कर्मचारीकै गिरोहले दिए तस्करलाई नागरिकता

के भन्छन् कर्मचारी ?



–नागरिकता लिने विदेशीको संख्या ५ पुग्यो
–गृहको छानबिन समिति निष्प्रभावी
–कर्मचारीको सेटिङ तस्करमार्फत् माथिसम्मै
–कर्मचारीका विरुद्ध सीआईबीले थाल्यो छानबिन

काभ्रे । सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिको साथमा नेपाली नागरिता फेला परेसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेमा सीआईबीको टोलीले अनुसन्धान शुरू गरेको छ । आइतबार साँझसम्म काभ्रे जिल्ला प्रशासन कार्यालयबाट ५ जना विदेशी नागरिकले फर्जी कागजात तयार गरी नागरिकता र राहदानी लिएको भेटिएको छ । ६० किलो सुन तस्करीको योजनाकारमध्येका एक दावा छिरिङलगायत ५ जना विदेशी नागरिकलाई नागरिकता दिन कर्मचारीकै गिरोहसमेत सक्रिय भएको देखिएको छ । दावाले माथिदेखि तल कर्मचारीसम्ममा नै सेटिङ गरेर नागरिकता हत्याएको देखिएको छ ।

तत्कालीन समयमा प्रमुख जिल्ला अधिकारीका रूपमा शिव सिंखडा कार्यरत हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा कार्यरत तत्कालीन समयका अधिकृत भूपेन्द्र पाण्डेय हाल लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । उहाँ अहिले उपसचिव हुनुहुन्छ । अर्का अधिकृत झपेन्द्रराज खरेल हुनुहुन्छ । उहाँकै हस्ताक्षरबाट निमा र पासाङका नाममा नागरिकता जारी भएको छ । खरेल हाल मेलम्ची नगरपालिकाको सूचना अधिकृत हुनुहुन्छ । उहाँकै हस्ताक्षरमा अधिकांश नागरिकता जारी भएका छन् ।

सोही फाँटमा कार्यरत नायब सुब्बा रामचन्द्र अर्याल हुनुहुन्थ्यो । अनुसूची गायब बनाउँदै विदेशी र स्वदेशीलाई नक्कली कागजात तयार गरी नागरिकता वितरणमा मुख्य भूमिका उहाँको देखिन्छ । उहाँ हाल काठमाडौं गुर्जुधारास्थित यातायात कार्यालयमा कार्यरत हुनुहुन्छ । उहाँहरूले सम्पन्न गरेको कार्य गर्ने कम्प्युटर अपरेटर हीराकाजी तामाङ हुनुहुन्थ्यो । एकपटक कारबाहीमा परेका उहाँ अस्थायी हुनुहुन्थ्यो । जिल्ला प्रशासन कार्यालय काभ्रेमा रहँदा उहाँलाई कारबाही गरेर फेरि राजनीतिक संरक्षणमा काममा आउनुभएको थियो । पछि उहाँले लोकसेवा आयोगबाट नाम निकालेर मण्डनदेउपुर, तेमाल हुँदै हाल चौंरीदेउराली गाउँपालिकाको वडानम्बर १ को सचिवको जिम्मेवारीमा हुनुहुन्छ । नागरिकता टाइप गर्ने र सेटिङ मिलाउने अभियानमा उहाँ पनि संलग्न रहेको स्रोतको दाबी छ ।

‘२०७४ साल पुस २० गते दुईवटा नागरिकता विदेशी नागरिकले लिएको खुलेको छ । त्यस्तै, २०७६ फागुन १२ गते अर्का विदेशीले काभ्रेबाट राहदानी लिएको तथा २०७८ पुस ८ गते दुई विदेशीले नेपालीका नाममा राहदानी लिएको तथ्य फेला परेको छ’, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो– ‘सीआईबी तथा अन्य निकायबाट भइरहेको अनुसन्धानलाई काभ्रे प्रशासनले भरपुर सहयोग गरिरहेको छ ।’ जिल्ला प्रशासन कार्यालय आफैंले पनि गैरकानुनी रूपमा नागरिकता लिएको सूचना पाएलगत्तै त्यस सम्बन्धमा छानबिन गरिरहेको छ भने नयाँ नागरिकता र प्रतिलिपिमा कडाइका साथ यकिन गरेर उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । साउन महिनामा १६ वटा नागरिकता रद्द गरी कारबाहीका लागि पठाइएको प्रजिअ पौडेलले बताउनुभयो । शुक्रवार सीआईबीले थप दुई जना तेन्जिङ गुरुङ र पासाङ तामाङका बारेमा विवरण पठाउन प्रशासनलाई पत्र पठाएको थियो । यसअघि दावा छिरिङ भनिने निमा तामाङ, राम लामा र सोनाम लामाका बारेमा विवरण माग गरेको थियो ।

उता गृह मन्त्रालयले गठन गरेको छानबिन समिति भने निष्कर्षविहीन बनिरहेको छ । शुरूमा ७ दिनको समय दिएर गठन गरिएको छानबिन समितिले प्रारम्भिक अनुसन्धान गरे पनि गहिराइमा पुगेर अनुसन्धान गर्न सकेको छैन । सीआईबीले भने नागरिकता र राहदानी जारी गर्ने कर्मचारीका बारेमा पनि प्रशासन कार्यालयसँग विवरण मागेको छ । ‘प्रशासन कार्यालयमा समेत आवश्यक विवरण छैन’, एक अधिकृतले भने– ‘भएका कागजात अनुसन्धानको सहजताका लागि पठाएका छौं ।’ ३ सय ५० जनाको अनुसूची गायब बनाउँदै विदेशीलाई नागरिकता जारी गर्ने समयका कर्मचारीहरूमाथि भने गृह मन्त्रालयले अझै छानबिन शुरू गरेको छैन । तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्ण राउतले एक वर्ष अवधिमा अनुसूची नभएका नागरिकताको विषयमा छानबिन तथा अनुसूची व्यवस्थापन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा ३ सय ५० जनाको नामावली तयार भएको थियो ।

गृह मन्त्रालयमा बुझाएको प्रतिवेदन पनि गायब छ । जिल्ला प्रशासन कार्यालयमा पनि उक्त प्रतिवेदन छैन । गृह मन्त्रालयले छानबिन गर्न गठित समितिले पनि उक्त प्रतिवेदन फेला पार्न सकेको छैन । प्रतिवेदन तयार गरे पनि तत्कालीन समयमा नागरिकता जारी गर्ने र त्यो कार्यमा संलग्नहरूलाई अझै अनुसन्धान गरी कारबाहीको दायरामा ल्याइएको छैन । सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङ भनिने निमा तामाङले २०७४ पुस २० गते जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नागरिकता लिएका थिए । २०७८ सालमा पनि उनका बारेमा अनुसन्धान भएको थियो । नागरिकता लिन प्रयोग भएका अनुसूचीहरू गायब बनाइएको, विदेशी भएको तथा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको पुष्टि भए पनि दावालाई कारबाही नभएको मात्रै होइन उनको नागरिकता पनि रद्द गरिएको थिएन ।

दावाले आफ्नै दाजु बनाएर बाबु पेमा तामाङ राखेर पासाङ तामाङका नाममा चिनियाँ नागरिकलाई एकै दिन नागरिकता दिलाएका थिए । उनी को हुन् ? के गर्दै छन् अझै खुलेको छैन । ‘चिनियाँ नागरिक ली नेङकाईको साथमा राम लामा र सोनाम लामा नामका दुईवटा राहदानी बरामद भएका छन्’, स्रोतले बतायो– ‘राम र सोनामले एकै दिन काभ्रेबाट २०७८ पुस ८ गते राहदानी लिएका हुन् । उनीहरूले लिएको राहदानीअनुसारको नागरिकता नम्बर भने गृह मन्त्रालयको रेकर्डमा भेटिँदैन ।’ राम लामाको जन्म २०५३ वैशाख १५ गते राखिएको छ ।

नागरिकता नभएकाले ठेगाना प्रस्ट छैन । १२५८९४५७ नम्बरको राहदानी लिएका रामको नागरिकता नम्बर ३०३०४१–२२५४ हो । यो जिल्लाको अभिलेखमा नक्कली हो । यस्तो खालको नम्बर काभ्रेबाट जारी भएको नागरिकतामा छैन । सोनाको राहादानी नम्बर १२५८९४५६ र नागरिकता नम्बर ३०३०४२–२२५४ हो । जन्ममिति २०५३ भदौ ७ राखिएको छ । नागरिकता र राहदानीको नम्बर सँगै छ । उनीहरू दुवै जना नेपाली हैनन् । प्रहरीको रेकर्डमा भने दावा, सोनाम र रामको मात्रै नागरिकता फेला परेको छ । सीआईबीले गरेको अनुसन्धानमा पासाङ र तेन्जिङ थपिएका छन् । तेन्जिङको राहदानी नम्बर ११८८०३१ हो । २०२०–२–२४ अर्थात् २०७६ फागुन १२ गते काभ्रेपलाञ्चोक जिल्लाबाट लिएको राहदानीमा २०३९ जेठ २४ गते जन्ममिति राखिएको छ । त्यसमा काभ्रेपलाञ्चोक जिल्ला जन्मस्थान उल्लेख गरिएको छ । अन्य व्यक्तिहरू पनि विदेशी भएको आशंका गरिएको छ ।

के भन्छन् कर्मचारी ?

तत्कालीन समयमा कार्यरत प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले आफूलाई उक्त विषयमा जानकारी नभएको बताउनुभएको छ । सिंखडा पछि कृष्ण राउत प्रमुख जिल्ला अधिकारीको कार्यकालमा भएको छानबिनको प्रतिवेदन कार्यान्वयन हुन सकेन । निमा तामाङ र पासाङ तामाङको नागरिकताका सन्दर्भमा हस्ताक्षरकर्ता अधिकृत झपेन्द्रराज खरेलले आफूलाई केही थाहा नभएको बताए । ‘हामीले प्राप्त गरेका कागजातका आधारमा नागरिकता उपलब्ध गराउने हो, अन्य कुरा थाहा भएन’, अधिकृत झपेन्द्रराज खरेलले भन्नुभयो– ‘किर्ते कागजातका आधारमा नागरिकता लिएको वा व्यक्ति नै अन्य मुलुकको भएको कुरा समाचारपछि जानकारी पाएँ । थप अध्ययन गर्नेछु ।’ जानेर वा नियत राखेर कसैलाई पनि नागरिकता दिने कार्यमा संलग्न नभएको खरेलले बताउनुभयो ।

सहायक कम्प्युटर हीराकाजी तामाङले आफूलाई यो विषयमा केही जानकारी नभएको बताउनुभएको छ । तयार भएका कागजातका आधारमा नागरिकता टाइप र प्रिन्ट गर्ने जिम्मेवारीअनुसार गरेकाले अन्य विषयमा जानकारी नभएको उहाँले बताउनुभयो । फोन सम्पर्कमा अधिकृत पाण्डेय र सुब्बा अर्याल आउनै चाहनुभएन ।

यी कर्मचारी कार्यरत थिए

प्रमुख जिल्ला अधिकारी– शिवप्रसाद सिंखडा (हाल : सेवा निवृत्त)
अधिकृत – भूपेन्द्र पाण्डेय (हाल : प्रमुख प्रशासकीय अधिकृत, लुम्बिनी सांस्कृतिक नगरपालिका, रूपन्देही)
अधिकृत – झपेन्द्रराज खरेल (हाल : सूचना अधिकारी, मेलम्ची नगरपालिका, सिन्धुपाल्चोक)
नायव सुब्बा – रामचन्द्र अर्याल (हाल : सुब्बा, यातायात कार्यालय, गुर्जुधारा काठमाडौं)
कप्युटर अपरेटर – हीराकाजी तामाङ (हाल : वडा सचिव, चौंरीदेउराली गाउँपालिका काभ्रे)

काभ्रेबाट नेपाली नागरिकता र राहदानी लिएका विदेशीहरू

१) दावा छिरिङ भनिने निमा तामाङ
२) पासाङ तामाङ
३) सोनाम लामा
४) तेन्जिङ गुरुङ
५) राम लामा

प्रतिक्रिया दिनुहोस्