पूर्व मुमा बडामहारानी रत्नको ९६औं जन्मोत्सव, बिनाकुनै तडकभडक सामान्य रूपमा मनाइँदै



काठमाडौं । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह आजबाट ९६ वर्ष लाग्नुभएको छ । जन्मोत्सवको दिन आज सोमबार नागरिक मूल समारोह समितिले महेन्द्र मञ्जीलसँगै रहेको नारायण मन्दिर परिसरमा दीर्घायुको कामनासहित दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । साथै, मूल समारोह समितिका अधिकारीले बिहान ११ बजे मुमा बडामहारानीसमक्ष शुभकामना चढाउने कार्यक्रम रहेको छ भने साँझ पूर्वराजा ज्ञानेन्द्रसहित सपरिवार महेन्द्र मञ्जिलमा पुगेर जन्मोत्सव मनाउने कार्यक्रम रहेको छ ।

यसअघि शनिवार हिमानी ट्रस्टले होटल सोल्टीमा ‘च्यारिटी सो’को आयोजना गरेर उहाँको जन्मोत्सव मनाएको थियो । ट्रस्टका अध्यक्ष पूर्वयुवराज्ञी हिमानी शाह, ट्रस्टका पदाधिकारी, शुभेच्छुकको उपस्थिति रहेको उक्त कार्यक्रममा मुमा बडामहारानी रत्नको जीवनी बारेमा जानकारी गराइएको थियो ।

जन्मोत्सवको पूर्वसन्ध्यामा युवा विश्वहिन्दु महासंघले अध्यक्ष राजन महर्जनको नेतृत्वमा पूर्व मुमा बडामहारानीको सुस्वाथ्य र दीर्घ जीवनको कामना गर्दै धरानको पिण्डेश्वरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको थियो ।

राजा महेन्द्रको स्वर्गारोहणपछि शाकाहारी बन्नुभएका पूर्व मुमा बडामहारानी रत्नको मुख्य खाना नै दूध हो । नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको महेन्द्र मञ्जिलमा बस्दै आउनुभएका उहाँ आफूलाई घरमै भेटघाट गर्न आउने आफन्तबाहेक कसैसँग भेटघाट गर्न चाहनुहुन्न ।

शुक्रवार साँझ नेपाल आइपुग्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाह नेपाल आउनासाथ आमा रत्नसँग भेट गर्न महेन्द्र मञ्जिल पुग्नुभएको थियो । उहाँको साथमा पूर्वरानी कोमल, बुहारी, हिमानी, छोरी प्रेरणालगायत आफन्त महेन्द्र मञ्जिल पुग्नुभएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह हप्ताको एक दिन आमा रत्नलाई भेट्न महेन्द्र मञ्जिलमै पुग्ने गर्नुभएको छ । घरबाट बाहिर निस्कन रुचि नराख्ने उहाँले आजको जन्मदिन पनि कुनै तडकभडक नगरी सामान्य रूपमा मनाउनुहुने भएको छ ।

पुजापाठ गर्ने र सुसारेसँग बोलचाल गर्ने र कोही आफन्त भेट्न आए सामान्य बोलचाल गर्ने गर्नुभएका पूर्व बडामहारानी रत्न एकान्तवास नै मन पराउनुहुन्छ । २०५८ सालमा भएको दरबार हत्याकाण्डपछि सधैं निरास देखिनु हुने उहाँले महेन्द्र मञ्जिलको बास भने बस्न छाड्नुभएको छैन ।

सजिलै हिँडडुल गर्नसमेत मुस्किल हुँदै गएको मुमाबडामहारानी रत्नको स्वास्थ्य अवस्था खस्कँदै गएको छ । यद्यपि, एक दशकदेखि उहाँको दिनचर्यामा केही फेरबदल भएको छैन । बिहान ९ बजे उठ्ने, ११ बजे खाजा र १ गिलास दूध, दिउँसो ३ बजे खाना र बेलुकी १० बजे एक गिलास दूध पिएर रातको ११ बजे सुत्ने उहाँको दैनिकमा कुनै फेरबदल आएको छैन ।

उहाँको नियमित स्वास्थ्य परीक्षण गर्न डा. किशोरजंग राणा र जनरल फिजिसियन डा. खगेन्द्रबहादुर श्रेष्ठ निर्मल निवास नै पुग्ने गर्नुभएको छ । उमेरका कारण उहाँमा समस्या देखिएपछि स्वास्थ्यको कारण कुनै समस्या देखिएको छैन । आमालाई बुढ्यौलीले छोएपछि पूर्वराजा ज्ञानेन्द्र हप्ताको एकदिन अनिवार्य रूपमा महेन्द्र मञ्जिल पुग्ने गर्नुभएको छ । मुमा रत्नलाई भेट्न हरेक दिन परिवारका एकजना सदस्य महेन्द्र मञ्जिल पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्