नेसनल पेमेन्ट गेटवे खरिदमा अनियमितता, टेलिकमका प्रबन्ध निर्देशक पौडेलविरुद्ध मुद्दा दायर हुन सक्ने



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्धनिर्देशक सुनील पौडेलसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगातार ४ दिनसम्म बयान लिएको भए पनि अख्तियार उहाँको बयानबाट सन्तुष्ट नभएको बताइएको छ ।

पौडेलको बयान सकिए पनि अख्तियारले ‘नेसनल पेमेन्ट गेटवे’ खरिदमा संलग्न विभिन्न पक्षसँग बयान लिने क्रम जारी राखेको छ । अख्तियारका अनुसन्धान अधिकृतहरूका अनुसार नेसनल पेमेन्ट गेटवे खरिद प्रकरणमा खरिद कार्यमा संलग्न, लागत अनुमान तयार गरी स्वीकृत गर्नेलगायतका सबै पक्षलाई क्रमशः बयानमा बोलाइएको छ र उनीहरूसँग बयान लिने क्रम जारी छ ।

स्रोतका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा सुनिलको नेतृत्वमा भएको उक्त खरिद प्रकरणमा करोडौंको अनियमितता गरेको भन्दै उहाँविरुद्ध अख्तियारमा उजुरी परेपछि अख्तियारले त्यसलाई उच्च प्राथमिकतामा राखेर छानबिन गर्दै आइरहेको हो । अख्तियारले यसअघि यस्तै खरिद प्रकरणमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई हालेको मुद्दाको नजिरले सुनिलमाथि पनि भ्रष्टाचार मुद्दा दायर हुने सम्भावना बढेको स्रोतको दाबी छ ।

अख्तियारले विकलसहित ९ जनाविरुद्ध सुरक्षण मुद्रणको पूर्वाधार खरिद कार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने तथा आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने सामान खरिद गर्ने कार्य गरी नेपाल सरकारको सम्पत्ति गैरकानुनी तवरले हानिनोक्सानी तथा सरकारी रकम दुरुपयोग गरेको अभियोग लगाएको थियो ।

सुनिलको नेतृत्वमा खरिद गरेको नेसनल पेमेन्ट गेटवेमा पनि अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने तथा आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने सामान खरिद गर्ने कार्य गरी नेपाल सरकारको सम्पत्ति गैरकानुनी तवरले हानिनोक्सानी तथा सरकारी रकम दुरुपयोग गरेको पाइएको अख्तियारको प्रारम्भिक छानबिनले देखाएको बताइएको छ । अख्तियार स्रोतले खरिद प्रक्रियामा बदमासी भएको देखिएपछि थप प्रमाणहरू जुटाउने कार्य गर्दा केही समय लाग्न सक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्