प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी बन्दै : रामेछापबाट २० करोडको आलु भारत निर्यात



रामेछाप । रामेछापबाट यस वर्ष २० करोड बरावरको आलु निर्यात भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका परियोजना प्रमुख थिरलाल गैरेका अनुसार रामेछापमा यस वर्ष ४४ करोड बरावरको आलु उत्पादन भएको छ ।

रामेछापमा ७ सय ४४ हेक्टरभन्दा बढी क्षेत्रमा आलु उत्पादन हुने गरेको उक्त परियोजना रामेछापको तथ्याङ्कमा उल्लेख छ ।

रामेछापमा आर्थिक वर्ष २०७९/८० मा १७ हजार ८ सय ७५ हजार मेट्रिकटन आलु उत्पादन भएको परियोजना प्रमुख गैरेले बताउनुभयो । उहाँका अनुसार सो आलुको होलसेल मूल्य करिब ४४ करोड हुन आउँछ । उत्पादनको करिब ४० प्रतिशत आलु भारतलगायत तराईका विभिन्न क्षेत्र र अन्य विभिन्न जिल्लामा निर्यात भएको हो भने गत वर्ष रामेछापबाट १५ करोड बरावरको आलु निर्यात भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले जनाएको छ ।

आलु जोन कार्यक्रमअन्तर्गत रामेछापमा गुणस्तरीय आलुको बीउ उत्पादन तथा भण्डारको लागि ६ वटा बीउ श्रोत केन्द्र रहेका छन् । भने २ वटा बीउ उत्पादन क्षेत्र रहेका छन् । जिल्लामा हरेका वर्ष ५ सय मेट्रिक टन आलुको बीउ उत्पादन हुने गरेको छ । रामेछापमा उत्पादन भएको बीउ अन्य जिल्लामा समेत निर्यात हुने गरेको आलु जोनका प्राविधिक बलबहादुर थापा मगरले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रामेछापको उमाकुण्ड र गोकुलगङ्गा गाउँपालिकालाई आलु उत्पादनको जोन क्षेत्र घोषणा गरेएपछि किसान उत्साहित भएका छन् । उमाकुण्ड गाउँपालिकाको वडा नम्बर १ देखि ७ र गोकुलगङ्गा गाउँपालिकाको १ देखि ६ नम्बर वडालाई आलु जोन घोषण गरी काम गरिरहेको छ ।

कृषि तालिम प्राविधिक सहयोग सिँचाईको लागि सुविधा तथा समूह परिचालन भए पश्चात् रामेछापमा आलु उत्पादनमा वृद्धि भएको छ । आलु खेतीतर्फ किसानको आकर्षण बढाउन कृषि ज्ञान केन्द्र रामेछाप र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले अनुदानमा आलुको बीउ वितरणका साथै प्राविधिक सहयोग समेत गर्दै आएको छन् ।

रामेछापको माथिल्लो क्षेत्रमा उत्पादन भएको आलुको बीउ तथा आलु सबैभन्दा राम्रो भएकाले जिल्ला बाहिरका र भारतका विभिन्न क्षेत्रमा निर्यात हुने गरेको छ । अहिले रामेछापमा उत्पादन भएको आलुलाई ब्राण्डिङ् गरेर आलु निर्यात गर्न सुरु गरिएको छ ।

आलु खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि केही वर्षदेखि आलु खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको बताउँछन् । उन्नत जातको बीउ तथा कृषिमा प्रविधिको प्रयोगसँगै आलु उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र रामेछापकी सूचना अधिकारी शर्मीला फुयाँलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्