पूर्वप्रम भट्टराई र नेपालको बयान : सीआईबीको झारा टार्ने काम



काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा नीतिगत निर्णय लिएका पूर्व प्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधवकुमार नेपालसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उहाँहरूको घरमै पुगेर बयान लिएपछि सीआईबीमाथि झारा टारेको आरोप लागेको छ ।

निर्णयकर्तालाई उन्मुक्ति दिएर टिप्पणीकर्तामाथि मात्रै सीआईबीले कारबाहीको डण्डा चलाएको भन्दै आलोचना भइरहेको बेला सीआईबीले पूर्व प्रधानमन्त्रीद्वय डा. भट्टराई र नेपालको निवासमा आफैं गएर बयान लिएपछि झारा टारेको आरोप लागेको हो ।

दुई पूर्व प्रधानमन्त्रीसँग बयान लिए पनि सीआईबीले बुझाउने प्रतिवेदन उनीहरूलाई प्रतिवादी बनाउँछ कि बनाउँदैन भन्नेमा शंका उब्जेको छ । सीआईबीको टोलीलाई बयान दिएका दुवै प्रधानमन्त्रीले आफूहरू भ्रष्टाचारविरुद्ध रहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएर जग हसाउने काम गरेको भन्दै टिप्पणी भइरहेका छन् ।

दुई पूर्व प्रधानमन्त्रीसँग बयान लिँदा सत्ता नै तलमाथि पर्ने भएपछि सत्ता गठबन्धनले दुवै जनालाई बयान नदिन र बयान नलिन दबाब दिए पनि जनस्तरबाट सरकारको चर्को आलोचना हुन थालेपछि सीआईबीले झारा टार्न भए पनि बयान लिएको हो । ललिता निवासको १ सय २२ रोपनी जग्गा हिनामिनामा नेपाल र भट्टराई प्रधानमन्त्री हुँदाको मन्त्रिपरिषद्ले सदर गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठमार्फत् भट्टराई र नेपालसँग बयान नलिई प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउन सीआईबीलाई निर्देशन दिनुभएको थियो । नेपाल प्रहरीको साख गिर्ने गरी गृहमन्त्री श्रेष्ठले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दुई पूर्व प्रधानमन्त्रीहरूको बयान नलिकनै प्रतिवेदन बुझाउन निर्देशन दिएपछि सरकारमाथि तीव्र दबाब परेको थियो । अन्ततः सीआईबीकोे छुट्टाछुट्टै टोलीले पूर्व प्रधानमन्त्रीद्वय भट्टराई र नेपालको निवासमा पुगेर बयान लिएको थियो । सर्वाेच्च अदालतको आदेशले तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान लिन बाटो खुलेको हो ।

यसैबीच जिल्ला अदालतले सोमबार बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

उक्त काण्डको छानबिन गरीरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार मुद्दा बुझाउने तयारी गरे पनि पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराइसँग आइतबार साँझ घरमै गएर बयान लिएपछि प्रतिवेदन तयार गर्न केही दिन लाग्ने भएकोले पक्राउ परेकाविरुद्ध तीन दिन म्याद थप्न आरोपीहरूलाई अदालत लगिएको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १८ जनालाई थप ३ दिन हिरासतमा राख्न सीआईबीलाई अनुमति प्रदान भएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्