बन्दीको शंकास्पद मृत्यु- बालसुधार गृहको अवस्था तनावपूर्ण



–भागेका २ सय २१ मध्ये १ सय ९४ बन्दी नियन्त्रणमा
–स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलायो
–सत्यतथ्य बाहिर ल्याइने
–संयमित बन्न र कानुन बाहिर नजान प्रजिअको आग्रह

भक्तपुर । भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहबाट विभिन्न अपराधमा संलग्न भई यहाँ राखिएका २ सय २१ बालबालिका तथा किशोरहरु भागेका छन् ।

बालसुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका–३ कठजोरका १८ वर्षीय कमल बस्नेतको मृत्युलाई लिएर उत्पन्न तनावका बीच सोमबार प्रदर्शनका क्रममा उनीहरू सुधार गृहको ढोका फोरेर भागेका सुधार गृहले जनाएको छ । सुधार गृह प्रशासन र प्रहरीमाथि कारबाहीको माग गर्दै घरेलु हतियारसहित उनीहरु विरोधमा उत्रिएका थिए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार फरार भएका उनीहरूको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । बाहिर निस्केका २० जना बन्दीलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त ठिमीमा राखिएको स्रोतले जानकारी दिएको छ । सुधार गृहमा २ सय ५६ जना बन्दी रहेकोमा हाल ३२ जना किशोरी र केही बालकमात्रै बाँकी रहेको प्रजिअ रिजालले जानकारी दिनुभयो ।

बस्नेतको मृत्यु शंकास्पद भन्दै सुधार गृहभित्रका बालबन्दीहरूले नाराबाजी गर्दै सुधार गृहको कम्पाउन्डको मूल ढोका फोडेर बाहिर निस्किने र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

सुधार गृहमा सशस्त्र प्रहरी बलको टोलीले सुरक्षा दिइरहेको छ । सुधार गृहमा रहेका बालिकाबन्दीहरू भने त्यहीँभित्र रहेका छन् । भिडन्तमा ६ कैदी र १२ प्रहरी घाइते भएको बुझिएको छ । घाइते बन्दीमध्ये एक जना गम्भीर छन् भने दुई जनाको स्थिति सामान्य भएको स्रोतले जानकारी दिएको छ । घाइतेहरूको नागरिक अस्पतालमा उपचार भइरहेको छ । बन्दीहरूले सुधार गृह बाहिर निस्केर प्रहरीमाथि आक्रमण गर्दै लखेट्न खोजेको प्रत्यक्षदर्शीको भनाइ छ । अहिले यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएको छ ।

सुधार गृहमा सजाय भुक्तान गरिरहेका बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो । सोही विषयमा सुधार गृहको लापरबाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधार गृहबाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । बाहिरी उक्साहटमा लागेर उपद्रो नगर्न भन्दै प्रमुख जिल्ला अधिकारी रिजालले छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउने भएकाले संयमित बन्न र कानुनबाहिर नजान बन्दी र आफन्तजनमा आग्रह गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बस्नेतको मृत्यु सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा छानबिन समिति गठन गरिसकेको छ । समितिमा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त पाठक र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य एवम् जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोककुमार पोखरेल सदस्य सचिव रहनुभएको छ ।

समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकिएको छ । बस्नेत बिरामी भई उपचारका लागि मध्यपुर ठिमी ३, गठ्ठाघरस्थित नागरिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो । आइतबार बस्नेतको मृत्युपछि बालसुधार गृह तनावपूर्ण बनेको थियो । बालसुधार गृहभित्र रहेका थुनुवा र बाहिर रहेका आफन्तले नाराबाजी गर्नुका साथै तोडफोडको प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको हो ।

सुधारगृहले परिवारलाई मृत्यु भएको खबर दिएको भए पनि मृत्युको कारण पुस्ट्याइँ हुन नसकेको भन्दै आफन्त आक्रोशित भएका हुन् । सुधार गृहका कर्मचारीले बस्नेतलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पताल लगे पनि अस्पताल पुग्नुअघि नै मृत्यु भएको परिवारका सदस्यहरूले दाबी गरेका छन् । अदालतको आदेशले बस्नेत २०७७ सालदेखि बालसुधार गृहमा थिए । मृतकको शव पोस्टमार्टमका लागि काठमाडौं मेडिकल कलेजमा पठाइएको डीएसपी पाठकले बताउनुभयो । प्रारम्भिक अनुसन्धानमा शंकास्पद देखिँदैन तर पोस्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान अघि बढ्ने उहाँले बताउनुभयो ।

युसेप नेपालको व्यवस्थापनमा नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको बालसुधार गृहमा क्षमताभन्दा बढी बालबन्दी रहेका छन् । यहाँ २ सय १० जनाको क्षमता रहे पनि विभिन्न अपराधका घटनामा परेर सुधार गृहमा रहेका ४३ जना केटी र २ सय ५७ जना केटा गरी हाल ३ सय बन्दी रहेका युसेप नेपालका निर्देशक केशव सुवालले जानकारी दिनुभयो ।

बालबालिकालाई मात्रै सुधार गृहमा राख्ने नियम भए पनि १८ वर्ष उमेर नाघेकालाई सरकारले कारागारमा पठाउने व्यवस्था नगर्दा सुधार गृहमा १८ वर्षभन्दा माथि उमेरका समेत रहेका छन् । सुधार गृहमै खाने, बस्ने, खेल्ने, पढ्नेलगायतको सुविधा सरकारले दिएको छ । सुधार गृहभित्रै रहेको विद्यालयमा कक्षा १० सम्मको अध्ययन हुने गरेको निर्देशक सुवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्