बहुप्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति



लमजुङ । पूर्वी लमजुङको राइनास नगरपालिकाले बहुप्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

विपन्न, दलित आदिवासी जनजाती विद्यार्थीहरूलाई अध्ययनका लागि सहयोग गर्ने उदेश्यले उक्त कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले पालिकामा नै रहेको राइनास वहुप्राविधिक शिक्षालयमा अध्ययन गर्ने प्रत्येक वडाबाट एक–एक जनाको मासिक खर्च पालिकाले भुक्तानी गर्ने नगरपालिका प्रमुख खड्कबहादुर गुरुङले जानकारी दिनुभयो ।
गत साउन ३२ गतेको नगर कार्यपालिकाको बैठकले राइनास वहुप्राविधिक शिक्षालयमा अध्ययनका लागि पालिकाभित्रका १० जनालाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।
पालिकाले शिक्षालयको नियमअनुसार लाग्ने मासिक शैक्षिक शुल्क पालिकाबाट भुक्तानी गर्ने गरी प्रत्येक वडाबाट एक–एक जना गरी १० जनालाई छात्रवृत्तिमा अध्ययन गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले जानकारी दिनुभयो ।
कार्यपालिकाको निर्णयअनुसार नगरपालिकाले सुचना प्रकाशन गरी यहीँ भदौ ७ गतेसम्म छात्रवृत्तिमा अध्ययनका लागि इच्छुक विद्यार्थीहरूलाई सम्बन्धित वडाकार्यलयमा निवेदन दिन अनुरोध गरेको छ । छात्रवृत्ति प्रदानका लागि नगरपालिकाले निश्चित मापदण्ड बनाएको छ ।
विपन्न, दलित, आदिवासी जनजाती हुनुपर्ने, संरक्षक वा अभिभावको नभएको, एसईईमा उत्कृष्ट नजिता प्राप्त गरेको हुनुपर्ने पालिकाको मापदण्ड छ ।
तोकिएको शैक्षिक योग्यता पूरा गरेका शिक्षालयले सञ्चालन गरेको जुनसुकै शैक्षिक संकालयमा पढ्न चाहने विद्यार्थीलाई छात्रावृत्ति उपलव्ध गराइने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्