दिनानुदिन रित्तिँदैको नेपाल !



शहरमा मात्र होइन, गाउँबस्तीहरुसम्म पनि बिहारी, बंगालीहरु छ्यापछ्याप्ती भेटिन्छन् । कबाडीवालाहरु हरेक बिहान–दिउँसो हजारौँको संख्यामा टोेल–टोलमा बाँडिएर भ्रमण गरिरहेका भेटिन्छन् । शहरका टोल–टोलमा दिनानुदिन घुमिरहेका भेटिन्छन् । घर–घर फलपूmल, तरकारी पु¥याउनेहरु पु¥याइरहेका पाइन्छन् । सिकर्मी, डकर्मी, नकर्मी, वज्रकर्मी र विभिन्न कामका लागि आवश्यक कामदारहरु विहार–बङ्गालले आपूर्ति गरेकै छन् । मान्छेको अभाव छैन । कामदारको अभाव छैन । नेपाली कामदारमात्र नेपालमा भेटिँदैनन् । संघीय सरकार छ । प्रदेश सरकार छ । स्थानीय सरकार छ । जागिरदार प्रधामन्त्री, मन्त्री, कर्मचारी सबै छन् । सबै हाँसीखुशी छन् । सबै जागिरको वृत्तिविकास र सम्पत्तिको वृद्धिविकासमै छन् । घटेका त नेपाली महिला–पुरुषहरुमात्रै हुन् । घटेका त नेपाली प्रतिभा र ऊर्जाहरुमात्रै हुन् ।

‘नेपाली जति सक्कियौँ यदि भने नेपाल माटो न हो
हिँड्ने मानिस हो सजीव गतिले सिद्धान्त बाटो न हो ।
बाटो नै बिरियो कि मुख्य बटुवा षड्यन्त्रकारी प¥यो ?
नेपाली जनका महान् प्रगतिको आशा भरोशा म¥यो ।’
यो कविता होइन । छन्दोबद्ध श्लोकमात्र पनि होइन । यो त हामी नेपालीमात्रको सुस्केरा हो । दुःखमय निःश्वास हो ।

मुर्दालाई जुम्राले छोड्ने गरेकै शैलीमा नेपालीहरु नेपाल छाड्दैछन् । यही क्रम जारी रहने हो भने आगामी केही वर्षमा नेपालमा नेपाली खोज्दा पनि नभेटिने दिन आउन सक्छ । पहाडी भेगमा गाउँबस्तीका घरहरु रित्तिँदा छन् । भत्किँदा छन् । जमिन बाँझिँदो छ । हिजो जहाँ मानिस भेटिन्थे आज त्यहाँ बाँदर भेटिन्छन् । बाघ, चितुवा र बँदेल भेटिन्छन् । मानिस उभिने, हिँड्ने गरेका बाटोहरुमा रुखहरु उभिन पुगेका छन् । बस्ती जङ्गलमा फेरिँदो छ । यस्तो पनि देखिन थालेको छ ।

राजधानी शहरमै पनि भीड पातलिँदै गएको छ । विद्यालय, महाविद्यालयहरुमा विद्यार्थी अलभ्य बन्दै गएका छन् । विद्यार्थीका अभावमा कति विद्यालय, महाविद्यालय बन्द भइसकेका छन् भने कति बन्द हुने अवस्थामा पुगेका छन् । अस्पतालहरुमा बिरामी भेटिन छाडेका छन् । यो यस्तो भएको जनस्वास्थ्यमा सुधार भएर हो त ? होइन । हुँदै होइन । बरु जन पलायनमा विस्तार भएरचाहिँ यस्तो भएको हो ।

कतिलाई यी कुरा एक आलोकाँचो कविको भावुकताजस्तो लाग्ला । यथार्थ त्यो होइन । आज पुरानो पुस्ता हतास छ भने नयाँ पुस्ता निराश छ । देशवासीमा आफ्नो देशको भविष्यप्रति विश्वास जीवन्त छैन । बालबालिकाहरु १२ कक्षापछि भ्याए÷पाएसम्म विदेशतिरै लाग्छन् । विदेश जान पाउनु सौभाग्य ठान्छन् । विदेश जान नपाउँदा आफूलाई ठगिएको ठान्छन् । दुःखी हुन्छन् ।

यो वर्षमात्र ७ लाख विद्यार्थी समुद्रपारका देशतिर उडे भन्ने समाचार छ । यी विद्यार्थी उड्दा मुलुकको विदेशी मुद्रा पनि उडेको छ । गाँठी कुरा त विद्यार्थीहरु उड्दा नेपालको भविष्य पनि उडेको छ । प्रगतिका उज्याला सपना पनि उडेका छन् । आज नेपालका विद्यार्थीहरु विदेश गइरहेका छैनन्, नेपाल छाडिरहेका छन् । आफ्ना सन्ततिलाई विदेश पठाउन पाउँदा बाबुआमाहरु सुखसम्पत्तिको ढोका खुलेको ठान्छन् । गौरव मान्छन् । खुशीले झुम्छन् । मनमा खुशी नअटाएर छिमेकमा भन्दै हिँड्छन् । फेसबुकमा बधाई लेख्छन् । हर्क बढाइँ लेख्छन् । विदेशबाट छोराछोरीले खर्च पठाउने र शहरमा दुई–तीनवटा घर ठड्याउने सपना मुस्कुराउन थाल्छन् । यो आजको भयङ्कर दयनीय मानसिकता हो । उहिल्यै महाभारतका व्यासले दुःख पोख्दै भनेका थिए– ‘जन्मिएका मान्छे हुर्कँदै जाँदा देश–छिमेकका हजाराँै बूढा बा–आमाहरु बितेका देख्छ । कतिका छोराछोरी असमयमा मरेका पनि देख्छ । मृत्यु त अवश्यम्भावी छ । र पनि धर्म नछोडी अर्थ कमाऊ, धर्म नछोडी आफ्ना इच्छा–आकाङ्क्षाहरु पूरा गर भन्दै म हात उठाएर रुँदै, कराउँदै आएको छु, कोही सुन्दैन ।’ (उध्र्ववाहुर्विरोम्येष न च कश्चित् शृणोति मे । धर्मादर्थश्च कामश्च स किमर्थम् नसेव्यते ?)

उदेक लाग्दा लोभीपापीहरु त महाभारतकालमा पनि रहेछन् । आज पनि छन् । तर फर्किआऊन् भन्ने सोच–समझ नराखी आफ्ना छोराछोरीलाई सात समुद्रपारका देशहरुमा प्रवास पठाउन लालायित रहने पाका बा–आमाहरु गणतन्त्र कालमा मात्र छन् र नेपालमा मात्र छन् जस्तो लाग्छ । आफ्नै देशमा आफ्नो भविष्य कोरल्ने हुत्ती–हिम्मत नउमारेर सुखद भविष्य त विदेशमै मात्र उम्रन्छ भन्ने कल्पनामा उत्तेजित हुँदै बाह्र पासपछि विदेशतिरै ताँती कसेर दगुर्ने किशोरकिशोरी र युवायुवतीहरु पनि एक्काइसौँ शताब्दीको नेपालले मात्र जन्माएछ कि जस्तो लाग्छ ।

गरिबका सन्ततिहरु दुःख बढार्न कुचो किन्न सकिन्छ कि ! भन्ने उम्मेद लिएर साहस बटुल्दै र जग्गा बेचेर दलाललाई चढाउँदै दन्दनाउँदो आगो बलेका अँगेनाजस्ता खाडीतिर पस्छन् भने धनी र मध्यम वर्गका सन्ततिहरु विशेष सुख–सुविधाको आकांक्षामा युरोप–अमेरिकातिर लाग्छन् । जसो गर्दा पनि रित्तिने त नेपाल नै हो । सम्भावनाशील टाउकाहरु युरोप–अमेरिकाको सेवामा र निर्माण क्षमताका बलिष्ठ पाखुराहरु खाडीमा पसिना पोख्न दगुरेपछि मुलुक त पोल्ट्री फार्ममै परिणत भयो त । माउबाट चल्ला कोरलिन्छन्, गयो, उठायो, बेचिपठायो । वैध–अवैध परिधानका मानव तस्करहरु, बिचौलियाहरु अघोषित पोल्ट्री नायक । जनताका छोराछोरी सबै तिनका बिक्रीका लागि चल्ला ।

मासुभात र जाँडरक्सीका मातमा जनताको मत उछिट्याएर सत्तामा पुगेका महामहिम फटाहाहरु मानवविक्रीका कमिसनको सितनसाथ रेमिट्यान्सलाई जाँड बनाएर पिउँदै राजनीतिको बीभत्स नाटक मञ्चन गरिरहेका छन् । देश रित्तिनुमा खुशी मनाउँदै विदेशीलाई नागरिकता बाँडिरहेका छन् । यो यस्तो विडम्बना पनि आज यही नेपालमै देख्न पाइएको छ । यति हुँदा पनि नेपाल आमा आँखामा आँसु भरेर आशा–आकाङ्क्षाका पु्रानै गीत गाइरहेकी छन् जस्तो लाग्छ ।

‘यस्तो लाग्छ कता कता हृदयमा काँढा बिझेको छ कि ?
पीरैपीर रगेडिएर दिलमा आगो परेको छ कि ?
घोच्नु पोल्नु लिएर घाउहरुमा बाँचिरहेकी छु म
निको हुन्छु भनेर जीवन अझै साँचिरहेकी छु म ।
धेरै पातहरु खसे रहरका चालीस वैशाखमा
नौला पात पलाउने क्रम भने आएन उस्तो यहाँ
साह्रै भो अब ता हिमाल कतिको पग्लेर ओर्लिसक्यो
थुप्रै काम छ भ्याउने कसरी हो ढिला पनि भैसक्यो ।
थाले हुन्छ प्रकाशले अब नयाँ बाटोभरी पोखिन
तन्देरीहरुको नयाँ रहर हो, आओ यहाँ देखिन ।
फेरीद्यूँ न हिमाल भित्र दिलमा तातो हुने खालको
केरीद्यूँ न त अन्धकार अहिले यो देश नेपालको ।।
आओ आज सँगै बसौँ हृदयमा काँढा बिझेकाहरु
हामी आपसमा सहायक बनौँ बाटो निकालौँ अरु
काँढालाई थुतेर स्वस्थ दिलले सल्लाह मीठो गरौँ
हामी स्वच्छ प्रयासले मुलुक यो लौ सिर्जनाले भरौँ ।’

आमाहरु सहनशील हुन्छन् । आशावादी हुन्छन् । आफ्ना सन्ततिप्रति क्षमाशील पनि हुन्छन् आमाहरु । आफ्ना सन्तानले जमाएर ढाडमा लात हान्दा पनि ‘ए ! यसको लात त दह्रै भएछ त !’ भनेर खुशी मान्ने प्रकृतिका हुन्छन् आमाहरु ।

सुखको खोजीमा मातृभूमिलाई छाडेर विदेश पसेका प्रतिभा र ऊर्जाहरु विवेक उदाएर अर्थात् मातृभूमिप्रतिको माया, ममता र कर्तव्यबोधले तानिएर कुनै दिन नेपाल फर्कलान् त ? आफ्ना तेजस्वी र सम्बुद्ध सन्तानबाट नेपालले कायाकल्पको अवसर पाऊला त ? पश्चिमबाट सूर्य उदाऊलान् त ? हुन त साक्षात् नेपालीहरु नेपाल फर्कनुको सम्भावनालाई पश्चिमबाट सूर्य उदाउनुसँग तुलना गर्न पर्नु दुःख लाग्दो कुरा हो ।

एक थरी बुद्धिजीवी त के पनि भन्नुहुन्छ भने, हिजो जसरी भुटानबाट नेपाली लखेटिएका थिए त्यसरी नै भोलि नेपालबाट नेपाली नै लखेटिने दिन आउन पनि सक्छ । नेपालमा नेपाली नै अल्पमतमा पुगे भने त्यो दिन नआऊला भन्न सकिँदैन । अझ दुःख लाग्दो कुरा त यो पो छ ।

प्रतिक्रिया दिनुहोस्