान गाइरहेको पाइन्छ तर भित्री भाव उनै जानून् । पछिल्लो समय एमालेले नेपाली कम्युनिस्ट आन्दोलनको अभियान अनुसार पार्टीका हरेक कार्यक्रममा कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, तत्कालीन महासचिव मदन भण्डारी, एमालेका पहिलो अध्यक्ष मनमोहन अधिकारीसँगै ओलीको तस्वीर राख्ने औपचारिक निर्णय गरेको छ । एमाले उपमहासचिव विष्णु रिमालले सार्वजनिक गरेको निर्णय अनुसार एमालेका अबका कार्यक्रममा श्रेष्ठ, भण्डारी र अधिकारीसँगै ओलीको तस्वीर राखिनेछ । ‘सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसन ग्रहण र मञ्च व्यवस्थापनसम्बन्धी सार्वजनिक कार्यक्रममा (तीन अग्रजका अतिरिक्त) पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने’ निर्णय गरेको छ । कार्यक्रममा जथाभावी नेताहरूको तस्वीर राख्न थालेको भन्दै अब तीन अग्रज नेतासँगै ओलीको तस्वीर राख्नुपर्ने एमालेको तर्क रहेको छ तर यो नेताका तर्क हो या बाध्यात्मक अवस्था, पार्टीभित्रै खैलाबैला चल्न थालेको छ । ओलीको तस्वीरमात्र राख्न पाउने निर्णयले पार्टीभित्र ‘ओलीतन्त्र’ शक्तिशाली हुने टिप्पणी हुन थालेको छ ।

हुन त केपी शर्मा ओली पार्टीको भन्दा पनि आफ्नै प्रचार गर्न रुचाउने नेता हुन् भन्दा फरक पर्दैन । यस्ता प्रचारका कार्य बेला–बेलामा गरिरहेका हुन्छन् । प्रचारका शैली पनि नयाँ–नयाँ अपनाउने गर्दछन् । अहिले पनि पार्टीभित्र आफू अनुकूल निर्णय गराएका छन् भन्दा फरक नपर्ला । यस्ता कार्य उनले विभिन्न कार्यक्रमहरुमा गर्दै आइरहेका छन् । नेकपा एमालेको विधान महाधिवेशन गोदावरीस्थित नवनिर्मित सुविधा सम्पन्न ६ हजार क्षमताको भवनमा चलेको थियो । एमालेको विधान महाधिवेशनमा विधान महाधिवेशनको तथा पार्टीको चर्चा गुमनामजस्तै बन्यो तर पार्टीको अध्यक्ष केपी शर्मा ओलीको चर्चा कम थिएन । अझ एमाले पार्टीभित्रैका नेता, कार्यकर्ता तथा उपस्थित प्रतिनिधिहरुले घुमाउरो पारामा विरोध गरिरहेका सञ्चारमाध्यमबाट सुनिएको थियो । यस कारण ओलीको उक्त विधान महाधिवेशनमा विरोध गरिरहेका थिए । विधान महाधिवेशनको प्रमुख आकर्षण भनेकै ओलीका प्रचारका शैलीहरु रहेका थिए । त्यस कारण सभास्थल अस्वाभाविक रहेको भन्दै आलोचनासमेत भएको थियो । शहरका अधिकांश पोलहरुमा ओलीका टाउको अंकित फोटो झुन्डिएका थिए, महाधिवेशन स्थलसम्म पुग्ने सडकहरुमा सडक बोर्ड, गेट भव्यरुपमा बनाइएका थिए । अझ महाधिवेशन स्थलमा भने ओलीका बडेमानका डमी (कटआउट) बनाइएका थिए, जहाँ उपस्थित प्रतिनिधिहरु लाइन लगाएर फोटो खिच्न कुरेर बसेका दृश्य अहिले पनि सामाजिक सञ्जालमा हेर्न सकिन्छ ।

नेकपाका संस्थापक नेताका रुपमा पुष्पलाललगायतका नेताहरु हुन् तर त्यो नेकपाको विधान महाधिवेशनमा उहाँहरुसमेत गुमनाम भएको देखियो । कार्यक्रम स्थलको मुख्य मञ्चमा पुष्पलाल, मदन र मनमोहनको तस्वीरसहितको बोर्ड अटाउन सकेनन् । यसबाट पनि पुष्टि हुन्छ कि केपी ओलीको प्रचारमोह कति र कस्तो छ । उनी आफ्नो प्रचारका विभिन्न हत्कन्डा अपनाउन माहिर छन् भन्ने जो–कोहीलाई स्पष्ट नै छ । कुनै सार्वजनिक मेला, महोत्सव तथा कार्यक्रम स्थलमा आगन्तुकको मनोरञ्जनका लागि विभिन्न आकर्षण खेलका कार्यक्रम देखाएर आगन्तुकलाई मनोरञ्जन दिएझैँ एमालेको विधान महाधिवेशनमा ओलीको पूर्णकदको डमी प्रमुख आकर्षक बनेको थियो । यतिमात्र होइन, त्यहाँ उपस्थित सम्पूर्ण प्रतिनिधिका लागि खानेपानीमा समेत ओलीको फोटोसहितको स्टिकर टाँसिएको थियो । यतिसम्म कि जहाँ–जहाँ उनको व्यक्तिगत प्रचार गर्न मिल्न सकिने सम्भावना थियो त्यहीँ–त्यहीँ ओलीको मात्र प्रचार एमालेले गरेको थियो । सडकका पोलभरि उनकै फोटो टाँसिएको थियो, अझ महाधिवेशनको पहिलो दिनमा त कार्यस्थल गोदावरीसम्म जान केपी ओलीलाई सातदोबाटोबाट गोदावरीसम्म कार्यकर्ताको स्कर्टिङले पु¥याएका थिए । अझ यसबाट झन् स्पष्ट हुन्छ कि कति प्रचारका भोगी छन् भन्नेमा । आफू राजश्री सम्मान रुचाउने ओलीले आफ्ना सुविधाका लागि जनतालाई कति दुःख दिएका छन्, त्यो सब जगजाहेरै छ ।
यसै गरी एमालेले चितवनको नारायणी किनारामा दशौं महाधिवेशन भव्यरुपमा गरेको थियो । पाँच लाख हाराहारी जनमानस अटाउन सक्ने

महाधिवेशन स्थल, जसमा एमाले स्टेज डिजाइन, डाक्टर परिचालन, व्यापकरुपमा स्वयंसेवक परिचालन, महाधिवेशन स्थलमा ड्रोन परिचालनलगायत कार्यको चर्चा–परिचर्चा चुलिँदै गएको थियो । जसको प्रचारप्रसारमा एमालेले कुनै कसर बाँकी राखेको थिएन । महाधिवेशन प्रचारभन्दा पनि त्यहाँ ओलीकै प्रचार बढी रह्यो । एमालेले करोडौं रुपियाँ खर्चेर महाधिवेशन गरेको थियो । यत्तिको व्यवस्थापन गर्न, सर्वहारा जनताको पार्टीसँग यति धेरै पैसा कहाँबाट आयो होला ? प्रश्नसमेत उठेको थियो । नारायणी किनारको महाधिवेशन स्थलमा उपस्थितहरुका लागि मनोरञ्जनका निम्ति सेल्फी स्टेसनसमेत बनाइएको थियो । उक्त महाधिवेशन स्थल पनि ओली केन्द्रित नै रह्यो । यसबाट पनि प्रस्ट हुन्छ कि ओली यति शक्तिशाली बन्न खोज्दै छन् कि उनी राम हुन् र अन्य रामका भक्तहरु । भक्तहरु रामले जे गरुन्, जसो भनून्, थपडी बजाउने मात्र काम हो । अझ उक्त कार्यक्रमा आई लभ यु ओली बा भन्दै नारा लगाउनसमेत पछि परेन एमाले ।

यत्तिमा मात्र सीमित छैन केपी ओलीको प्रचार शैली । उनले गरेका प्रचार शैली निकै नौला, अस्वाभाविक, अपाच्य, अनावश्यक रहेको मानिन्छ, जुन आवश्यकभन्दा बाहिरको कुरा रहेको विश्लेषकहरुले बताएका छन् । ओलीले कुनै दिन नयाँ युगको शुरुवात भन्दै मुलुकको प्रधानमन्त्री भएपछि के–के न गर्छु जस्तै गरेर काठमाडौंका सडक–सडकमा उनका टाउको अंकित पोस्टर, होर्डिङ बोर्ड हरेक पोलमा लाइटबोर्ड, हरेक राष्ट्रिय स्तरका पत्रपत्रिका, टेलिभिजन, अनलाइन, रेडियो, चोक–गल्लीमा नयाँ युगको शुरुवात भन्दै प्रचारप्रसारमा करोडौं रकम स्वाहा पारेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना बाँड्दै हिँडेका थिए । लाग्छ, आजको यो दिनको अवस्था देखाउन नयाँ युगको शुरुवात गरेका रहेछन् ।

असाध्यै आफ्नो प्रचार गर्न रुचाउने ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा कन्सर्टसमेत गर्न भ्याए । कुसल सारंगी वादकको झैँ भूमिका निर्वाह गरेर त्यहाँ पनि उनी निकै हाइलाइट भए । उनी घरमा भएका कार्यक्रममा समेत गीतको तालसँगै ठुम्का लगाउने, बालबालिकासँगै रमाउने, खेलमा आफ्नो सहभागिता जनाउने उनको यो उमेरमा व्यक्तिगत जोश–जाँगरको मुक्तकण्ठले प्रशंसा नगर्ने शायदै छन् होला । समृद्ध मुलुकहरुमा समेत यस्ता नेता विरलै पाइन्छ होला, जो केपी ओलीको जस्तो गुण र क्षमता भएको । अर्को उनको विशेषता भनेको उरुन्ठेउला अभिव्यक्तिले कार्यक्रममा हाँसो फैलाएर पनि चर्चामा छाइरहेका हुन्छन् । उनी जहाँ जे गर्छन्, त्यो नै समाचार बन्छ । त्यो पनि प्रमुख प्राथमिकताका साथ । त्यस कारण पनि उनलाई हौसला प्राप्त भएको मान्न सकिन्छ । मैले जे गरे पनि मलाई जनताले विश्वास गरेका छन्, म नै जनताको प्रिय नेता हुँ भन्ने दम्भ उनमा पलाएको हो भन्दा अत्युक्ति नहोला । त्यसैको प्रतिफल आज उनी आफ्नै प्रचारमा मात्र जोड दिइरहेका छन् । उनी आफ्ना कार्यको कसैले विरोध गरे वास्ता पनि राख्दैनन् । उल्टै जनता हँसाएर आफ्ना कार्य र क्रियाकलाप आवश्यक भए भन्दै समर्थन मात्र गर्दछन् । उनी अरुको सामु कहिल्यै कमजोर बन्न चाहँदैनन् । त्यसैको प्रतिफल हुन सक्छ पार्टीमा उनी ओलीतन्त्र भित्र्याउन खोजिरहेका छन् । उनको विरोध कुनैले चाहेर पनि पार्टीका नेताले गर्दैनन्, यदि गरे भने भीम रावलको झैँ एउटा कुनामा थुपार्नेसम्मको कार्यमा पछि पर्दैनन् ओली ।

प्रधानमन्त्रीबाट बाहिरिँदा ओलीलाई बालुवाटारबाट बालकोटसम्म पु¥याउन, राजकीय सम्मानका साथ उनका कार्यकर्ताले नयाँ बुहारीझैँ बालकोटको घरमा भित्र्याएका थिए । सम्मानका भोका केपी ओली उनका समर्थकले मोटरसाइकल तथा गाडीको स्कर्टिङमा बालुवाटार छोडेर आफ्नै निवास बालकोटसम्म पु¥याएका थिए । तिनै ओलीले बार्दलीबाट चर्चित सेलिब्रेटीले जस्तै हात हल्लाएर आफ्ना फ्यानहरुलाई सम्बोधनसम्म गर्न भ्याए । ती कार्य पनि उनले चर्चा कमाउनकै लागि गरेका थिए । यो उनले आफ्नो चर्चा बटुल्नका लागि मात्र गरेको बुझ्न सकिन्छ । पदबाट बाहिरिँदा पनि आफ्नो प्रचारमा भने कुनै कसर बाँकी नराखी भाडाकै भए पनि कार्यकर्ता उताररे आफू कमजोर नभएको महसुस अन्य विपक्षीलाई गराएका थिए । उनी पदबाट निस्किँदा पनि कति शक्तिशाली रहेका छन् भन्ने कुराको प्रचारमात्र हो यो । यद्यपि कम्युनिस्टका नेतालाई त्यो आवश्यक थिएन । तर उनी आवश्यक थिएन भन्ने कुरामा सहमत भने बिल्कुलै राख्दैनन् । फराकालो छाती पार्ने उनमा चेतना नै छैन भन्दा शायदै फरक पर्दैन । ओलीका आफ्नै मात्र प्रचार गरिरहँदा एमाले पार्टीभित्र अन्य नेताहरुले पनि विरोध गरेनन्, बरु उल्टै बाध्यात्मक अवस्थामा समर्थनमात्र जनाइरहे । यस्तो गरिरहँदा ओलीमा मनोबल बढिरहेको अनुभूत गर्न सकिन्छ । पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, तत्कालीन महासचिव मदन भण्डारी, एमालेका पहिलो अध्यक्ष मनमोहन अधिकारीसँगै ओलीको तस्वीर राख्ने एमालेको औपचारिक निर्णयले आम मानिसलाई त केही असर नहोला तर यस्ता कार्यमा ओली किन लालायित हुन्छन् भन्ने मुलभूत कुरा हो । यही निर्णय आफू पार्टीमा रहिरहँदा ओलीले गर्नुभन्दा उनको कार्यकालपश्चात् पार्टीले सम्मान गरेर राख्न पनि त सक्छ ।

प्रतिक्रिया दिनुहोस्