सबैखाले श्रमिकको उचित पारिश्रमिक निर्धारणका लागि  आयोग बनाउन अन्टुकको माग 



बुटवल ।

अखिल नेपाल ट्रेडयुनियन महासंघ ( अन्टुक) को केन्द्रीय समितिको बुटवलमा बसेको  बैठकले सबैखाले श्रमिकको उचित पारिश्रमिक निर्धारणका लागि  अधिकार सम्पन्न आयोग बनाउन माग गरेको छ ।

सोही आयोगको सिफारिसमा आजको महँगी र बजारको  तुलनामा श्रमिक बाच्न नसक्ने अवस्था नभएकोले वैज्ञानिक रुपमा न्यूनतम पारिश्रमिक निर्धारण गर्न माग गरेको छ ।

श्रमिक मजदुर वर्गको न्यूनतम  जीवनयापनमा सहयोग पुग्ने गरी  पारिश्रमिक तय गर्न सरकारको गम्भीर  ध्यान जान जरुरी रहेको बैठकले निर्णय गरेको अध्यक्ष लोक राज भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

श्रमिक मजदुर आन्दोलन भित्र  उपभोक्ताबादि चिन्तन अवसरवाद र  अर्थबादि संस्कृति मौलाउँदै जानु, देशमा राष्ट्रिय उद्योगधन्दा कलकारखानाको विकास नहुनु , दैनिक हजारौँ युवाहरू जोखिमपूर्ण वैदेशिक रोजगारीमा जाने बाध्यकारी अवस्था सृजना हुनु र राजनैतिक प्रणालिपनि संस्थागत रुपले विकास नभै सधैँ अस्थिर  एवं सङ्क्रमणकालीन अवस्थामा गुज्रिरहनेले मजदुरवर्गीय आन्दोलन  परिणाममुखि र गुणात्मक रुपले विकास गर्न नसकेको ठहर गरेको छ ।

सरकारबाट एमसिसि  जस्तो राष्ट्रघाति संझौता लागू गर्ने गरी  कार्यक्रम अगाडि सारेको प्रति गंभिर ध्यानाकर्षण भएको उल्लेख छ ।

श्रमजीवी संचारकर्मीहरुको पारिश्रमिक वृद्धि र सामाजिक सुरक्षाको लागि पनि सरकारसंग माग गर्ने निर्णय बैठकले गरेको भुसालले बताए।
यसैबीच नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमले वृद्धि भएको श्रमिकको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग गरेका छन् ।
बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै जिफन्ट उपाध्यक्ष गौतमले सरकारले साउन १ गतेदेखि लागू हुने गरी बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्