सिंहदरबार र बालुवाटार माफियाको घेरामा रहेको प्रधानमन्त्रीद्वारा स्वीकार



-प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूका अनुसार अहिले पनि बिचौलिया र माफियाहरू विभिन्न रंगरूप र भेषमा सिंहदरबारमा यत्रतत्र भेटिने गरेका छन् । यसै गरी बालुवाटारसँग पनि बिचौलिया र माफियाको राम्रै उठबस हुने गरेको सरकारकै अधिकारीहरूको दाबी छ । 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटार र सिंहदरबार बिचौलिया र माफियाको घेरामा रहेको स्वीकार गर्नुभएको छ । उहाँले बिचौलिया र माफियाकै प्रभावका कारण कहिलेकाहीं सरकारबाटै हुने निर्णय परिवर्तन हुन खोज्ने र आफूले धेरैपछि मात्रै थाहा पाउने गरेको बताउनुभयो ।

मंगलबार बालुवाटारमा विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग छलफल गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले बालुुवाटार र सिंहदरबार बिचौलिया र माफियाको घेराबन्दीमा रहेको तर आफू त्यसमा सतर्क रहेको दाबी गर्नुभयो । यद्यपि, प्रधानमन्त्री, मन्त्री, सचिव, सहसचिव, महानिर्देशकहरूलाई बिचौलिया र माफियाले नै निर्देशित गर्ने गरेको आरोप लाग्दै आइरहेको छ । बिचौलिया र माफियाकै योजनाअनुसार कैयौं नीतिगत अनियमितता हुने गरेको विश्लेषकहरूको दाबी छ ।

बालुवाटार र सिंहदरबारमा रहँदा तपाईंलाई बिचौलिया र माफियाको प्रभाव कतिको परेको छ भन्ने सम्पादकहरूको जिज्ञासमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘म यसमा पूर्ण सतर्क छु । कहिलेकाँही मलाई पनि झुक्याउन खोजिन्छ, मन्त्रिपरिषद्बाटै हुने निर्णयलाईसमेत हेरफेर गर्न खोजिन्छ । त्यसैले, बिचौलिया र माफिया सक्रिय छैनन् भन्न सकिँदैन तर उनीहरूको प्रभावमा परिँदैन ।’ यद्यपि, पछिल्लोपटक लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्यारक्याल लामा नियुक्ति भएपछि प्रधानमन्त्री प्रचण्डमाथि बिचौलियाको प्रभाव परेको आरोप लागेको छ । उहाँले पनि ल्यारक्यालको नियुक्ति विवादमा परेको स्वीकार गरे तापनि ल्यारक्याल पार्टीको केन्द्रीय सदस्य भएकाले नियुक्ति गरिएको र त्यसमा कसैको कुनै प्रभाव नपरेको दाबी गर्नुभयो ।

ललिता निवास प्रकरणमा माफिया र बिचौलियाकै योजनाअनुसार सरकारी जग्गा व्यक्तिको नाममा बनाइएको थियो । सो समयमा माफिया र बिचौलियाहरूले तत्कालीन प्रधानमन्त्री, मन्त्री, मुख्य सचिवलगायतका सरकारी अधिकारीहरूलाई प्रभावमा पारेको ललिता निवास जग्गाको छानबिन गर्न गठित शारदाप्रसाद त्रिताल आयोगको ठहर छ । आयोगले भू–माफियाको योजनाअनुसार सरकारी निकायको मिलेमतोमा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गएको स्पष्ट पारेको थियो ।

पछिल्लोपटक सार्वजनिक भएको नौ किलो सुन तस्करी प्रकरणमा पनि माफिया र बिचौलियाले सत्तारुढ दलका नेताहरूलाई प्रभावमा पारेको देखिएको छ । बिचौलिया र माफियाले सत्तारुढ दल माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उहाँका छोरा राहुल महरालाई प्रभावमा पारेर तस्करी गरेको सीआईबीकै प्रतिवेदनले खुलासा गरिसकेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने बिचौलिया र माफियाको डिजाइनमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण तथा पूर्व गृहसचिव टेकनारायण पाण्डेलगायतका सरकारी अधिकारीहरू परेको र उनीहरूविरुद्ध मुद्दा दायर भइसकेको छ ।

स्रोतका अनुसार अहिले पनि विभिन्न खाले नीतिगत अनियमितता गराउन तथा ठुला ठुला ठेक्का पट्टा हत्याउन माफिया र बिचौलियाहरूले बालुवाटार र सिंहदरबारमा सक्रियता बढाइरहेको बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार केही समयअघि मात्रै बिचौलिया तथा माफियाकै योजनाअनुसार सार्वजनिक खरिद नियमावली संशोधन गरी केही ठेकेदार कम्पनीलाई सहज बनाइएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूका अनुसार अहिले पनि बिचौलिया र माफियाहरू विभिन्न रंगरूप र भेषमा सिंहदरबारमा यत्रतत्र भेटिने गरेका छन् ।

यसै गरी बालुवाटारसँग पनि बिचौलिया र माफियाको राम्रै उठबस हुने गरेको सरकारकै अधिकारीहरूको दाबी छ । प्रहरी तथा निजामतीतर्फ उच्च पदस्थहरूको सरुवामा समेत बिचौलियाहरू नै हाबी हुने गरेको स्रोतको दाबी छ । विकासे मन्त्रालयमा महानिर्देशक तथा आयोजना प्रमुखको सरुवामा बिचौलियामार्फत् नै ब्रिफकेस धन्दा सञ्चालन हुने गरेको सरकारकै केही अधिकारीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्