कांग्रेसमा आन्तरिक मतभेद चुलिँदै



–पार्टी एकखाले मान्छेहरूको कब्जामा परेको
–रूपान्तरण र पुनर्जागरणलाई स्वीकार्नै नसकेको आरोप
–युवा नेताहरूबाट पनि अपेक्षित उपलब्धि नभएको गुनासो

काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र आन्तरिक मतभेद चुलिँदै गएको छ । पार्टीको विधानभन्दा पनि व्यक्ति केन्द्रित गतिविधिहरू बढ्दै जाँदा संस्थापन र संस्थापनइतर समूहबीच मतभेद चुलिँदै गएको हो ।

कांग्रेसको केन्द्रीय समितिमा संस्थापन पक्षको सहज बहुमत रहेकाले संस्थापनइतरका शेखर कोइराला–गगन थापा समूहको कुनै पनि एजेन्डालाई संस्थापन पक्षले ग्रहण नगर्ने तर उक्त समूहले आफ्ना एजेन्डाका बारेमा पार्टीका बैठकदेखि हरेक सार्वजनिक कार्यक्रममा निरन्तर उठाइरहँदा नेताहरूबीचको सम्बन्धमा सुधार आउन नसकेको केन्द्रीय सदस्यहरूले बताएका छन् । एक वर्षपछि गत साउन २ गतेदेखि ८ गतेसम्म चलेको केन्द्रीय समितिको बैठकपछि पार्टी नयाँ ढंगबाट अघि बढ्ने अपेक्षा राखेका अधिकांश कार्यकर्ताहरूले आशा गर्न सक्नेगरी पार्टीले निर्णय गर्न नसकेको केन्द्रीय सदस्य मधु आचार्यले बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले सोचेका थियौं, साउनको बैठकपछि पार्टीमा केही नयाँपन आउँछ र कार्यकर्ताहरूको निरासा आशामा बदलिन्छ, तर बैठकले त्यास्तो एजेन्डा पारित गर्नै सकेन । बैठकपछि सभापति र डा. शेखर कोइराला पक्षका नेताहरूबीचको सम्बन्धका कुनै सुधार आउने छाँटै देखिएको छैन ।’ उहाँले पार्टीका हरेक गतिविधिमा संस्थापन पक्षकै मान्छेहरू मात्रै अघि सार्ने, आलोचनात्मक टिप्पणी गर्नेहरूप्रति द्वेषको भावनाले हेर्ने र रूपान्तरणको एजेन्डा अघि सार्नेहरूलाई पाखा लगाउने सभापति निकटका नेताहरूको प्रवृतिका कारण पार्टीमा विग्रह कायमै रहेको टिप्पणी गर्नुभयो ।

कांग्रेस बदल्न चाहने नेताहरूको आवाज पार्टीमा मधुरो बन्दै गएको टिप्पणी गर्दै कांग्रेस सहमहामन्त्री जीवन परियारले भन्नुभयो–‘पार्टीलाई एकखाले मान्छेहरूले कब्जा गरेका छन् । भ्रातृसँगठनका प्रमुखहरू मनोमानी रूपमा हटाइएको छ । पार्टीभित्र कुनै छलफल बिना नै जिल्ला तहका पार्टीका सांगठनिक संरचनाहरूमा राजीनानामा दिन लगाउने र आपूmअनुकूलका व्यक्तिहरूलाई नेतृत्वको जिम्मेवारी दिने प्रवृत्ति पछिल्लो समय बढेको छ ।’

चौधौं महाधिवेशनबाट मूल नेतृत्वबाहेक धेरै नेताहरूले युवाहरूको प्रतिनिधित्व गर्ने र पार्टीलाई विधिविधान र योजनागत रूपमा लैजाने अपेक्षा गरिए पनि नेतृत्व तहमा पुगेका युवा नेताहरूले पनि आफ्नै लागि मात्रै काम गर्ने गरेको केन्द्रीय सदस्य नैनसिंह महरको आरोप छ । उहाँले भन्नुभयो– ‘पार्टीमा नयाँ पुस्ताको प्रवेश भयो तर, उनीहरूले आफूअनुकूल मात्रै काम गरे । नेतृत्वलाई गाली गरेरमात्रै समय बर्बाद गर्दै गएको देखिन्छ । यसले समग्र रूपमा पार्टीमा पुनर्जागरण आउँदैन ।’

तर, महामन्त्री गगन थापाले आफ्नो एजेन्डाबाट पछि नहटेको जिकिर गर्दै सार्वजनिक रूपमै पार्टीलाई बदल्नका लागि पार्टी र संसद्मा नेतृत्वको विकल्प खोज्नुपर्ने बताउने गर्नुभएको छ । शुक्रवार इलामको फिक्कलमा आयोजित विचार गोष्ठीमा अब कांग्रेस बदल्न नचाहनेहरू कमजोर बन्दै जानेसमेत टिप्पणी गर्दै थापाले भन्नुभयो– ‘सभापतिको परम्परागत तरिका सहेर बस्दैनौं । भित्र संघर्ष गर्छौं, पार्टी बदलेरै छाड्छौं, कांग्रेस बदलिए मात्र देशमा परिवर्तन आउन सक्छ ।’ पार्टी सत्ता र राज्य सत्ताको नेतृत्वमा पटकपटक एउटै मान्छे पुगे पनि कुनै रूपान्तरण नभएकाले अब कांग्रेस नयाँ तरिकाका साथ जाग्नुपर्ने जिकिर गर्दै उहाँले भन्नुभयो– ‘तर जनताका समस्या सम्बोधन हुन सकेका छैनन् । यही तरिकाले २०८४ सालको आम निर्वाचनमा ठूलो पराजयको सिकार बन्न सक्ने अवस्थालाई आज नसोचे कहिले सोच्ने ?’

एकापसमा अस्तित्व स्वीकार गर्न नसक्ने परिस्थिति बनेको देखिए पनि कांग्रेसका सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने पार्टीमा ठूलो तिक्तता नभएको जिकिर गर्नुभयो । नेताहरूले सार्वजनिक रूपमा बोलेजस्ता पार्टीमा समस्या नभएको दाबी गर्दै विश्वकर्माले भन्नुभयो– ‘पार्टीले निर्णय गरेर नै सबै कामहरू गरिरहेकाले लोकतन्त्रमा बहुमतको निर्णयलाई मान्नुपर्छ र पार्टीले गरेका निर्णयहरूलाई कार्यन्वायन गर्न सबै जिम्मेवार हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्