रहेनन् ‘दाना कविता’ का प्रथम सर्जक



हेटौँडा । 

चिन्तन
यसपालि बाढी आएन
र, एउटा भ्यागुतो ध्यानमग्न छ
    कि उसले किन उफ्रन परेन ?
      विभीषिका
चराहरु युद्धरत् छन्
के खोज्छौ र गुँडहरुमा
ती त गोलीका फूल पार्छन् 
     निरपेक्ष
अक्वेरियमभित्रका माछाहरु
तिम्रा अट्टहासमा पनि हेर
   कसरी नाचिरहेछन् ?
यी र यस्ता ‘दाना कविता’ को लेखन नेपालमा पहिलो पटक थालेर साहित्यमा नयाँ  विधा सुरु गरेका  मकवानपुरका अग्रज साहित्यकार तुल्सी थापाको निधन भएको छ ।
उनको चितवनको सीएमएस पुरानो मेडिकल कलेजमा उपचाररत् अवस्थामा निधन भएको हो । साहित्य, शिक्षा र सामाजिक कार्यमा महत्वपूर्ण योगदान गरेका  मकवानपुरे साहित्यकार थिए  थापा । हेटौँडा–११ स्थायी निवासी ७८ वर्षीय थापाको शुक्रबार विहान निधन भएको हो । उनमा निमोनिया, मधुमेह, रक्तचापसम्बन्धि समस्या थियो ।

नेपाली साहित्यजगत्कै पहिलो ‘दाना कविता; संग्रह प्रकाशन भएको थियो । त्यसपश्चात् एक अलग विधाका रुपमा ‘दाना कविता’ ले नेपाली साहित्यजगत्मा प्रवेश पायो । नेपाली साहित्यलाई दाना कविताको दिने श्रेय थापालाई जाने गर्दछ ।

शिक्षण पेसाबाट निवृत्त भएपछि थापाले साहित्यरचनामा विशेष योगदान दिएका  थिए । थापा, भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका पूर्वअध्यक्ष पनि हुन्  । कथा, कविता तथा नाटकमा कलम चलाउने साहित्यकार थापा भाषा, साहित्य, शिक्षा र सामाजिक सद्भावमा निरन्तर लागिरहेका अग्रज स्रष्टा हुन् ।

उनका एक निमेष अनन्तको (२०५८) दाना कविता, मसिना कविताहरु, अमरसिंहको खोजीमा अमरसिंह (२०६१) नाटक, फरक आकाश (२०७२) कथासंग्रहलगायत प्रकाशित छन् । थापाले सुरु गरेको ‘दाना कविता’ लेखनमाथि हेटौंडामा २०७६ मा प्यानल डिस्कसन भएको थियो । डिस्कसनमा उनले दशकअघि आफूले मसिना कविताका रुपमा सिर्जना गरे पनि पत्रकार तथा साहित्यकार नवराज शर्माले यसलाई ‘दाना कविता’ का रुपमा नामाकरणको प्रयास गरेको र उक्त नाम आफूलाई चित्त बुझेकाले आफ्नो नौलो प्रयासले ‘दाना कविता’ को रुप लिएको उनले बताएका थिए ।

उनका अनुसार ‘दाना कविता’ काव्यको एक सूक्ष्मस्वरुप हो । सूक्ष्मको वृहत् आकार व्रह्माण्ड हुनपुग्छ । जीवन र जगत्लाई सूक्ष्मरुपमै नियाल्न सकिन्छ । यस अवधारणाले महाकाव्यको महता कदापि घटाउँदैन । जीवनको महान यात्रा ससाना नानीहरुका कलिला पाइलाबाट शुरु हुन्छ ।

हावा, पानी, प्रकाश, जमीन र समय वीउको जीवन र जगत् हो । वृक्षको वृहत् स्वरुप वीउको दानाभित्र सन्निहित हुन्छ । ‘दाना कवितामार्फत् मैले साहित्यको विराट फांटमा चियाउन आँट  गरेको हुँ   । डंका पिटेको हैन,’ उनी भन्थे  । आकारमा सूक्ष्म, भावमा वृहत् हुनुपर्ने, हुने दाना कविता साहित्यको वृहत् प्रयोगशालामा परीक्षण भएको छ ।

उनी बौद्ध दर्शनबाट अनौपचारिकढंगले दीक्षित थिए  । स्वअध्ययन प्रायः निरन्तरमै रह्यो । आनन्द कुटी विद्यापीठ स्वयम्भुमा कक्षा–४ देखि अध्ययन थालेर २०१८ मा त्यहींबाट उनी  एसएलसी उत्तीर्ण भएका थिए  । त्यहाँ  बुद्ध दर्शनसम्बन्धि सामयिक पढाइसमेत हुने गथ्र्याे । उनले अस्पतालको बेडबाट शुक्रबार लेखेका  अन्तिम शब्द हुन्–बुद्धम् शरणम् गच्छामी ।

नेपाल प्रज्ञा प्रतिष्ठानबाट विधिवत्  स्वीकृति प्राप्त गर्न आवश्यक सैद्धान्तिक कार्यपत्रसमेत तयारी गरिएको थियो । ‘दाना कविता’ मा बुद्ध दर्शनका सन्दर्भ प्रवाहित हुँदा  उनी  गर्व महसुस गर्ने गर्थे ।

थापाले २०४४ मा गोरखा दक्षिण बाहु चौथो, २०५८ मा नारायणी वाङ्मय पुरस्कारसहित बिभिन्न सम्मान प्राप्त गरेका छन् । उनका २ छोरी, एक छोरा र पत्नी छन् ।

प्रतिक्रिया दिनुहोस्