इंग्ल्यान्ड पहिलो पटक फाइनलमा



SYDNEY, AUSTRALIA – AUGUST 16: England players celebrate after the team’s 3-1 victory and advance to the final following the FIFA Women’s World Cup Australia & New Zealand 2023 Semi Final match between Australia and England at Stadium Australia on August 16, 2023 in Sydney, Australia. (Photo by Cameron Spencer/Getty Images)

लन्डन, (एजेन्सी) । इंग्ल्यान्ड पहिलोपटक फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सह–आयोजक अष्ट्रेलियामाथि सहज जित दर्ता गर्दै इंग्ल्यान्ड पहिलोपल्ट फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो । घरेलु टोली अष्ट्रेलियालाई ३–१ ले पराजित गर्दै इंग्ल्यान्ड महिला विश्वकपको इतिहासमा पहिलोपटक फाइनलमा प्रवेश गरेको हो । यसअघि इंग्ल्यान्ड लगातार दुई संस्करण सन् २०१५ र सन् २०१९ मा सेमिफाइनलमा पुगेपनि टोली त्यसभन्दा अघि बढ्न सकेको थिएन । सन् २०१५ मा तेस्रो भएको इंग्ल्यान्ड २०१९ मा चौथो भएको थियो ।

स्टेडियम अष्ट्रेलिया सिड्नीमा बुधबार भएको सेमिफाइनलमा सह–आयोजक अष्ट्रेलियालाई पराजित गर्न इंग्ल्यान्डकी एला टुन, लौरेन हेम्प र एलेसिया रुसोले गोल गरिन् । अष्ट्रेलियाकी कप्तान सामन्था खेरले एक गोल फर्काइन् । खेलको सुरुवातदेखि नै घरेलु टोलीमाथि बल पोेसेसन राख्दै खेलमा पकड जमाएको इंग्ल्यान्डले गोलको लागि ३६औं मिनेट कुर्नुपरेको थियो । ३६औं मिनेटमा एला टुनले गोल गर्दै इंग्ल्यान्डलाई १–० को अग्रता दिलाइन् । रचेल डालीको थ्रो बलमा एलेसिया रुसोले फ्लिक गरेको बललाई एला टुनले पेनाल्टी बक्सभित्रबाट गरेको उत्कृष्ट प्रहारले टप राइट कर्नरमा गोल हुन पुगेको थियो ।

दोस्रो हाफमा भने अष्ट्रेलियाले खेलमा पकड कायम राखेपनि अर्काेतर्फ इंग्ल्यान्डले दुई आक्रमण बुनेपनि गोल गर्न सकेन । अर्कोतिर ६३औं मिनेटमा कप्तान सामन्था खेरले दर्शनीय गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएकी थिईन् । कटरिना गोरीले बल खोस्दै दिएको पासलाई खेरले मैदानको मध्यभागबाट एक्लै बल अघि बढाउँदै एकल प्रयासमा दुइृ डिफेन्डरलाई बिट गर्दै २५ यार्ड टाढाबाट गरेको सशक्त प्रहारले जाली चुम्दा मारी अर्पसले बचाउने प्रयास गरेपनि भेट्न सकेनन् । उनले मारी फोलेरलाई पास दिनुपर्ने अवस्था रहेपनि आँफैले प्रहार गरिन् ।

खेलको ६६औं मिनेटमा सामन्था खेरले अर्काे अवसर पाएपनि सदुपयोग गर्न नसक्दा अष्ट्रेलिया अग्रता लिनबाट चुक्यो । ६९औं मिनेटमा लुसी ब्रन्जको क्रसलाई अर्नाेल्डले पञ्च गर्दै बचाउँदा इंग्ल्यान्डले अग्रता लिन सकेन । त्यसको एक मिनेटपछि नै लौरेन हेम्पले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाइन् । एली कार्पेन्टरले डि बक्समा गम्भीर गल्ती गरेपछि लौरेनले त्यसको फाइदा उठाउँदै गोल गर्न सफल भइन् । कप्तान ब्राइटको लामो प्रहारलाई डि बक्समा कार्पेन्टरले दुई पटक क्लियर गर्ने प्रयास गरेपनि उनले गल्ती गर्न पुग्दा त्यसमा गोल गर्दै लौरेनले घरेलु समर्थकलाई निराश पारिदिइन् ।

त्यसैगरी ८६औं मिनेटमा एलेसिया रुसोले गोल गर्दै इंग्ल्यान्डलाई जिततर्फ डो¥याइन् । लौरेन हेम्पको चलाखीपूर्ण पासलाई रुसोले अफसाइड बिट ट्याप गर्दै दोस्रो बारतर्फ गरेको प्रहारले जाली चुम्दा अष्ट्रेलियाको खेलमा फर्कने सम्भावना टाढियो । त्यसपछि थप गोल निस्कन नसक्दा इंग्ल्यान्ड विजयी हुन सफल भयो । अब इंग्ल्यान्डले उपाधिका लागि २० अगस्टमा स्पेनसँग खेल्नेछ । स्पेनले मंगलबार स्वीडेनलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । सह–आयोजक अष्ट्रेलियाले भने अब १९ अगस्टमा तेस्रो स्थानको लागि स्वीडेनसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्