जिउँदो मान्छेको मरेको प्रमाणपत्र- भाइको करोडौंको अंश खान षड्यन्त्र गरेको खुलासा



बुटवल । भाइलाई जिउँदै मार्ने र भाइको अंश खाने गरी गरिएको रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ ले उपलब्ध गराएको मृत्यु प्रमाणपत्रको रहस्यपूर्ण खेल सार्वजनिक भएको छ । भाइलाई जिउँदै मार्ने आमालाई दोस्रो विवाह गरेको र श्रीमतीसहित २ सन्तानका बेदुराम कँडेलकोे विवाह नै नगरी मृत्यु भएको भनी किर्ते सरजमिन गराई करोडौं मूल्यको जग्गा कुम्लाउने खेलमा लागेका आफ्नै सहोदर दाजु इन्द्रकुमार कँडेल भने पक्राउ परेका छन् । जिउँदै मारिएका वेदुराम भने न्यायका लागि दौडधुपमा लागेका छन् ।

तिलोत्तमा नगरपालिका–४ को पूर्ववर्ती वडा सरकारले वेदुराम कँडेललाई दाजु इन्द्रकुमारको सिफारिसमा मृत्यु प्रमाणित गरेको देखिन्छ । स्वर्गीय पिता बलिभद्र कँडेलको नामको जग्गामध्ये बलिभद्रका चार भाइ छोरा र श्रीमतीको नाममा अंश लगाइसकिएको थियो । त्यसमध्ये कान्छो छोरा वेदुरामबाहेकले अंश लिइसकेका थिए । वेदुराम भारतमा रोजगारीमा थिए । त्यही मौका छोपेर उनी हकदाबी गर्न आउनुपूर्व नै तिलोत्तमा–४ को तत्कालीन वडा सरकारले जीवित वेदुरामलाई मृत्यु भएको प्रमाणपत्र दिलाएको हो । २०७८ साल भदौ १५ गते योजनालाई सफल पार्न वडा कार्यालयले वेदुरामका सहोदर दाजु इन्द्रकुमारलाई सूचक बनाएर वेदुरामलाई मृत्यु भएको प्रमाण पत्र दिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

सो कार्यमा साक्षीको रूपमा सैनामैना नगरपालिकाका पूर्णचन्द्र बस्याल, रीमा बस्याल, अजयकुमार न्यौपाने र धनीश्वरा न्यौपाने रहेका छन् । गजबको कुरा त के छ भने जहाँ स्वर्गीय बलिभद्रको जमिन रहेको सोही स्थान वरिपरि कँडेल परिवारका थुपै्र दाजुभाइ बसोबास गर्छन् । उनीहरूलाई भने वडा कार्यालय सोधपुछ गर्ने चेष्टा नै नगरी उता सैनामैना नगरपालिका–१ रानिवगियाका ती चार जना साक्षीलाई विश्वास गरेको छ । उनीहरूमाथि पत्यार गर्नुको कारण हो इन्द्रकुमार सैनामैनामा बसोबास गर्छन् । यतिसम्म नौटङ्की गरिन्छ कि जीवित वेदुरामको काजकिरिया गरेको मञ्चन गर्न केस मण्डन गरेर इन्द्रकुमार वडा कार्यालयमा भाइको मृत्यु दर्ताको प्रमाणपत्र लिन आएको त्यस वडाका वडा सचिव काशीराज ज्ञवाली बताउनुहुन्छ ।

नियमअनुसार सूचक आएकाले आफूहरूले विश्वास गरी दिएको र पछि उनै मृतक भनिएका वेदुराम वडा कार्यालयमा जीवित छु भन्दै आएपछि वडा कार्यालयले मृत्यु प्रमाणपत्र बदर र सूचकलाई कारबाहीका लागि नगरपालिका हुँदै जिल्ला प्रशासनमा सिफारिस गरिएकोे सचिव ज्ञवालीले स्पष्ट पार्नुभयोे ।

अर्को गजबको कुरा जीवित वेदुरामलाई मृतक मात्रै बनाइएको छैन, तीन भाइ छोरासँगै रहेकी वृद्ध आमालाई दोस्रो विवाह गरी गएको भन्दै चरित्र हत्यासमेत गरिएको छ । उता वेदुराम श्रीमतीसहित २ सन्तानका बुवा बनिसकेकालाई विवाह नै नगरेको झुटो विवरण पेस गरिएको छ । यसले के पुष्टि गर्छ भने नियोजित रूपमा वेदुराम उनकी आमा, श्रीमती र छोराछोरीहरूलाई अंशविहिन पारेर उनको हकदावी लाग्ने ३ कठा क्षेत्रफलको ३ करोड बढी मूल्यको जमिन गिरोहले कुम्ल्याउन सफल भएको देखिन्छ । कानुनले किर्ते सूचक बनेका इन्द्रकुमार कँडेललाई पहिला छोप्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जिल्ला प्रहरी कार्यालयलाई पक्राउका लागि पत्र पठाई निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसी श्यामु अर्याल बताउनुहुन्छ ।

घटनाका सम्बन्धमा त्यस वडाका तत्कालिन वडाध्यक्ष दिवाकर ढकालले सैनामैना–१ का ५ जनालाई सरजिमिन गराउँदा वेदुरामको मृत्यु भएको भन्ने बुझिएपछि सोही आधारमा मृत्यु दर्ताको प्रमाणपत्र जारी गरिएको बताउनुहुन्छ । जबकि, वडा अध्यक्षको सिफारिसका आधारमा बलिभद्रको नाममा रहेको तिलोत्तमा ४ को कित्ता नम्बर ३८८ र २९४ कित्ता नम्बरबाट ३९८७ कित्ता नम्बरमा ७ धुर, ३८९३ कि. नं २ कट्टा १३ धुर कायम गरिएको देखिन्छ । त्यस्तै, कि नं ३८९३ बाट पुनः साढे ५ धुर जग्गा ४१४३ कित्ता नम्बरमा कित्ताकाट भई गएको मालपोत कार्यालयको विवरणमा देखिन्छ । किर्तेकाममा साक्षी बस्नेहरू र सरकारी वडावाट वास्तविकता नबुझी मृत्यु प्रमाणपत्र प्रदान गर्नेलाई कस्तो कारबाही होला सोचनीय विषय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्