उपत्यकामा आँखा पाक्ने रोगको संक्रमण : आँखा पाकेका शिक्षक-विद्यार्थीलाई बिदा, विद्यालय सञ्चालनमा



–स्थानीय तह पर्ख र हेरको अवस्थामा
–तीन स्थानीय तहका विद्यालय बन्द
–महानगरभित्रका केही विद्यालय बन्द

काठमाडौं । आँखा पाक्ने रोग (आईफ्ल्यु) को संक्रमण बढ्दै गएपछि केही दिनयता उपत्यकाका विद्यालय धमाधम बन्द हुन थालेका छन् । केही विद्यालयले केही दिनका लागि बन्द गरेका छन् । अधिकांश विद्यालयका विद्यार्थीलाई आँखा पाक्ने रोगको संक्रमणले छोएको छ । ती विद्यालयले संक्रमण भएका विद्यार्थीलाई घरमै बस्न सल्लाह दिएको छ । अधिकांश विद्यालयमा केही न केही मात्रामा संक्रमण देखिएको छ ।

विद्यार्थीमा संक्रमण बढेपछि अभिभावकसँग सल्लाह गरी घर फर्काउने गरेको विद्यालयको भनाइ छ । प्याब्सनका अध्यक्ष डीके ढुंगानाले केही विद्यालयमा संक्रमण देखिएको बताउनुभयो । ‘संक्रमण देखिएका विद्यार्थीलाई छुट्टी दिएर नियमित कक्षा सञ्चालन गरिरहेका छांै, आवश्यकताको आधारमा बन्द गर्ने वा नगर्ने अधिकार विद्यालयकै हुन्छ’ –उहाँको भनाइ थियो । संक्रमण बढेपछि ललितपुरको अरनिको स्कुल बन्द गरिएको छ भने अन्य केही विद्यालयले बन्द गर्ने सोचाइमा रहेका छन् ।

काठमाडौं महानगरपालिकाले आँखा पाक्ने रोगको संक्रमण भए विद्यालय बन्द गर्ने अधिकार विद्यालयलाई दिएको छ । कामपाले सूचना जारी गरी आँखा पाक्ने रोगको कारण विद्यार्थी आउन नसके विद्यार्थीको पठनपाठनमा भएको क्षतिपूर्ति दिने गरी कक्षा थप गर्न निर्देशन दिएको छ ।

विभागले सबै विद्यालयलाई परिपत्र गरी आँखा पाक्ने सरुवा रोग भएकाले रोकथामका लागि विद्यालयले सरसफाइमा ध्यान दिन, आँखा पाकेका विद्यार्थीलाई घरमा आराम गर्न लगाउने र विद्यालयमा नियमित भइसकेपछि थप कक्षाको व्यवस्था गर्न निर्देशन दिएको छ ।

कामपा शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले आँखा पाक्ने रोगलाई नियन्त्रण गर्न र जनचेतानको काम गर्न विद्यालयको मुख्य भूमिका रहेको बताउँदै त्यस विषयमा सबैलाई ज्ञान दिनुपर्ने बताउनुभयो ।

कामपाले विद्यालय बन्द गर्ने विषयमा हालसम्म निर्णय गरिसकेको छैन । कामपाका प्रवक्ता नवीन मानन्धरले हालसम्म विद्यालय बन्द गर्ने सोचाइ नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘संक्रमण फैलिएर भयावह भए सो विषयमा पछि निर्णय होला, हालसम्म कुनै पनि निर्णय गरेको छैन ।’

उपत्यकाका मध्यपुर, सूर्यविनायक र गोकर्णेश्वर नगरपालिकाका विद्यालय चार दिनका लागि बन्द भएका छन् । आँखा पाक्ने रोगबाट बालबालिकालाई सुरक्षित राख्न भन्दै गोकर्णेश्वर नगरपालिकाले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मध्यपुर थिमी नगरपालिकाले बिहीबारबाट विद्यालय बन्द गरेको छ ।

हाल देशव्यापी रूपमा फैलिएको आँखा पाक्ने रोगका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेकाले विद्यालय बन्द गर्नुपरेको स्थानीय तहले जनाएको छ । ललितपुर महानगरपालिकाले आँखा पाक्ने संक्रमण बढेका विद्यालयको तथ्यांक संकलन गरिरहेको छ । ललितपुर महानगर शिक्षा शाखा प्रमुख महेन्द्र क्षत्रीले महानगरको १४ नम्बर, वुंगमती, खोकनालगायतका क्षेत्रका विद्यालयमा संक्रमण बढी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘केही वडाका विद्यालयका संक्रमण बढेको जानकारी आएको बताउँदै थप अध्ययन गरेर मात्र निर्णय गर्नेछांै ।’ उहाँले हिजो बिहीबारबाट संक्तमण बढेका विद्यालयको तथ्याङ्क संकलन थालिएको बताउनुभयो ।

ललितपुर नगरपालिकाले संक्रमण बढ्ने क्रम नरोकिए केही दिनका लागि विद्यालय बन्द गर्ने तयारी गरेको छ । शिक्षा शाखाप्रमुख क्षत्रीले विद्यालयमा अनुगमन गरिरहेका छौं, केही दिनपछि सो विषयमा जानकारी गराउनेछांै । ललितपुर र काठमाडौं महानगरपालिकाले तत्काल विद्यालय बन्द गराउने अवस्था नरहेको जनाएका छन् ।

हाल आँखा पाक्ने उक्त रोगको प्रत्यक्ष असर विद्यालयका शिक्षक, कर्मचारीलाई देख्न शुरू भएको छ । आँखा पाक्ने रोगको संक्रमण बढेपछि देशका अधिकांश जिल्लाका विद्यालय बन्द भएका छन् । वर्षातमा फोहोर पानीका कारण इन्फेक्सन भएर आँखा पाक्ने रोग बढेको हो । ‘एडिनो कन्जन्टिभाइटिस’ भाइसरको कारण आ आँखा पाक्ने रोगले भयावह रूप लिन थालेको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्